प्रश्नहरु अर्थात् भीमदत्तहरु
- राजबहादुर कुँवर -
खैरो सिद्धान्तलाई जीवनले प्रश्न गर्छ र जीवन बनिबनाउ गोरेटा, राजमार्ग, जलमार्ग र वायुमार्गभन्दा पृथक छ । जीवनले यथास्थितिलाई स्वीकार्दैन । जीवन गतिशीलता हो । त्यसैले समाज, प्रकृति र मानव जीवन प्रश्नका नदी हुन् ।
प्रश्न नसोध्ने विद्यार्थी र नयाँ प्रश्नसँग डराउने शिक्षक हुनै सक्दैन । कलेजोलाई मानव जीवनको केन्द्र मान्ने सिद्धान्तलाई प्रश्न गरेर नै मुटु रक्तसंचारको केन्द्र रहेको रहस्योद्घाटन भएको हो ।
पृथ्वी चेप्टो रहेको धारणामा प्रश्न गरेर नै गोलो रहेको सत्य स्थापित भएको हो । यसरी प्रश्नहरु साहाससँग जोडिए पछि आन्दोलन बन्छन् । प्रश्नहरु अनुसन्धानसँग जोडिए पछि आविस्कार बन्छन् । प्रश्न सोधेरै मानिसहरु पशुपंक्षिभन्दा पृथक भएका हुन् ।
आफ्ना छोराछोरीको प्रश्नसँग झिझो मान्ने बाबुआमा, विद्यार्थीको प्रश्नसँग आतंकित हुने शिक्षक, कार्यकर्ता र जनताको प्रश्नसँग भयवित नेताले समाज विज्ञानलाई कुन्ठित गर्दछन् । प्रश्नसँग कुनै पनि प्रकृतिका शासकहरु डराउँछन्, जो भलै राजनीतिक, पारिवारिक, धार्मिक वा सांस्कृतिक सत्ताका मालिक किन नहुन् ।
ऐतिहासिक श्रृखंला नै छ कि प्रश्नहरु सकेसम्म दवाइन्छन् । प्रश्नहरुको हत्या गरिन्छ । प्रश्नलाई पालुवामै निमोठिन्छ । प्रश्नको जरा नै उखेलिन्छ । प्रश्नभन्दा प्रशस्ती कर्णप्रिय हुन्छन् ।
प्रशस्तीसँग मदहोस कुनै पनि सत्ताधारीले आफ्नो साम्राज्यमा आफै आगो लगाउछन् र आफ्नो साम्राज्य नजलुन्जेल प्रश्नहरुसँग कुनै पनि सत्ताधारीलाई सरोकार हुँदैन । लिगलिगकोटबाट दौडेर जितेको शासनमा शाहहरुले दौड प्रतियोगिता नै बन्द गरे र आफ्नो शासनलाई विष्णुको अवतार घोषित गरे ।
विष्णुको अवतार जनतासँग ऐतिहासिक कालमा दौडन नसकेर माटोमा मिसियो । विष्णुको अवतारलाई प्रश्न ठड्याउनेहरु थुनिए र मारिए । प्रश्नकर्ताको मृत्युले भगवान साम्राज्य अन्त्यको निश्चित गरे । मृत्युसँग नडराउने प्रश्न नै क्रान्तिको पहिलो पाइला हो ।
प्रश्नले नै जन्माएका छन् नयाँ नयाँ आविस्कारहरु । बगैचामा उँधो खसिरहेको स्याउलाई प्रश्न गरेर नै जन्मिएको हो गुरुत्वाकर्षणको सिद्धान्त । कितलीमा पाकिरहेको चियाको बाफबाट उभो उडिरहेको ढकनीलाई प्रश्न गरेर नै जन्मिएको हो बाष्प इन्जिन । उडिरहेको चरालाई गरिएको प्रश्नबाट नै जन्मिएको हो मानवीय उडानको सिद्धान्त । ओडारको गरेर नै अनुकरण जन्मिएको हो घर ।
