केपी ओलीको समर्थनमा यसरी बेचिएको थियो महाकाली (तथ्यसहित)
- काठमाडौँ ११ कात्तिक ।
महाकाली,कालापानी,टनकपुर,सुस्ता,लिपुलेक,पशुपतिनगर जब जब नेपालीहरुले सम्झीन्छन तब–तब नेपालीहरुको मुटु कापेर आउँछ । ओठहरु थर्थराउँछन्,मनमा विरोध र प्रतिशोधको ज्वारभाटा उब्जीन्छ ।
माटोप्रतिको माया सायद यस्तै यस्तै भावमा व्यक्त हुन्छ । नेपालका कयौ भारतसंग गरिएका असमान सन्धिमध्ये नेपालीहरुले कहिल्यै भुल्न नसक्ने असमान राष्ट्रघाति सन्धि हो महाकाली सन्धि ।
त्यही सन्धिले सधैका लागि गुम्यो महाकाली नदी । आफ्नै नदी भएर भारतको आदेश मान्नुपर्ने,नेपाली जनताको जमीन सिचाईको अभावमा वाझो हुनुपर्ने,महाकाली नदीकै पानीले निकालेको विजुली नेपाली जनताले किन्नुपर्ने बिडम्वना हामीसंग छ ।
नेपाली जनतालाई रंगीन सपना बाँडेर २०५३ असोज ४ गते शुक्रबार मध्यराति संसदको दुई तिहाई महुमतबाट अनुमोदन गरिएको ‘महाकाली नदीको एकीकृत विकास सन्धि’ । सन्धि भएकै दिन विरोध गर्दै हजारौं नागरिक सडकमा उर्लीएका थिए ।
विरोधका क्रममा कयौले ज्यान समेत गुमाएका थिए भने कयौ घाइते समेत भए । तर देश बेचियो । संसदको आवरणबाट । तत्कालीन सत्तारुढ दल नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल सद्भावना पार्टी र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले महाकाली विधिबवत रुपमा भारतलाई सुम्पीएका थिए त्यो दिन ।
तर त्यत्तीबेला प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चाहेको भए त्यो सन्धि पास नहुने निश्चित थियो । तर एमालेका केहि नेताले त्यसको विरोध गरेपनि संस्थागत रुपमा एमालेले संसदमा महाकाली सन्धिको पक्षमा मतदान गरेको थियो ।
यहाँसम्मकी एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाल र केन्दीय नेता केपी शर्मा ओली नै महाकाली सन्धि गरेपछि स्याटेलाइट प्रविधिबाट विदेशीलाई विजुली बेचेर नेपालमा वर्षेनी अर्बौं–खर्बौं वर्षाउन सकिन्छ भन्दै जनतामा आश्वासनहरू बाड्नसम्म भ्याए । तर यसको जवाफ अहिलेसम्म उनीहरुले दिएका छैनन् ।
खोइ झिलिमिली,खोई वार्षीक अर्बौ रुपैया ?
