सहरी पूर्वाधार निर्माणसम्बन्धी सम्झौता

धनगढी, १४ असोज ।

धनगढी उपमहानगरपालिका र एसियाली विकास बैंकबीच हालै धनगढी उपमहानगर क्षेत्रमा सहरी पूर्वाधार निर्माण गर्ने सम्झौता भएको छ ।

क्षेत्रीय सहरी विकास आयोजना नाम दिइएको यो पञ्चवर्षीय आयोजनाअन्तर्गत निर्माण हुने पूर्वाधारमा एसियाली विकास बैंकले आर्थिक सहयोग उपलब्ध गराउने भएको हो ।


सम्झौताअनुसार धनगढी उपमहानगर क्षेत्रमा ४२ किलोमिटर सडकको स्तरोन्नतिका साथै, ढल निर्माण, फोहर मैला व्यवस्थापन, सामुदायिक पूर्वाधार विकास, सडक पेटी निर्माण, सौर्य सडक बत्ती जडान, हरियाली निर्माणलगायतका काम गरिने कार्यकारी अधिकृत रामलाल श्रेष्ठले बताए ।


सम्झौतापत्रमा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत श्रेष्ठ र एसियाली विकास बैंक आयोजना समन्वय कार्यालयका निर्देशक राजमान मानन्धरले हस्ताक्षर गरेका थिए ।

बिना योजना सहरका रुपमा विकास हुँदै गएको धनगढी उपमहानगरपालिका क्षेत्रमा डुबान, मोहना नदीको कटान, ढल निकास, सडक निर्माण तथा सुधार, फोहरमैला व्यवस्थापन, अव्यवस्थित बसोबासजस्ता समस्या छ

धनगढी उपमहानगर क्षेत्रमा सडक, खानेपानीलगायतका पूर्वाधारहरु निर्माण हुन नसक्दा कतिपय वडाका बासिन्दा अझै पनि आधारभूत सेवा सुविधाबाट वञ्चित छन् ।

विसं २०३३मा स्थापना भएको धनगढी नगरपालिकालाई झन्डै एक वर्षअघि साविकको फूलबारी र उर्मा गाविसलाई समेटेर धनगढी उपमहानगरपालिका बनाइएको थियो ।

बाहुन, क्षेत्री, ठकुरी, दलित, राना थारु, डगौरा थारु, समुदायको बाहुल्यता रहेको यो उपमहानगरको जनसङ्ख्या हाल झन्डै एक लाख ३७ हजार छ ।

क्षेत्रीय सहरी विकास आयोजना सुदूरपश्चिमको धनगढीबाहेक अत्तरिया, झलारीपिपलाडी र महेन्द्रनगर (भीमदत्तनगर) नगरपालिकामा सञ्चालन गरिने बताइएको छ ।

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...