५ देखि ७ जना मन्त्रीसहित प्रचण्डले शपथ लिदै

काठमाडौँ २० साउन । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले कांग्रेस र माओवादीबाट ५ देखि ७ जना मन्त्रीसहित पद तथा गोपनियताको शपथ लिने तयारी गरेका छन्।

संसदमा पहिलो ठूलो दल नेपाली कांग्रेस, मधेसी मोर्चा, राप्रपा लगायतका साना दलको समर्थनमा बुधबार प्रधानमन्त्री पदमा निर्वाचित भएका दाहालले आफूसँगै पहिलो चरणमा प्रमुख दुई दलका तर्फबाट सानो संख्यामा मन्त्रीहरु नियुक्त गरी बिहीबारबाट नै शासन संचालनको जिम्मा लिन लागेका हुन्।

त्यसका लागि अहिलेसम्म कांग्रेसबाट तीनदेखि चार जना मात्रै र माओवादीबाट दुईदेखि तीन जनालाई सरकारमा सहभागी गराउने तयारी भइरहेको नेताहरुले बताएका छन्।

प्रधानमन्त्रीको निर्वाचन पूर्व संविधानप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा रहेको मधेसी मोर्चा लगायतका साना दललाई सहमतिमा ल्याउन समय खर्चनु परेका कारण कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष दाहालले मन्त्रालयको बाँडफाँट तथा मन्त्रीहरुको चयनमा ध्यान दिन नपाएको दुई दलका नेताहरुको दाबी छ।

स्रोतका अनुसार, बिहीबार बिहान ७ बजेपछि नै देउवा र दाहाल बसेर शपथ लिने दुई दलका सदस्यहरुको नाम तथा मन्त्रालयको जिम्मेवारी बाँडफाँटको टुंगो लगाउने तयारी छ। 

 अहिलेसम्म कांग्रेस र माओवादीबीच गृह कांग्रेस र अर्थ माओवादी भागमा परेको छ। कांग्रेसको पक्षमा गृहसहित रक्षा, परराष्ट्र, भौतिक योजना, पर्यटन मन्त्रालय पर्ने निश्चित भएपनि उसले यी बाहेक स्थानीय विकास, शिक्षा, कानुन र सामान्य प्रशासन मन्त्रालयमा पनि दाबी गरिरहेको छ।

माओवादीले अर्थसहित सञ्चार, ऊर्जा, शान्ति तथा पुनःनिर्माण, कृषि मन्त्रालय पाउने पक्कापक्की भएपनि उसले पनि स्थानीय विकास, सामान्य, कानुन र शिक्षामा पनि आफ्नो दाबी गरिरहेको छ।

यी सबै मन्त्रालयको भागबण्डाबारे कांग्रेसका विमलेन्द्र निधि र माओवादीका कृष्णबहादुर महराको गृहकार्यका आधारमा देउवा र दाहालले टुंगो लगाउने छन्। 

त्यस बाहेक मधेसी मोर्चा र अरु साना दलका तर्फबाट पनि सरकारमा सहभागी गराउन दुई दलले केही मन्त्रालय खाली राख्ने तयारी गरिरहेका छन्। 

कांग्रेसको नेतृत्व गर्दै विमलेन्द्र निधिलाई सरकारमा पठाउने सभापति देउवाको तयारी छ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...