पहिरोका कारण सिद्धिचरण लोकमार्ग अवरुद्ध

उदयपुर, २७ भदौ ।

निरन्तर वर्षाको कारण सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुर जिल्लाको कटारीदेखि घुर्मी सडकखण्डको घुर्मी बजारको माथिल्लो भागको सडकखण्ड र लेखानी गाविस–२ स्थित बेतिनीमा आज बिहान गएको पहिरोको कारण सो सडकखण्ड अवरुद्ध बनेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार आइतबार दिउँसो घुर्मी बजारको माथिल्लो पाखाको सडकखण्डमा पहिरो गएपछि सो क्षेत्रमा सञ्चालन हुने सम्पूर्ण यातायात साधन अवरुद्ध बन्न पुगेको थियो ।

तर गएराति इलाका प्रहरी कार्यालय कटारीबाट खटिगएको प्रहरीको नेतृत्वमा स्थानीय समेत सहभागी भई रातको ९ बजेबाट सडक खुलाए पनि फेरि लेखानी–२ बेतेनीमा आज बिहान पहिरो गएपछि सिद्धिचरण लोकमार्ग अवरुद्ध हुन पुगेको प्रहरीले बताएको छ ।

बेतिनीमा पहिरो गएपछि उदयपुरको कटारी हुँदै घुर्मी, ओखलढुङ्गा तथा खोटाङ सञ्चालन हुने यातायातका साधन सञ्चालन अवरुद्ध हुन पुगेको छ ।

बेतेनीमा पहिरो झर्ने बित्तिकै बिहानैदेखि इलाका प्रहरी कार्यालय कटारीको समन्वयमा सडक खुलाउने प्रयास सुरु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक ओम रानाले बताए ।

उक्त सडकखण्ड अवरुद्ध भएपछि विभिन्न सवारीका साधन र यात्रु भने बीच बाटैमा विचल्लीमा परेका छन् । पूर्वी तराई हुँदै उदयपुरको कटारी भएर घुर्मी हुँदै ओखलढुङ्गा सोलुखुम्बु तथा खोटाङतिर यात्रा गरिरहेका यात्रु र पहाडी क्षेत्रबाट तराई झरेका यात्रु सिद्धिचरण लोकमार्ग अवरुद्धका कारण बीच बाटामा नै विचल्लीमा परेको यातायात व्यवसायीले बताएका छन् । 

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...