थ्रीस्टारले आज ओयल इन्डियासँग खेल्दै, नजर सेमिफाइनलमा प्रवेश

  • काठमाडौं,७ असोज ।

भारतको गुवाहटीमा जारी ६४ आैँ संस्करणको बोर्डोलोई ट्रफीको दोस्रो खेलमा शुक्रबार थ्री स्टार क्लब ओयल इन्डिया फुटबल क्लबसँग खेल्दै छ ।
आजको खेललाई महत्वका साथ हेरेको थ्रीस्टारको नजर प्रतियागिताको सेमिफाइनल प्रवेश गर्नु हुनेछ । पहिलो खेलमा नागाल्याण्डको बारक फुटबल क्लबविरुद्ध ६–१ प्रभावशाली जित निकालेको थ्रीस्टारले लिग चरणको दोस्रो खेलमा ओयल इन्डियसँग खेल्न लागेको हो । खेल गुवाहाटीको नेहरु स्टेडियममा बेलुका ७ बजे सुरु हुनेछ ।

ओयल इन्डियाले लिग चरणको पहिलो खेलमा सिलोङ लाजोङ फुटबल क्लबसँग १–१ गोलको बराबरी खेलेको थियो । पहिलो खेलमा पाएको प्रभावशाली जितपछि थ्रीस्टारले सेमिफाइनल प्रवेशको योजना बनाएको छ । ओयल इन्डियाविरुद्ध जित हात पार्न सके नेपालको लिग विजेता टोली एक खेल अगावै प्रतियोगिताको अन्तिम चारमा स्थान पक्का गर्नेछ ।

थ्रीस्टार क्लबका मुख्य प्रशिक्षक मेघराज केसी प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल पुग्नेमा ढुक्क छन् । ‘ओयल इन्डियाको पहिलो खेल हेर्दा हामीले चिन्ता लिनुपर्ने अवस्था छैन् । खेलाडीले योजना अनुसार मेहनतका साथ खेले हामी सेमिफाइनल पुग्छौँ ।’ उनले भने । थ्रीस्टारलाई चोट ग्रस्त खेलाडीले सताएको छ । पहिलो खेलमा फरवार्ड द्वय विमल घर्तिमगर र मार्टिनले चोट बोकेका थिए । यद्धपी दुवै खेलाडीले बिहीबार सामूहिक अभ्यास भने गरे ।

मिडफिल्डर प्रकाश बुढाथोकीले चोटका कारण ओयल इन्डियाविरुद्धको खेल गुमाउने पक्का छ । मुख्य प्रशिक्षक केसीले भने, ‘विमल र मार्टिनको चोट सामान्य देखिएको छ, शुक्रबार सम्म हेरेर थप निर्णय गरिनेछ ।’ क्लबको बेन्च बलियो भएकाले खेलाडीको चोटले शुक्रबारको खेलमा केही फरक नपार्ने केसीको भनाई छ । उनले भने ‘हामी समूह बिजेताको रुपमा सेमिफाइनल पुुग्ने प्रयास गर्नेछाैँ, थ्रीस्टारले आफ्नो स्वभाविक खेल पस्कनेछ, पहिलो खेलको लयलाई दोस्रो खेलमा पनि कायम राख्नेछ । प्रतिद्वन्दी क्लबमा बारेमा आफू धेरै जानकार नभएकाले खेलका दौरान रणनीति परिवर्तन गरेर जित निकाल्ने उनको भनाई छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...