विवाहको एउटा रोमाञ्चकारी प्रथा, जहाँ बेहुलाको खरिद-बिक्री हुन्छ

सीमावर्ती विहार राज्यको मिथिलाञ्चलमा खासगरी ब्राह्मण समाजमा विवाहको एउटा अद्‌भूत एवम् रोमाञ्चकारी प्रथा हेर्न पाइन्छ जहाँ बेहुलाको प्रदर्शनी गरिन्छ ।

मिथिलाञ्चलअन्तर्गत भारतको मधुवनी जिल्लाको सौराठ गाउँमा प्रतिवर्ष बेहुलाको भव्य मेला लाग्दछ जहाँ दलालको माध्यमबाट सार्वजनिक रुपमा बेहुलाको खरिद-बिक्री हुने गर्दछ । 

यहाँ बेहुला पक्षले आफ्नो छोरालाई परम्परागतरुपमा रातो धोती र पाग लगाएर बेहुलालाई सजाउने गरिन्छ र बेहुली पक्षका आफन्त आर्थिक अवस्थाअनुसार बेहुला किन्ने परम्परा कायम अहिले पनि रहेको छ ।

प्राचीन मिथिला संस्कृति, सामाजिक तथा पारिवारिक व्यवस्थामा विवाहलाई स्त्रीपुरुषको साश्वत एवम् पवित्र सम्बन्धको रुपमा मानिँदै आएको छ । 

तसर्थ युवा युवतीलाई दाम्पत्य सुत्रमा बाँध्न अनेक धार्मिक एवम् सामाजिक परम्परा रीतिरिवाज सम्पन्न गर्नुपर्दछ । युवायुवती विवाह बन्धनमा बाँधिनुपूर्व सम्बन्धित परिवारको एक अर्काको पारिवारिक पृष्ठभूमि तथा सामाजिक प्रतिष्ठाको विषयमा गहन अध्ययन गर्ने गरिन्छ ।

इतिहासकार सौराठ सभाको सुरुवात १४ औँ शताब्दीमा कर्नाटक वंशिय राजा हरिसिंह देवले सुरुवात गर्नुभएको बताउँछन् । राजा हरिसिंह देवको दरबारमा समय समयमा विद्वान्बीच शास्त्राचर्य प्रतियोगिता हुनेगर्थ्यो जसमा विजयी विद्वान्लाई पुरस्कृत गर्ने परम्परा रहेको थियो ।

सन् १३२६ मा राजा हरिसिंह देवले अविवाहित मैथिली ब्राह्मण युवकबीच शास्त्राचर्य प्रतियोगिता गराएका थिए । लामो समयसम्म सो प्रतियोगिता चलिरह्यो र त्यसमा वेद, वेदान्त, योग र न्याय आदि विषयमाथि गहन चर्चा भएको थियो । 

राजा हरिसिंह देवले ब्राह्मण युवकको विद्वता देखेर प्रभावित भए र उनले अनौठो तरिकाले ती युवकलाई पुरस्कृत गरे । 

यद्यपि शास्त्राचर्यमा भाग लिने युवक अविवाहित भएकाले पुरस्कार स्वरुप उनीहरुलाई एउटा एउटा गरी सुन्दर बेहुली विवाह गर्न दिए ।

भनिन्छ त्यसपछि यसको आयोजना प्रत्येक वर्ष हुन थाल्यो । पहिले मैथिल ब्राह्मण युवकको सभा हुने गर्थ्यो । जसमा उनीहरुबीच शास्त्राचर्य हुन्थ्यो र बेहुली पक्ष आफ्नो छोरीका लागि योग्य बेहुलाको खोजीमा त्यहाँ भेला हुन्थे । तर समयको परिवर्तनसँगै शास्त्राचर्यको पुरानो परम्परा समाप्त भएको छ र सौराठ सभा मैथिल बेहुलीको लागि बेहुला खोज्ने एउटा प्रमुख केन्द्रको रुपमा विकसित हुँदै गयो ।

सौराठ सभा सीमावर्ती भारतको विहार राज्यअन्तर्गत बासोपट्टी, कलुवाही चोकदेखि कुनखौरीबाट एक किलोमिटर पूर्व तथा मधुवनी बजारबाट पाँच किलोमिटर पश्चिम उत्तरमा अवस्थित यस गाउँमा एउटा ऐतिहासिक पोखरी किनारमा रहेको पिपलको प्राचीन रुखमुनि प्रतिवर्ष सौराठ सभाको जेठदेखि मेला लाग्ने गर्दछ । रासस

,

प्रतिकृया दिनुहोस्

Loading...