उपल्लो डोल्पाका तीन गाविस सञ्चारविहीन

डोल्पा, १९ साउन । 

डोल्पाको उत्तरी क्षेत्र भौगोलिक रुपमा अत्यन्तै विकट भएकाले यहाँका मानिसको जीवनशैली ज्यादै कष्टकर छ ।

विकटताकै कारण खाद्यान्न, शिक्षा, स्वास्थ्यजस्ता आधारभूत तत्वबाट त वञ्चित छँदैछन् यहाँका सर्वसाधारण सञ्चारको पहुँचबाट समेत वर्षौदेखि वञ्चित हुनुपरेको छ । 

उत्तरी भेगका तीन गाविस सञ्चारविहीन भएको र सञ्चारको पहुँच भएका गाविसमा पनि सञ्चार सेवा अनिश्चित भएको तिन्जेका स्थानीय धावा गुरुङले बताए।

सञ्चार सेवाको व्यवस्था नभएकाले खबर आदानप्रदान हुन नसक्दा निर्जन स्थानजस्तै लाग्ने गरेको साल्दाङका स्थानीयवासी पेमा वाङ्जेनले बताए । 

टेलिफोन गर्नकै लागि चार पाँच दिन लगाएर सदरमुकाम आउनुपर्ने वा दुई दिनसम्म लगार छिमेकी गाविस धो, मुकोट, फोक्सुन्डोलगायतका गाविसमा जानुपर्ने बाध्यता रहेको उनले बताए ।

माथिल्लो डोल्पाका छवटा गाविसमध्ये धो, मुकोट, फोक्सुन्डोमा भने मर्मतपछि भि–स्याट फोनको सुविधा भए पनि छार्का, साल्दाङ, तिन्जेलगायतका चार गाविसमा सञ्चार सुविधा नभएको दुरसञ्चार कार्यालय डोल्पा शाखाले जनाएको छ ।

डोल्पाका सबै गाविसमा विसं २०६३ मा भि–स्याट फोन जडान गरिएपनि अधिकांश ठाउँमा बिग्रेका फोन मर्मत नभएकाले सञ्चारविहीन भएको कार्यालयले बताएको हो । 

केही ठाउँमा मर्मत गरेर सेवा सञ्चालन गरिएको र उपल्लो डोल्पाका बाँकी गाविसमा पनि मर्मत गरिने कार्यालयले जानकारी दिए ।

उपल्लो डोल्पामा भि–स्याटबाहेकका मोबाइल टावरको व्यवस्था नभएको कार्यालयले जनाएको छ । मर्मतका लागि पटक÷पटक आग्रह गरेपनि यसवर्ष टोली नआएको दुरसञ्चार कार्यालय डोल्पाका नायब सुब्बा नवराज भट्टराईले बताए ।

मोबाइल टावर भए पनि प्राविधिक कारणले तल्लो डोल्पाका ल्हाँ, रीमि, काईगाउँ, कालिकालगायतका गाविसमा सञ्चारको पहुँच अनिश्चित भएको छ । 

हप्तामा एक पटक मात्र टावर दिने भएकाले खबर आदान प्रदान गर्न चिठी वा मान्छे पठाउनुको विकल्प नरहेको स्थानीयवासी कृष्णचन्द्र पाण्डेले बताए ।

डोल्पाका आठवटा मोबाइल टावर राखेर तल्लो डोल्पा र माथिल्लो डोल्पाका केही गाविसमा फोन सेवा उपलब्ध गराएको कार्यालयले जनाएको छ ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...