भारतकाे ५ सयौँ टेस्ट अाज, अहिलेसम्म जित भन्दा हार धेरै

एजेन्सी, ६ असोज ।

भारतले टेस्ट क्रिकेटमा बिहीबार पाँच सयौँ खेल खेल्दैछ । कानुपुरमा सुरु भएको न्युजिल्याण्डसँगको टेस्ट क्रिकेट भारतको पाँच सयौँ खेल हो । भारतले अहिलेसम्म खेलेका चार सय ९९ टेस्टमा एक सय २९ मा जितेको छ भने एक सय ५७ खेलमा हारेको छ ।

यस्तै दुई सय १२ खेल बराबरीमा सकिएका छन् । इंग्ल्याण्ड, अस्ट्रेलिया र वेष्ट इन्डिजले पाँच सय भन्दा धेरै टेस्ट खेलिसकेका छन् । भारतले पहिलो टेस्ट सन् १९३२ को जुन २५ देखि २८ सम्म लडर्स मैदानमा इंग्ल्याण्डसँग खेलेको थियो । यो खेलमा भारत एक सय ५८ रनले पराजित भएको थियो ।

भारतले अहिलेसम्म टेस्ट क्रिकेटमा बनाएको सर्वाधिक रन भनेको सात सय २६ हो । सन् २००९ मा मुम्बइमा भएको खेलमा भारतले ९ विकेटको क्षतिमा सात सय २६ रन बनाएको हो । यस्तै भारतले सन् १९७४ मा इंग्ल्याण्डसँगको खेलमा बनाएको ४२ रन उसको अहिलेसम्मकै कम रन हो ।

भारतको तर्फबाट सबैभन्दा धेरै टेस्ट क्रिकेट खेल्ने सचिन तेन्दुलकर हुन् । उनले दुई सय टेस्ट म्याच खेलेका छन् । उनले दुई सय टेस्टमा ५१ शतकसहित १५ हजार ९ सय २१ रन बनाएका छन् । यसैबिच भारतले न्युजिल्याण्डसँग तीन टेस्ट क्रिकेट खेल्नेछ । पहिलो श्रृँखलाको पहिलो टेस्ट बिहीबारदेखि सुरु भएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...