भारत र अमेरिकाबाट ‘ग्रिन सिग्नल’ आएपछि एमाले पनि नतमस्तक भएर महाकालीमा राष्ट्रघात गर्न पुगेको थियो कांग्रेसको सरकारको पालामा टनकपुर लिइसकेको भारतले एमालेलाई पनि टनकपुरभित्र हाल्न टनकपुरलाई महाकालीकै प्याकेजमा हालेर ‘महाकाली प्याकेज’ ल्याएको थियो ।
यसरी महाकाली भारतलाई सुम्पने सत्तापक्ष र प्रतिपक्षका दल र तिनका नेताहरूले आजसम्म पनि महाकालीमा नेपाल ठगिएकै थियो भन्ने हिम्मत गर्नसकेका छैनन् । बरु आफुलाई राष्ट्रबादीको आबरणमा प्रस्तुत गर्न खोजीरहेका छन् ।
कसरी भयो हस्ताक्षरदेखि अनुमोदनसम्म
तत्कालीन श्री ५ को सरकार, नेपाल र भारतबीच २०४७ सालको नेपालको संविधानको धारा १२६ मा उल्लेखित ‘प्राकृतिक स्रोत र त्यसको उपयोगको बाँडफाँडबारे कुनै अर्को देशसँग हुने सन्धिको अनुमोदन संसद्को दुवै सदनका उपस्थित सदस्यहरूमध्ये दुइ तिहाई बहुमतबाट हुनुपर्ने’ प्रावधानअनुसार यो सन्धिमा हस्ताक्षर र त्यसको अनुमोदन गरिएको थियो ।
यसबिचमा सुरुमा तत्कालीन श्री ५ को सरकार र भारत सरकारबीच २०५२ माघ १५ गते परराष्ट्रमन्त्री स्तरमा सन्धिमा प्रारम्भिक हस्ताक्षर भएको थियो । हस्ताक्षर नेपालका तत्कालीन परराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनी र भारतका विदेश मामिलासम्बन्धी मन्त्री तथा हालमा राष्ट्रपति प्रणव मुखर्जीले गरेका थिए ।
माघ १५ गते साँझ प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा भएको हस्ताक्षर समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा, सत्तारुढ दलका मन्त्रीहरू, राप्रपाका तत्कालीन अध्यक्ष सूर्यबहादुर थापा, एमालेका केन्द्रीय नेताहरू केपी शर्मा ओली, भरतमोहन अधिकारी, झलनाथ खनाल तथा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेको उपस्थिति थियो ।
सन्धिमा हस्ताक्षरअघि २०५२ माघ १२ गते तत्कालीन सभामुख रामचन्द्र पौडेलको संयोजनमा संसद् भवन सिंहदरबारमा कांग्रेस, एमाले र राप्रपाको बैठक बसी सन्धि पारित गर्ने सहमति भएको थियो । कांग्रेस–एमालेका शीर्षस्थ नेताहरूले त्यही आधारमा एक लिखित दस्तावेजमा हस्ताक्षर समेत गरेका थिए । यो बैठकमा माधवकुमार, झलनाथ, अमृतकुमार बोहोरा उपस्थित थिए ।
सन्धिमा परराष्ट्रमन्त्री स्तरमा हस्ताक्षर भएकै दिन एमाले केन्द्रीय कमिटीको २५ औं बैठक बसी एक विशेष प्रस्ताव पारित गर्दै सन्धि सम्पन्न भएकोमा स्वागत र समर्थन गरिएको थियो ।