प्रश्नले सधै सुन्दरको रचना भने गर्दैनन् । मृत्युलाई प्रश्न गरेर नै जन्मिउका हुन् अजम्वरी देवताहरु । प्रकृतिका रहस्यलाई उद्घाटन गर्न नसकेरै जन्मिएका हुन् अलौकिक शाषकहरु । गतिशीलतालाई नपक्रिएर नै जन्मिएका हुन् रुढीहरु । हज्जारौं बर्षदेखि रुढीहरु कतै संस्कृति, कतै संस्कार र कतै धर्मका नामले परिचित छन् ।
बुद्धलाई प्रश्न गर्न सकिन्छ अहिंसारहित धर्ति खोई ? कृष्णलाई प्रश्न गर्न सकिन्छ महाभारत पछि युद्धको अन्त्य खोई ? आधुनिक मानव जातिलाई प्रश्न गर्न सकिन्छ प्रथम विश्व युद्धले द्धितीय विश्व युद्धलाई किन रोक्न सकेन ? अमेरिकालाई प्रश्न गर्न सकिन्छ सद्धाम हुसेनको मृत्युले किन रोकेन इस्लामिक योद्धाको जेहाद । भारतलाई प्रश्न गर्न सकिन्छ संसारको सवैभन्दा ठूूलो लोकतन्त्रमा किन चलिरहन्छ नक्सलवाडी आन्दोलनहरु ? शाषकहरु प्रश्नका हत्यारा हुन् र विद्यमान यथार्थलाई प्रश्न गर्नु जोखिमपूर्ण कार्य हो ।
बगिरहेको पानीमा करेन्ट खोज्ने सचेत प्रश्नकर्ता नै आविस्कारक हुन् । चराहरुको कलरव, चट्याङको गर्जन र झरनाहरु कलकलमा संगीत खोज्नेहरु कलाकार हुन् ।
माछा झै समुद्रमा तैरिरहेका पानी जहाज, चितुवाझै दौडिरहेका रेलहरु र चराझै उडिरहेका हवाइजहाजहरु प्रकृतिका अनुकरणात्मक प्रश्न हुन्, जुन परिवर्तनशील छन् । दुनिया सुक्ष्म अणु, परमाणु, न्यूट्रोन र तरंगमा केन्द्रीत छ । भलै समुद्रसँग, हिमालसँग, मानवसभ्यतासँग हज्जारौं प्रश्नहरु अनुत्तरित किन नहुन् ।
समाज विज्ञानमा हज्जारौं मृत र जीवित सिद्धान्तहरु छन् । दासकालीन, सामन्तकालीन, पुँजीवादकालीन हज्जारौं सिद्धान्तहरुको बुँइ चढेर बुढो पुँजीवाद रुँघीरहेछ पृथ्वी । अर्कोतिर मानव जातिको मुक्तिको दुन्दुभी बजाउँदै वढिरहेछ साम्यवाद । पुँजीवाद र साम्यवाद दुवै निर्विकल्प सिद्धान्त होइनन् ।
पुँजीवादभन्दा अगाडि कुनै पनि समाज छैन भन्नु मुर्खता हुन्छ , समाजवादभन्दा अगाडि कुनै सभ्यता छैन भन्नु महामुर्खता हुन्छ । मानवलाई समानता, स्वतन्त्रता र समृद्धि प्रिय हुन्छन् । पुँजीको सिक्रीले बाँधिएको सभ्यतालाई मानिस घृणा गर्दछन् किनकी गरिबी र कुलीन छुट्याउने सीमारेखा पुँजी नै हो ।
कान्ला, बारी, देश, जनता र वर्गका सीमाहरु ऐतिहासिक कालखण्ड गुजारेर जन्मिएका हुन् । इसाई, इस्लाम, बौद्ध, हिन्दूका सीमारेखाहरु मेटेरै मानव जाति निर्माणका प्रश्नहरु आवश्यक छन् । पृथ्वीको सुन्दर रचना मानिसलाई इसाइकरण र मुस्लीमिकरणको अष्टवक्र गाठाहरुमा गुजुल्ट्याउने युद्धहरु जारी छन् । कुनै दिन भोको एनोकोन्डाले आफ्नै मालिकलाई जसरी निल्छ, यी युद्धहरुले स्वयम मानव जातिलाई निल्ने खतरा छ । विश्व युद्धरत छ र शान्तिका गीतहरु कर्णप्रिय छन् । शान्तिको मानवीय प्रलाप युद्धको दुन्दुभीभित्र विलीन छ ।
