बाढीपहिरोबाट विद्यालय र खानेपानी योजनामा क्षति

पर्वत, १९ साउन । 


लगातारको वर्षासँगै आएको बाढीपहिरोका कारण पर्वत जिल्लाका विभिन्न गाविसमा रहेका १४ वटा विद्यालयमा क्षति पुगेको छ ।

बाढी र पहिरोका कारण सातवटा विद्यालय भवन भत्किएका छन् भने हावाहुरीका कारण सातवटा विद्यालयको भौतिक संरचनामा क्षति पुगेको जिल्ला दैवी प्रकोप उद्धार समिति पर्वतले जनाएको छ ।

बाढीपहिरोका कारण जिल्लाको महेन्द्रोदय प्रावि कुर्घा, जनजागरण प्रावि फलामखानी, समाजकल्याण प्रावि माझफाँट, श्रमिक प्रावि मालढुङ्गा, शिवालय उच्च मावि अगुवा स्रोत केन्द्र कुश्मा र जिल्ला शिक्षा कार्यालय कुश्मा तथा कृष्णधर्म उच्च मावि धाइरिङको भौतिक संरचनामा क्षति पुगेको छ ।

बर्खे बिदा भएर पढाइ सुचारु हुने बेलामा बाढीका कारण कक्षाकोठा भत्किने र बगाएका कारण नियमित पठनपाठनमा असर पुगेको जिल्ला शिक्षा कार्यालय पर्वतमा जिल्ला शिक्षा अधिकारी रमेशराज पौडेलले जानकारी दिए ।

त्यसैगरी हावाहुरीका कारण लाङ्दी प्रावि देउराली, पञ्चकोसी उच्च मावि आर्थर, सरस्वती प्रावि आर्थर, जनजागृत प्रावि खौलालाकुरी, जननेत्र उच्च मावि देउपुर, सरस्वती प्रावि रानीपानी र नवजागृत बहुमुखी क्याम्पस तिलाहारमा क्षति पुगेको थियो ।

हावाहुरीले विद्यालयका छाना उडाउने, गाह्रो भत्किने भए पनि अहिलेसम्म पुनःनिर्माण हुन नसकेको विद्यालयले गुनासो गरेका छन् । जननेत्र उच्च मावि देउपुरमा हावाहुरीले छाना उडाउँदा दुई विद्यार्थी समेत घाइते भएका थिए ।

जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार शिक्षा कार्यालय पर्वतले अविरल वर्षा एवम् हावाहुरीका कारण १४ विद्यालय भवनमा क्षति पुगेको जनाएको छ ।

भौतिकरुपमा क्षति पुगेका विद्यालय भवन मर्मत एवम् पुनःनिर्माणको कार्य गर्न सम्बन्धित विद्यालयमा प्राविधिक खटाई लागत तयार गरी मर्मत सम्भार एवम् पुनःनिर्माणको आवश्यक व्यवस्था मिलाउन जिल्ला शिक्षा कार्यालय पर्वतलाई निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले जानकारी दिए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...