काठमाडौं, २९ भदौ ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको तेस्रो राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा सुरु हुँदैछ ।
‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने मूल नाराका साथ सुरु हुने उक्त महाधिवेशन यही भदौ २९ देखि ३१ गतेसम्म हुनेछ ।
महाधिवेशनको तयारीस्वरुप सबै जिल्ला कार्यसमितिको अधिवेशन सम्पन्न भई महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको सङ्घकी अध्यक्ष डा डीला सङ्ग्रौलाले जानकारी दिइन् ।
महाधिवेशनअन्तर्गत आगामी निर्वाचन प्रान्तीय संरचनाअनुसार ५१ सदस्यीयको हुनेछ । निर्वाचन विद्युतीय मतदान मेसिनबाट हुने छ ।
देउवा र सिटौला समूहको संयुक्त प्यानल
पार्टी सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहले प्यानल बनाएर उमेदवारी दिने भएका छन् ।
नेता कृष्ण सिटौला समूहको संस्थापन पक्षसाग सहकार्य गरेको छ । सभापति शेरबहादुर देउवा पक्षबाट अध्यक्ष र सिटौला समूहबाट महासचिव लिने समझदारी भएको छ । अध्यक्षमा उमा रेग्मी अधिकारी र महासचिवमा धना खतिवडालाई उम्मेदवार बनाइएको छ ।
रामचन्द्र पौडेल पक्षले पूर्व अध्यक्ष मीना पाण्डेलाई उम्मेद्वार बनाएको छ । पौडेल समूहले मंगलबार विहान भेला गरेर उम्मेदवार घोषणा गरेको थियो । पाण्डे पनि पूर्व अध्यक्ष हुन् ।
महाधिवशेनमा मुलुकभरबाट आउने करिब दुई हजार २०० जना प्रतिनिधि सहभागी हुँदै छन् । त्यसमध्ये १० जना विभिन्न देशबाट प्रतिनिधित्व गरी अाउँदैछन् ।
२००४ साउन २४ गते स्थापना भएको महिला सङ्घको हालसम्म २०५८ साल विराटनगरमा पहिलो र २०६४ साल काठमाडौँमा दोस्रो महाधिवेशन भएको थियो ।
नेम संघको तेस्रो महाधिवेशन काठमाडौँमा सुरु हुँदै
Loading...