युद्धसँग मानिसहरु डराउँदै युद्धको सामाना गरिरहेका छन् । नडराएर युद्धको सामना गर्नु नै सचेत मानिस र संगठनको कर्तव्य हो । कुनै मानिस भुकिरहेको कुकुरसँग डराएर भाग्दा कुकुरले झनै जसरी लखेट्छ, युद्धसँग डराएर शान्तिको जपनाले पनि युद्धलाई नै झनै नजिक्याउँछ । एक्काइशौ शताब्दी पृथक र सघन युद्धबाट गुज्रिरहेको छ । कतै तेलयुद्ध, कतै जलयुद्ध, कतै धार्मिक युद्ध, कतै जातीय युद्ध, कतै वर्गीय युद्ध, कतै राष्टिय युद्ध । यी परम्परागत युद्धहरुसँग पनि प्रश्नहरु छन् । हिंसासँग प्रश्न गरेर नै जन्मिएको हो बुद्ध । मानिसको मुक्तिका खातिर हजारौं वर्षदेखि दार्शनिकहरु, चिन्तकहरु र अन्वेषकहरुले प्रश्न गरेका छन् । स्थापित मूल्य र मान्यताहरु भत्किएका छन् । नवीनतम् मूल्य र आदर्शहरु जन्मिएका छन् ।
नेपाल एउटा प्रकृति हो । नेपाल एउटा सभ्यता हो । नेपालमाथि प्रश्न छन् र भइरहेका छन् । नेपाल हिन्दूहरुको वपौति हो वा सम्पूर्ण मानव जातिको फूलबारी । नेपाल खस राष्टवादको तवेला हो वा सम्पूर्ण राष्ट्रियताको ऐतिहासिक थलो । नेपाल पृथ्वीनारायण शाहले बनाएका हुन् वा पृथ्वी लामा, पृथ्वी तामाङ, पृथ्वी लिम्वु, पृथ्वी क्षेत्री, पृथ्वी थारुले बनाएका हुन् ? नेपाल भारतमा आश्रित छ वा भरतबहादुरहरुमा आश्रित छ ? नेपाल कहिल्यै स्वाधीन भएन वा कारगील वा काश्मिरमा इष्ट इन्डिया र इन्डियालाई सलाम गरिरहेको छ किन ? हज्जारौं प्रश्नहरु छन् ।
नेपालमा लोकतन्त्र सुहाउँछ वा जंगबहादुर ? नेपालमा गणतन्त्र सुहाउँछ वा महेन्द्र । नेपालको माटोमा के के फल्छन् प्रकृति विज्ञानका अनुसन्धानकर्ता मात्र होइन, चिसो हावापानीमा निरंकुशता, मध्यम हावापानीमा लोकतन्त्र परिकल्पनाकार दार्शनिक रुसो पनि रनभुल्ल छन् । किनकी नेपालमा तिनै प्रकृतिको हावापानी छ । निरकुंशतादेखि बैराग्य शाषकहरु नेपालको इतिहासमा सूचिकृत छन् । हिजो र आजका सम्पूर्ण शासन र शासकलाई प्रश्न नै नगरी नयाँको परिकल्पना नै गर्न सकिदैन ।
नेपालमा विद्रोह, बलिदान, सहादत र आंशिक परिवर्तनका इतिहासरुपी दस्तावेजमा थुप्रै घटनाक्रमहरु छन् । कतै राजाहरु प्रजाद्धारा काटिएका छन् । कतै सिपाहीद्धारा राजाहरु कुज्याइएका छन् । कतै नेताद्धारा देशका सीमारेखाहरु खुम्च्याइएका छन् । कतै जनताद्धारा सीमारेखा फैलाइएका छन् । अपितु इतिहासरुपी पोथ्रामा जनता होइन राजा र खलनायक नै बर्णित छन् ।
