भारतमै तय भयो तीन मन्त्रीको नाम, अरुको नेपालमै गरिने !

केपी ओली नेतृत्वको सरकारलाई हटाएर नयाँ सरकार बनाउन लागेका मध्ये तीनजनाको नाम मन्त्रीका रुपमा प्याकेजमै सहमति भएको थाहा भएको छ । 
स्रोतका अनुसार, पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमतिसँगै ती तीनजनालाई मन्त्री बनाउने सहमति पनि भएको छ ।
स्रोतका अनुसार, पुष्पकमल दाहाल प्रधानमन्त्री निर्वाचित हुनासाथ पहिलो चरणमा माओवादीबाट एक र नेपाली कांग्रेसबाट दुई जनाले शपथ लिनेछन् ।
यसपटक कांग्रेसबाट विमलेन्द्र निधिले नेतृत्व गर्नेछन् । कांग्रेसभित्र खुल्लै रुपमा भारतीय पक्षपोषण गर्ने निधिले गृहमन्त्रालय पाउनेछन् । भारतमै ससुराली भएका निधिलाई कांग्रेसको नेतृत्वमा स्थापित गर्ने योजना भारतको रहेको कांग्रेसवृत्तमा यसअघिदेखि नै चर्चा चल्दै आएको छ ।
भौतिक योजनामन्त्री हुँदा भारतको स्वार्थ अनुसार द्रूत मार्ग उसैलाई दिन निधिले अन्तिम घडीसम्म निकै कोसिस गरेका थिए । स्रोतले भन्यो, ‘यसपटक निधिलाई पार्टी उपसभापति बनाउने योजना थियो । 
बीचैमा सरकारको कुरा आएकाले उनलाई गृह मन्त्रालयमा पठाएर बढी लाभ लिन सकिन्छ भन्ने दक्षिणको योजना छ ।’ त्यही स्रोतले कथम्कदाचित निधिलाई उपसभापति बनाइएमा बैकल्पिक रुपमा अर्जुननरसिंह केसीलाई गृहमन्त्री बनाउने सुझाव पनि उताबाट प्राप्त भएको छ ।
माओवादीका तर्फबाट एमालेसँगको समीकरण भत्काएर कांग्रेससँगको समीकरण बनाउनका लागि निर्णायक भूमिका निर्वाह गरेका कृष्णबहादुर महरालाई अर्थमन्त्री बनाउने सहमति पनि सोही प्याकेजमा भएको छ । 
०६७ सालमा पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउन चिनियाँ पक्षसँग ५० करोड रकम माग गरेको अडियो टेप भारतीय पक्षबाट सार्वजनिक भएपछि भारतसँग तर्सिएका महरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आफूविरुद्ध मुद्दा परेर सबै सम्पत्ति रोक्का भएपछि गत बैशाखमा त्यसलाई सल्टाउन दिल्ली पुगेका थिए । 
त्यतिबेलै कांग्रेस सभापति शेरबहादुर देउवासँग मिलेर उनले ओलीलाई हटाउने योजना बनाएका थिए । उनलाई सोही वापत अख्तियारको मुद्दाबाट उन्मुक्ति दिनुका साथै उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय दिने सहमति भएको छ ।
भारतले रुचि राख्ने गरेको अर्को महत्वपूर्ण मन्त्रालय– परराष्ट्रमा पनि आफू निकट व्यक्तिलाई ल्याउने तय भइसकेको स्रोतले बतायो । 
कांग्रेसभित्र सत्तासमीकरणका विपक्षमा रहेका रामचन्द्र पौडेललाई पनि अप्ठेरोमा पार्ने गरी उनी निकट रहेका डा. शेखर कोइरालालाई परराष्ट्रमन्त्री बनाएपछि दोहोरो फाइदा हुने विश्लेषण दक्षिणको छ । 
कोइराला परिवारको उत्तराधिकारीका रुपमा महामन्त्री शशांक कोइरालालाई अघि सारिए पनि विश्लेषण र सम्पर्कमा शेखर अगाडि छन् । 
लामो समयदेखि दक्षिण निकट रहेका उनी कृष्णप्रसाद सिटौलासँगै शान्ति प्रक्रिया अघि बढाउन सुरुका दिनदेखि संलग्न छन् । त्यही बेलादेखि नै उनको भारतीय पक्षसँग विशेष सम्बन्ध विकास भएको बताइन्छ ।
स्रोतले भन्यो, ‘तीनवटा महत्वपूर्ण मन्त्रालयमा मन्त्री तय भएका छन् । बाँकीको हकमा के गर्ने हो, यहीँका नेता बसेर तय हुनेछ ।’

, , ,

प्रतिकृया दिनुहोस्

Loading...