सुदूरपश्चिममा अनन्ते पर्वको रौनक


बाजुरा ३१ भदौ ।


सुदूरपश्चिमका पहाडी जिल्लामा हिजोदेखि अनन्ते मेलाको रौनक छाएको छ । भदौ पूर्णिमाको अघिल्लो दिनबाट सुरु हुने अनन्ते मेला बाजुरा, अछाम, बझाङ, डोटी लगायतका जिल्लमा मनाउने चलन रहेको छ ।

बाजुरा जिल्ला वासीको दशैं र तिहार र भुवा पर्व पछिको तेस्रो ठूलो पर्वका रुपमा मानिने अनन्ते र चौदश मेलाको नामले पनि चिनिने यस पर्वमा तीन दिनसम्म देउडा खेलेर मनाउने परम्परा रहेको छ ।

महाभारतमा कौरवसँगको लडाइँमा पाण्डवहरुले गरेको विजय प्राप्तिको खुसियालीमा विजय उत्सवका रुपमा यो पर्व हरेक वर्ष मनाइने गरेको कुरा मार्तडी–४ का वृद्ध रुपसिंह रावलले जानकारी दिए।

‘अनन्ते मेला अन्यायको अन्त्य’ भन्ने शब्द अपभ्रंस भएर उत्पत्ति भएको किम्बदन्ती रहेको छ । व्रतबन्धमा अनन्तः धारण गर्ने परम्परा रहेकाले यो पर्व पूर्णिमाको दिनबाट सुरु गरेर भगवानको भजन कीर्तन र महापुरुषले गरेका कल्याणकारी कार्यलाई समुदायबीच गीत र मागलका गाथाको माध्यमद्वारा सुसूचीत गरिने परम्परा रहेको स्थानीय काल्चे दमाइले बताए ।

अनन्ते मेला अवधिभर मागल र गीत गाएर महाभारतको युद्धमा कौरव र पाण्डवबीचको युद्ध संवाद र युद्ध कुशलता जस्ता कार्यको वर्णन गरेको पाइन्छ । स्थानीय लोकसंस्कृति र जिल्लाको पहिचानस्वरुप मनाइने अनन्ते मेला जिल्लाका मार्तडी, जुगाडा, आटिचौर, बुढीगङ्गा, वाई लगायत एक दर्जन बढी गाविसमा धुमधामका साथ मनाइने गरिन्छ ।

देउडा संस्कृतिको जगेर्ना, आफन्तसँगको भेटघाट र मित्रताको सुरुवातको सङ्केतका रुपमा पनि यो पर्व मनाउने गरिएको स्थानीयवासीले बताउने गरेका छन् । मेलाको अवसर पारेर यतिखेर छिमेकी गाविस, लेक खर्कबेँसीबाट आफन्त, गोठाला, विद्यार्थी र कर्मचारी एक ठाउँ जम्मा हुने गरेका छन् ।

यो मेला सुदूरपश्चिमका अन्य ठाउँमा पनि मनाउने प्रचलन बढ्दै गएको छ भने जिल्लाको बाह्रबिस, कुल्देमाडौँ, ब्रहम्तोला लगायतका गाविसमा पनि विस्तार हुँदै गएको छ ।

यस अवसरमा खेलिने धमारी, रतेउली, पुत्ला लगायतमा महिला पुरुष गोलो घेरा बनाएर एकै तालमा खुट्टा बटार्दै दुई समूहमा सवालजवाफ गर्ने गरिन्छ । जसमा गीत सिर्जना गर्ने एक मुख्य व्यक्ति छनोट गरिएको हुन्छ । 

महाभारतको युद्धमा पाण्डव र कौरबबिच भएको लडाइँको नक्कल गर्दै योद्धाहरूले देखाएको युद्ध कुशलता जस्ता क्रियाकलापसँग सम्बन्धित रहेर गीत सिर्जना गरी सवाल जवाफ गर्ने परम्परा छ । अनन्तेमा अन्य मेला महोत्सव जस्तो मायापिरतीका कुरा गर्न पाइँदैन ।

कतिपय समुदायका मानिसले अनन्तेलाई दसैंतिहारभन्दा पनि भव्य रूपमा मनाउने गर्छन् । यस वर्षको अनन्तेमा जिल्लाभर मेलमिलाप, शान्ति र सद्भावको कामना गर्दै आपसमा सुखदुःख पनि बाँडिएको छ । 

अनन्ते मेलालाई मध्यनजर गर्दै तिन दिनसम्म जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको छ । मेला लाग्ने स्थानमा हिंसात्मक गतिविधि हुन सक्ने भन्दै अन्य ठाउँबाट प्रहरीको संख्या पनि थपिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मेलाको अवसरमा विशेष गरी महिला र पुरुष एकजुट भएर देउडा नाच्ने चलन रहेकाले छिमेकी जिल्लाहरू डोटी, बाजुरा, सुर्खेत र कैलालीका सीमाक्षेत्रबाट पनि मेला भर्न आउने गर्छन् । महिला पुरुष एउटै लाइनमा गोलबद्ध भएर मौलिक पोसाकसहित देउडामा सवाल जवाफ गरेर पालैपालो गीत, गाथा गाएर रमाइलो गर्ने गर्छन्

,

प्रतिकृया दिनुहोस्

Loading...