सीमान्तकृत मानिसको प्रोफाइल राष्टसँग सुरक्षित छैन । कतै शासनसँग बैरागिएर घुमन्ते बनेका पो हुन् कि राउटेहरु ? किन आफ्नै जमिनबाट थारुहरु बेदखल भए र माघीभन्दा किन ठूलो पर्व भयो दशै ? राज्यसँग कुनै प्रोफाइल छैन । राज्यसँग कुनै तथ्यांक छैन । तथ्यांंकहीनले राज्यसँग तथ्यांक खोज्नु, पहिचानहिनले राज्यसँग पहिचान खोज्नु एक आतंककारी क्रिया नै हो ।
दवाइएका मानिसहरुको आवाज किन जोडले आइरहेछ । यो रुन्चे, पिलन्धरे र सुकेको आवाज हुनु पर्ने हो । किन सामाजिक विस्फोटहरु शाषकको अनुमान विपरीत छन् ? यिनै सिमान्तकृत विस्फोटलाई आफ्नो मुटु ठान्नेहरु पैसट्ठी वर्षमा झन्डै पैसट्ठ चोटी नै फुट्ेका छन् ।
प्रत्येक फूटमा पूरानोलाई धारेहात र नयाँलाई आर्शिवाद दिएका छन् सिमान्तकृतले । पुरानोका गर्भबाट नयाँको अभ्युदयलाई स्वीकारेका छन् । नयाँहरु नयाँपन नै स्थापित नगरीकन पुरानिएका छन् । यो नै इतिहासको भद्दा मजाक हो ।
प्रकृति बाँझो विरोधी र जीवनको पक्षपाति छ । बाँझो खन्नु प्राकृतिक कार्य हो । किसानले प्रकतिलाई आफ्नो श्रमले नुहाएर जीवनबोध गर्छन । किसान जसरी प्रकृतिका नियमहरुलाई पछ्याउँदै वसन्त र शरद स्वीकारर्छन्, योद्धाहरु अर्थात् चेहरु समाजका पुराना मूल्य र मान्यताहरुमाथि प्रश्नहरु गर्छन् । आफ्ना आदर्शका लागि आहुति दिन्छन् र लाखौं मानिसलाई गतिशील र उर्जावान बनाउँछन् । आफ्नो आदतको सत्तामाथि हमला गर्दछन् ।
समाजमा परम्परागत आदतको सत्तालाई खारेज गर्दै प्रश्नकर्ताले नै परिकल्पित समाज रचना नगरे पनि त्यसको दीर्घजीवी प्रभाव रहिरहन्छ ।
नुनको कालोबजारीयालाई बोरामा राखेर नदीमा फ्याकिदिने भीमदत्तको टाउको बासको लिंगोमा गाडिए पनि स्वप्नहरु बासमा टांगिएनन् । झनै झांगिएका छन् । आशा मरेको समाजमा हजारौं जीवित लासहरुलाई एउटै योद्धाको सचेत मृत्युले तरंगित गरिदिन्छ र फेरिदिन सक्छ ।
प्रत्येक संगठन र समाजको गर्भमा विप्लवहरु हुन्छन्, ति विप्लवलाई चिन्ने वा नचिन्ने द्रष्टाको प्रश्न हो । गाली गर्ने वा आर्शिवाद दिने व्यक्तिको चिन्तनको सवाल हो । विप्लवलाई स्वीकानुहोस वा बहिस्कार गर्नुहोस्, विप्लव नियमसंगत प्रकृति हो । धर्तिलाई उर्वरा बनाउन नसकेपछि धतुरो नै किन नहोस्, उम्रिन्छ । तराईदेखि हिमालसम्म विप्लव भइरहेको छ ।
हुकुम र फरमानहरुले सुर्योदय र सुर्यास्त हुँदैन । कुनै पनि मानिस लामो समयसम्म तवेलाको घोडा झैं घाँस खादैन । ऊ दौड्न चाहन्छ, कुँद्न चाहन्छ र हर्कुलसको अन्तिम स्तम्भ भेट्न चाहन्छ । मानिसको साझा हितलाई सम्बा्ेधन नगरुन्जेलसम्म भीमदत्तहरु जन्मिरहन्छन्, विप्लवहरु भइरहन्छन् र आदतको सत्तामाथि चेहरुले हस्तक्षेप गरिरहन्छन् । आखिर पाण्डित्याइँलाई खारेज गर्नु र जीवनलाई सलाम गर्नु प्रश्नहरुको सार हो ।
प्रतिकृया दिनुहोस्
Loading...