डोजर लगाएर भत्काइयो रेडियो धादिङको स्टेसन, डिएफओ भन्छन् मैले बहादुरी देखाइदिय

काठमाडौँ ७ असोज।

जिल्ला वन कार्यालयले धादिङले शुक्रबार बिहान ४ बजेर २० मिनेटमा दुई वटा डोजर लगाएर सामुदायिक रेडियो धादिङ १०६ मेघाहर्जको स्टेसन भत्काएको छ ।

स्टेसन भवन, उपकरणसँगै रेडियोमा बसेका चार कर्मचारीले आफ्नो लत्ताकपडा, मोबाइल, ल्यापटप पनि निकाल्न पाएनन् भने डिएफओ इमनाथ पौडेलबाटै उनीहरुमाथि अपशब्द, दुर्व्यवहार भयो ।

झन्डै एककरोड रुपैयाँ क्षतिसँगै एउटा स्वतन्त्र सञ्चारसंस्थाको अस्तित्व मटियामेट गराउने काममा धादिङको वन कार्यालय लागेपछि यतिखेर धादिङमा यसलाई राजनीतिक इगोको बदला लिइएको भनेर परिभाषित पनि गरिएको छ ।


जिल्ला वन अधिकृत इमनाथ पौडेलको नेतृत्वमा गएको टोलीले नीलकण्ठ नगरपालिका वडा नम्बर ८ सांघुटार नजिकैको रेडियो धादिङको स्टेशन भवनमा डोजर लगाएको हो ।

एक महिना अघि भवन भत्काउन खोज्दा स्थानीयले प्रतिकार गरेपछि पछि हटेको सरकारी टोली मध्यरातमा सुरक्षाफौज सहित भवन नियन्त्रणमा लिएर भत्काउन सफल भएको हो ।

भवनसँगै रेडियो धादिङको प्रसारण सामग्री र अन्य उपकरणसमेत पूर्णरुपमा नष्ट गरिएको छ । हरेक दिन बिहान ५ बजेदेखि राति ११ बजे सम्म प्रसारण हुँदै आएको रेडियो बिहीबार राति नियमित प्रसारणपछि बन्द गरेर पत्रकार र कर्मचारी घर जाने तरखरमा लागेपछि सशस्त्र प्रहरीसहितको टोलीले स्टेशन नियन्त्रणमा लिएर डिएफओ पौडेलले त्यहाँ रहेका पत्रकार शंकर श्रेष्ठ, रेख गुरुङलाई हातपात गर्दै जबर्जस्ती बाहिर निकालिएको थियो।

त्यस्तै घटनाको जानकारी पाएपछि रेडियो स्टेशन पुगेका पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली, धादिङ आवाज दैनिकका सम्पादक दामोदर अर्याल, राससका पत्रकार सीताराम अधिकारीलाई समेत भवन भित्र पस्न नदिई दुर्व्यवहार र हातपात गरिएको थियो ।

डिएफओ पौडेलको नेतृत्वमा गएको टोलीले रेडियो धादिङ सँगै रहेको आपतकालीन अवस्थामा रहेका महिलाको सुरक्षाका लागि बनाइएको महिला सुरक्षा घर पनि भत्काएको छ ।

मैले मोबाइल पनि निकाल्न पाइन न्युज कोर्डिनेटर शंकर श्रेष्ठ

तीनबजेतिर नै निकै गाइँगुइँ चलिरहेको थियो । चार बजेतिर डिएफओ आफैँ आए । हामीलाई उठ् भनेर एक्कासि गेटमा लात्ताले हान्न थाले । गेटमा लात्ताले हानेपछि को आयो, किन आयो भनेर सोध्यौँ ।

बाहिर बत्ती बलेको थियो, हामीलाई थाहा थिएन, प्रहरी आएको । त्यसपछि मैले नै गेट खोलेँ । ‘खुरुक्क गेट खोलिहाल’ भन्दै अपशब्द प्रयोग गर्न थाले । म कपडा लगाउँछु, मोबाइल लिएर आउँछु, सरलाई फोन गर्छु भनेँ । एउटा मोबाइल चैँ खल्तीमै थियो । फोन गर्न खोज्दा खोसियो ।