वैठकमा पारित प्रस्तावमा प्रष्ट रुपमा भनिएको थियो–‘ ‘नेकपा (एमाले)को सरकार भएको बेलामा भारत सरकारसँग गरेको वार्ताको क्रममा समस्या समाधानको ठोस आधारहरू तयार पारेको र अहिले तिनै कुराका आधारमा औपचारिक सन्धि सम्पन्न भएकोले यो बैठक यस सन्धिलाई समर्थन गर्दछ ।’
यस्तै २०५२ माघ १७ गते एमालेका तत्कालीन अध्यक्ष एवं पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीले पनि एक वक्तव्य जारी गरी सन्धिको खुला रुपमा समर्थन जनाएका थिए ।
परराष्ट्रमन्त्रीस्तरको सन्धिपछि प्रधानमन्त्री देउवा २०५२ माघ २९ गते भारत भ्रमण गए । देउवा तथा भारतीय प्रधानमन्त्री पी.भी.नरसिंह रावले माघ २९ गतेकै राति भारतको नयाँदिल्लीस्थित हैदरावाद हाउसमा सन्धिका अंग्रेजी, हिन्दी र नेपाली भाषाका प्रामाणिक प्रतिमा हस्ताक्षर गरका थिए ।
त्यसपछि राजा वीरेन्द्रले २०५३ असार १२ गते बुधबारदेखि सुरु हुने गरी संसद्को दसौं अधिवेशन आव्हान गरेका थिए । असोज २६ गतेसम्म ७४ दिन चलेको त्यो अधिवेशनको बीचमा असोज ४ गते शुक्रबार राति उक्त सन्धि एमालेको समर्थन सहित अनुमोदन गरियो ।
एमालेमा सन्धिबारे विवाद
सन्धि अनुमोदनअघि एमालेबीच सन्धिको पक्ष र विपक्षमा विवाद चर्किएको थियो । त्यसपछि एमाले केन्द्रीय कमिटीमै खुला र गोप्य मतदान भयो ।
पहिलो खुल्ला मतदानमा पक्षरविपक्षमा १७ र १७ र दोस्रो गोप्य मतदानमा पक्षमा १७ र विपक्षमा १६ मत आयो । अध्यक्ष मनमोहन अधिकारी मतदान गर्न गएनन् । अष्टलक्ष्मी शाक्य र राजेन्द्र श्रेष्ठलाई तटस्थ राखियो । जबकि उनीहरूले सन्धिको विपक्षमा मतदान गरेको भए सन्धि पास नहुन सक्ने आधार थियो ।
सन्धि अनुमोदन हुने दिन बिहान ८ बजेदेखि बेलुका झण्डै आठ बजेसम्म एमालेको २८ औं बैठक तनावपूर्ण अवस्थामा बस्यो । जबकि सदन दिनको २ बजे बस्नुपर्ने थियो ।
संसदीय दलको बैठकमा हात हालाहालकै स्थिति पनि आयो । एमालेमा सन्धिको पक्ष र विपक्षमा रहेकाहरुका बिचमा कुर्सी हानाहान नै भयो । माधव नेपाल र केपी ओलीविरुद्ध चर्का नाराबाजी भयो ।
संसदीय दलको कार्यालयको मूलढोकामा ताला बन्द गरिएको थियो । त्यसैले नेपाल र ओलीसहित सांसदहरू झण्डै १५ मिनेटसम्म थुनिएका थिए । प्रहरीले दलको कार्यालयमा प्रवेश गरी भीड हटाउँदै ताला तोडेपछि ती सांसदहरू संसद् बैठकमा जान पाएका थिए ।
महाकाली बेच्नेर नबेच्ने छिनोफानो गर्न संसदमा पनि मतदान भयो । तर महाकाली बेच्नेहरूको बहुमत पुगेको थियो । २ सय २० जनाले महाकाली बेच्नुपर्छ भनेर मत हाल्दा आठ जनाले विपक्षमा भोट हाले ।
मनमोहन अनुपस्थित रहे भने एमालेका २६, राष्ट्रियसभाका मनोनित ४ र राप्रपाका एक सांसदले मतदानमा भाग नै नलिए पनि महाकाली बेच्न हुन्न भनेर स्पष्ट अडान लिनै भने कसैले सकेनन ।
