सुदूरपश्चिममा २ महिनादेखि सिटामोल अभाव

भीमदत्तनगर, ११ असोज।

सुदूरपश्चिममा विगत २ महिनादेखि सिटामोल अभाव छ । यहाँका ९ वटै जिल्लाका स्वास्थ्य संस्थामा सिटामोल लगायत निःशुल्क वितरण गर्नुपर्ने औषधि अभाव भएको हो ।

आपूर्ति ठेक्कामा ढिलाइ हुँदा औषधि अभाव भएकाले धनगढीस्थित क्षेत्रीय मेडिकल स्टोरले हरेक जिल्ला जनस्वास्थ्य कार्यालयलाई सिटामोल खरिद गर्न निर्देशन दिएको छ ।

३ लाखसम्मको सिटामोल खरिद गर्न जिल्लालाई जानकारी गराइसकेको सुदूरपश्चिम क्षेत्रीय स्टोरका प्रमुख लक्ष्मीकुमार श्रेष्ठले जानकारी दिए।

“२ महिनादेखि सिटामोल अभाव भए पनि चरम समस्या भने छैन ।” उनले भने – “आपूर्ति गर्ने कम्पनी कारबाहीमा परेकाले अभाव भएको हो ।”

“नेपाल औषधि लिमिडेटले सिटामोल उत्पादन सुरु गरिसकेको भनिएको छ ।” उउनले भने – “दसैँअगावै वितरण हुने कुरो सुनिएको छ ।”

जिल्लामा औषधि खरिदका लागि ठेक्का प्रक्रिया ढिलो गरी थालिएकाले पनि निःशुल्क रुपमा वितरण गरिने औषधि अभाव भएको हो । क्षेत्रीय स्टोर प्रमुख श्रेष्ठका अनुसार सुदूरपश्चिममा वार्षिक करिब दुई करोड चक्की सिटामोल खपत हुन्छ ।

स्वास्थ्य चौकीबाट ३८, प्राथमिक स्वास्थ्य केन्द्रबाट ५८ र जिल्ला अस्पतालबाट ७० प्रकारका औषधि निःशुल्क दिने व्यवस्था छ । सुदूरपश्चिममा कञ्चनपुर र बैतडीमा सिटामोलको बढी अभाव रहेको उनले बताए ।

त्यसका साथै जिल्लामा सामान्य ज्वरो, पेटदुखाइ र वर्षात्मा हुने पानीजन्य रोगका औषधि अभाव छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...