भित्र पसेर फोन गर्न खोजेँ, तार चुँडाइयो । यति तनाव दिइयो कि क्रुर जंगली शासनको झल्को आइरहेको थियो । यो कुनै चोर, डाँका, हतियारधारीको समूहसँग प्रस्तुत भइरहेको जस्तो व्यवहार गरियो । उनीहरुले भत्काउन सुरु गरे ।

मैले एउटा मात्र फोटो खिचेको थिएँ, उनीहरुले तँ को होस् भन्दै फोटो खिच्न पनि दिएनन्, मेरै मन्दिर भत्काए अनि मलाइ नै भनेः तँ को होस् ? लोकतन्त्रमा यो भन्दा बढी स्वाभिमान र पहिचानमा प्रहार अरु के होला ? केही निकाल्न पाइनँ ।

मेरो मोबाइल, ल्यापटप पनि निकाल्न दिएनन्, एउटा रेकर्डर तानेको थिएँ, त्यो पनि खोजेर भत्काएकै ठाउँमा हालिदिए । घर भत्काए पनि उपकरण ध्वस्त नपार भनेको थिएँ । डिएफओले सोलारको प्यानलसमेत भत्काउन आदेश दिए ।

आफूले पुजा गरेको र सम्मान गरेको सामान किचिमिची पारियो । रुँदै रुँदै हेरियो, केही गर्न सकिनँ । यो महिनाभरिमा खाली गर्छौँ भनेर समय मागेकै थियौँ ।

राति आएर यसरी हमला हुनुमा कर्मचारीमा राजनीति हावी भएको हो । धादिङका सिडिओ र डिएफओ एउटै पार्टीका छन् । शक्तिमा भएका बेला पावर देखाएका होलान्, अहिले यति भन्छु ।

बहादुरीका साथ रेडियो भत्काइदिए धादिङ डिएफओ, इमनाथ पौडेल


म चैतमा धादिङमा आएको हुँ । कार्यालयमा परेका विभिन्न उजुरीका फाइल, स्थानीय क्षेत्र अतिक्रमणमा परेका स्थलको अनुगमन क्रममा रेडियो धादिङले पनि सामुदायिक वनको जग्गा अतिक्रमण गरेको भेटियो ।

त्यसपछि मैले सातदिन भित्र प्रमाण ल्याउन भनेँ । तर उनीहरुले अनुमति ल्याउन सकेनन् । साउनमा भएको यो घटनाक्रमपछि स्टेसन हटाउन भनियो । साउन १९ गतेदेखिका घटनाक्रम हुन् यी ।

मैले अन्त पनि वन क्षेत्र कब्जा गरेका होटलहरु हटाउन थालेँ । साउन २९ गते भनिएको थियो । हटाउने काम भएन । त्यसपछि त्यहाँ जाँदा ढुंगामुढा भयो, आक्रमण भएपछि ब्याक हुनुप¥यो ।

लगत्तै जिल्ला प्रशासन कार्यालयमा सर्वदलीय बैठक बस्यो । फेरि समय माग भयो तर कुनै निर्णय भएन । त्यसपछि प्रशासनले अतिक्रमित स्थलका संरचना हटाउने अभियान चलाउने भन्यो ।

रेडियो धादिङ सर्वोच्च गएको थाहा भयो । प्रशासन र डिएफओको तर्फबाट हटाउने भनिएकै हो । तर नहटेपछि आज डिएफओ नै गएर हटाएको छ । अदालतको अन्तरिम आदेश भएको छैन ।

प्रशस्त समय दिएँ । तर डिएफओलाई मान्ने काम भएन । मेरो तर्फबाट कसैमाथि अन्याय भएको छैन । मैले बहादुरीका साथ रेडियो भत्काएँ, मलाई कुनै असुरक्षा पनि छैन, दुई वर्ष धादिङ बसेर काम गर्छु । मैले यसलाई मेरो कार्यकालमा बहादुरी नै मानेको छु ।

सदावहारबाट

, , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...