सन्धि अनुमोदनका लागि दुइतिहाई मत पुर्याउन सत्तापक्षका अस्वस्थ सांसद्हरू राजदेव मोहित, भीमप्रसाद श्रेष्ठ र राष्ट्रियसभाका उपाध्यक्ष डि.के. शाही (जो वीर अस्पतालको आई.सी.यु.कक्षमा थिए) लाई समेत ल्याएर भोट हाल्न लगाइएको थियो ।
त्यो समयमा महाकाली हडप्न भारतीय विदेश मामिलामन्त्री प्रणव मुखर्जी पटक– पटक नेपाल आउने जाने गर्थे । राजदूत केबी राजन त सन्धि पारित गराउन कयौपटक कांग्रेस(एमालेकहाँ धाउँथे । उनी सबैभन्दा बढी एमालेकहाँ पुग्थे । किनकि यो सन्धि पास गराउन एमालेलाई नै मनाउनु ठुलो कुरा थियो ।
सत्तारुढ अरू दल त त्यसै पनि राजी थिए । त्यसैले राजन माधव,केपी ओली लगायतका नेताहरूलाई घरीघरी भेट्थे । अन्ततः एमाले राजी भएको थियो । एमाले र भारतीय दूतावासबीच सन्धि गराउनुअघि चिठीपत्र आदान(प्रदान भइरहन्थ्यो ।
राजनको चिठी आएपछि नै एमालेको केन्द्रीय कमिटीले त्यही चिठीलाई भारत सरकारको प्रतिबद्धता मानी महाकाली सन्धि अनुमोदन गर्ने निर्णय गर्दै संसदीय ह्वीप जारी गरेको थियो ।
२०५३ साउन ३२ गते शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले सन्धिको पक्ष वा विपक्षमा कुनै पनि टिप्पणी वा विचार व्यक्त नगर्न पार्टी नेताहरू एवं सांसदहरूलाई निर्देशन जारी गरेको थियो ।
यद्यपि एमालेले पहिले हस्ताक्षर भएको सन्धिको स्वागत र र्समर्थन गरिसकेको भए पनि सन्धि अनुमोदन गर्नेबारे पार्टीभित्र मत बाझिएपछि झारो टार्नका लागि २६ औं पू्र्ण बैठक बसी ओलीको संयोजकत्वमा अध्ययन कार्यदल बनाएको थियो । उक्त कार्यदलको प्रतिवेदन आउनु अघिसम्म सन्धिबारे कसैलाई केही नबोल्न साउन ३२ गतेको बैठकले नै हृवीप जारी गरेको थियो ।
ओली कार्यदलले २०५३ भदौ, १४ गते सन्धिबारे अध्ययन पूरा गरी केही दिनभित्र पार्टीलाई प्रतिवेदन बुझायो । उक्त कार्यदलले सन्धि सकारात्मक छ भनी प्रतिवेदन पेश गरेपछि एमालेलाई सन्धि अनुमोदन विधिवत रुपमा बाटो सहज बन्यो ।
२०५३ भदौ १७ गते आयोजित पत्रकार सम्मेलनमा जारी वक्तव्यमा ओली प्रतिवेदनको प्रारम्भिक आधारमा एमालेले सन्धिको पुन : स्वागत र समर्थन गर्दै संसद्को दुइतिहाइ बहुमतबाट अनुमोदन गर्न योग्य छ भनी उल्लेख गर्र्यो भने भदौ १९ देखि २४ गतेसम्म बसेको उसको केन्द्रीय कमिटीको २८ औं बैठकले ओली प्रतिवेदनलाई पारित गर्याे । उक्त बैठकमा अध्यक्ष मनमोहन अधिकारी, स्थायी कमिटीका सदस्य तुल्सीलाल अमात्य र देवराज घिमिरेबाहेक सबै उपस्थित थिए ।
यहि हो राष्ट्रवादी चरित्र ?
