माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड वि. सं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं. २ लेवाडेमा जन्मिएका हुन् । प्रचण्ड जेठा छोरा हुन् । पिता मुक्तिराम र माता भवानीको कोखबाट जन्मिएका उनले प्रारम्भिक शिक्षा कास्कीको ढिकुर पोखरीमा लिएका हुन् ।
प्रचण्डले २०२६ सालमा चितवनको नारायणी विद्यामन्दिर मा.वि. शिवनगरबाट एस.एल.सी. उत्तीर्ण गरेका हुन् । उनले २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आई.एस.सी. पूरागरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बि.एस्सी गर्नु भई एम.पी.ए.सम्मको अध्ययन गरेका छन् ।
कक्षा १० मा अध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरेका उनले वि.सं. २०३८ देखि २०६३ सम्म २५ वर्ष भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम राखेका थिए । हाल उनी पुष्पकमल भन्दा ‘प्रचण्ड’ भनेमा खुशी हुने बताउँछन् ।
राजनीतिक क्रियाशीलता
वि.सं. २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यता बाट आफ्नो राजनैतिक जीवन सुरु गरेका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गरेका थिए ।
प्रचण्ड २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि उनी वि. सं. २०३८ मा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महासचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित भएका थिए ।
विसं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका प्रचण्ड २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री बने ।
वि.सं. २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछि बसेको तेस्रो विस्तारित बैठकबाट पार्टीको नाम परिवर्तन गरेर नेकपा (माओवादी) राखेर प्रचण्ड महामन्त्री बन ।
त्यसपछि २०५२ साल फागुन १ देखि उनकै नेतृत्वको माओवादीले जनयुद्ध गर्यो । जनयुद्धकै क्रममा २०५७ सालमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट प्रचण्ड नेकपा माओवादीको अध्यक्ष बने । वि.सं. २०५८मा निर्माण भएको जनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर बनेका थिए ।
प्रचण्ड २०६३ साल असार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी २५ वर्षे भूमिगत जीवनबाट सार्वजनिक भएका हुन् । प्रचण्ड २०६५ साल साउन ३१ गते गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निवाचित भए । २०६९ सालमा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बनेका प्रचण्ड २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट पुन ः अध्यक्ष बनेका थिए ।
२०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित भएका प्रचण्डका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), सांस्कृति, कला र सौन्र्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित छन् ।
उनी २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वाचित भएका थिए । प्रचण्ड २०७० मंसीरमा सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा सिराहा ५ बाट संविधानसभा सदस्य भएका थिए ।
दोश्रो संविधानसभा तेश्रो ठूलो दलका रुपमा माओवादीको उपस्थिति रहेपछि प्रचण्ड विपक्षी दलको नेता बने ।
संविधान निर्माणका कतिपय मुद्दामा सत्तारुढ नेपाली कांग्रेस र एमालेसँग गम्भीर असहमति भएपछि ३० दलीय मोर्चाको नेतृत्व गरे प्रचण्डले ।
यसैक्रममा संविधानमा सहमति जुटाउने उद्देश्यले प्रचण्डले ३० दलीय मोर्चाले घोषणा गरेको आन्दोलनलाई छोडेर १६ बुँदे सहमति गराउन सफल भए । तत्कालिन प्रधानमन्त्री सुशिल कोइरालासँगको सहकार्यमा प्रचण्डले संविधानका अन्तर्वस्तुमा सबै दलहरुलाई सहमतिमा ल्याएर १६ बुँदे सहमति गराएका थिए ।
१६ बुँदे सहमति नै संविधान निर्माणका लागि कोशे ढुंगा बन्यो ।
यही १६ बुँदेको जगमा संविधान निर्माण भएपछि सहमतीय सरकारको पहलमा लागेका प्रचण्ड नेपाली कांग्रेस सरकारमा आउन नमानेपछि एमालेसँग सरकार गठन गर्न पुगेका थिए ।
ओली नेतृत्वको सरकारको बेला उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजकको जिम्मेवारी गरेका प्रचण्डले एमालेले संविधान कार्यान्वयन र संक्रमणकालको अन्त्यमा गम्भीरता नदेखाएको भन्दै समर्थन फिर्ता लिने निर्णय गरे । यो सँगै नेपाली कांग्रेसको समर्थनमा उनी दोश्रोपटक प्रधानमन्त्री बने ।
एभरेस्ट दैनिकबाट साभार