कर्मचारीलाई पच्चीस करोड भुक्तानी

बुटवल, १९ साउन । 

कर्मचारी सञ्चयकोष शाखा कार्यालय बुटवलले गत आवमा सेवाबाट अवकास प्राप्त एक हजार ८४४ सञ्चयकर्ता कर्मचारीलाई रु २५ करोड १२ लाख ४४ हजार भुक्तानी गरेको छ ।

सो अवधिमा कोषले ७२ मृतक सञ्चयकर्ताका हकवालालाई रु २० लाख काजकिरिया खर्च र दुर्घटनामा मृत्यु हुने आठ हकवालालाई रु आठ लाख २५ हजार, सञ्चयकर्ता सुत्केरी तथा शिशु हेरचाह कार्यक्रमअन्तर्गत ८३० सञ्चयकर्ता कर्मचारीलाई रु ६२ लाख २५ हजार र स्वास्थ्य उपचार कार्यक्रमअन्तर्गत रु १५ हजार रकम अनुदान भुक्तानी गरेको कोषका शाखा प्रमुख टोपाराम पण्डितले जानकारी दिए ।

यस्तै आफ्नो सेवा अवधिमा सेवाकालीन आवश्यकता पूरा गर्न ऋण सापटीअन्तर्गत एक हजार ५२८ सञ्चयकर्ता कर्मचारीले कोषबाट रु एक अर्ब १५ करोड ७५ लाख ४२ हजार, घर सापटी कर्जाअन्तर्गत ९८ जनाले रु ९ करोड ७६ लाख ६८ हजार र शैक्षिक कर्जाअन्तर्गत ६ जनाले रु ९९ लाख ८७ हजार प्राप्त गरेका छन् । 

कार्यालयले लुम्बिनी अञ्चलका ६ जिल्लासहित राप्तीका प्यूठान र रोल्पा तथा गण्डकीका स्याङजाका सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...