बेपत्ता आमा मृत फेला,तीन सन्तानको अवस्था अज्ञात
बैतडी, २० साउन । तीन छोराछोरीसहित बेपत्ता श्रीमती मृत अवस्थामा फेला परेपछि श्रीमान्लाई प्रहरीले पक्राउ गरेको छ ।
पाँच दिनदेखि बेपत्ता रहेकी महिला मृत अवस्थामा भेटिएकी हुन् भने सँगै रहेका तीन छोराछोरीको अवस्था भने अझै अज्ञात छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दका अनुसार मृत भेटिनेमा बझाङ दहबगर–२ की २८ वर्षीया गोमादेवी बोहरा रहेकी छन् । मृतक महिलाका ११ वर्षीय प्रकाश बोहरा, सात वर्षीया कमला बोहरा र पाँच वर्षीय अमर बोहराको अवस्था भने अज्ञात रहेको छ ।
गएको शनिबारदेखि बेपत्ता गोमादेवी स्थानीय सङ्घार खोलामा बुधबार मृत अवस्थामा फेला परेकी हुन् ।
गोमादेवी श्रीमान्सँग झगडा गरी शनिबार राति घरबाट छोराछोरीसहित निस्किएकी प्रहरी नायब उपरीक्षक चन्दले राससलाई जानकारी दिनुभयो । “मृतकका श्रीमान् जयमल बोहरालाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको छ,” प्रहरी नायब उपरीक्षक चन्दले भन्नुभयो – “मृतक महिलाको शव हेर्दा आत्महत्या गरेको जस्तो देखिन्छ ।”
मृतकको शवलाई परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ र परीक्षणपछि थप कुरा थाहा हुनेछ ।
बेपत्ता तीन छोराछोरीको स्थानीय सङ्घार खोलामा खोजी कार्य भइरहेको प्रहरीले बताएको छ । रासस
प्रतिकृया दिनुहोस्
Loading...