त्यसो त अहिले पछिल्लो १ वर्षमा नेकपा एमालेले आफुलाई लालमोहर लागेको राष्ट्रवादीका रुपमा उभ्याइरहेको छ । त्यसमा पनि महाकाली सन्धि पास गराउन महत्वपुर्ण भुमिका खेल्ने उनै खड्गप्रसाद शर्मा ओली अर्था केपी ओली हाल एमालेको अध्यक्ष छन् । उनले आफसलाई नम्वर वान राष्ट्रवादी त भनिरहेका छन् तर यो दृष्टान्तबारे उनी किन बोल्दैनन् । महाकालि सन्धिमा हस्ताक्षर गरेपछि एमाले लगायतका नेताहरुले दिएका सार्वजनिक अभिव्यत्तीबाट उनीहरुको चरित्र थप उदाङ्गो पार्छ ।
उक्त सन्धिमा द्विपक्षीय हस्ताक्षर भएपछि एमाले अध्यक्ष मनमोहन, केन्द्रीय कमिटी र जनकपुरमा सम्पन्न राष्ट्रिय परिषद्को बैठकले सन्धि ‘देशभक्त जनवादी शक्तिको जीत’ भएको भन्दै स्वागत र समर्थन गरेको थियो ।
महासचिव नेपालले सन्धिको खरो र्समर्थन गर्दै भनेका थिए–‘नेपाल र भारतबीच हालै सम्पन्न महाकाली नदीको एकीकृत विकाससम्बन्धी सन्धिमा एमालेको ठूलो योगदान रहेको छ । टनकपुर समस्याको समाधानले हाम्रो देशमा रहेको प्रचुर जलस्रोत विकासमा नयाँ क्षितिज उदाउने सम्भावना उत्पन्न भएको छ ।’
महासचिव नेपालले त्यसपछि आयोजित विभिन्न कार्यक्रममा महाकाली सन्धिपछि नेपालमा भू–उपग्रह (स्याटलाइट) मार्फत् विदेशीलाई विजुली बेचेर मुलुकलाई धनी बनाउन सकिने अभिव्यक्ति दिएका थिए । तर उनले विदेशीलाई विजुली बेचेर नेपालले कति आर्जन र्गयो, त्यसको कुनै जानकारी जनतालाई दिएका छैनन् ।
ओलीले महाकाली सन्धि राष्ट्रिय हित अभिवृद्धि र राष्ट्रिय सम्मान स्थापना गर्न सफल भएको बताउँदै भनेका थिए–‘नेपाल र भारतले द्विपक्षीय मैत्रीलाई सवल बनाउने प्रक्रिया थालेका छन् ।
नेपाल र भारतीय समस्याका रूपमा रहेको एउटा प्रसङ्ग सकिएको छ र सकारात्मक समाधान प्राप्त भएको छ ।’ (२०५२ माघ १६, ३१ जनवरी १९९६ मा उनले विभिन्न सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्ति ) ।
उनले महाकाली सन्धिपछि मुलुकमा वर्षेनी एक खर्ब २० अर्ब आम्दानी हुने पनि बताएका थिए तर नेपालले महाकालीबाट अहिलेसम्म कति कमायो, ओलीले जनतालाई यसको जवाफ दिएका छैनन् ।
२०५३ भदौ ४ गते सम्पन्न कांग्रेसको तीन दिनदेखि जारी केन्द्रीय समितिको बैठकले महाकाली सन्धिलाई पूर्ण र्समर्थन गरी अनुमोदन गर्ने निर्णय गरेको थियोे ।
देउवाले २०५२ माघ २० गते शनिबार आङ्खनो कार्यालय सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै भनेका थिए– ‘यो सन्धि भएकोमा म खुसी छु । मेरो प्रधानमन्त्रीत्वकालमा भारतसित यस्तो सन्धि भएकोमा म आफूलाई भाग्यशाली ठान्छु ।’
पुर्व प्रधानमन्त्री एवं कांग्रेसका तत्कालीन नेता स्व. गिरिजाप्रसाद कोइरालाले महाकाली सन्धि पारित भएबाट आफू सन्तुष्ट र खुसी भएको बताउँदै त्यसमा आङ्खनो पूर्ण र्समर्थन रहेको बताएका थिए । (०५२ माघ १७, ३१ जनवरी १९९६ को अभिव्यक्ति) ।
कांग्रेसका तत्कालीन सभापति कृष्णप्रसाद भट्टर्राईले माघ १८ गते जारी प्रेस वक्तव्यमा भनेका थिए(‘आर्श्चर्यजनक उपलब्धिहरूले भरिएको नयाँ सन्धिले देशरविदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई अल्हादित पारेको छ । यस सन्धिका लागि भारत सरकार र त्यहाँका सम्पूर्ण जनता पनि समानरूपले धन्यवादको पात्र रहेका छन् । आज खुसीका दिनहरूमा हामीले भारत सरकारको असीम उदारताबारे आङ्खनो कृतज्ञता ज्ञापन गर्नुपर्दछ ।’
राप्रपाका तत्कालीन अध्यक्ष (हाल राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष) सूर्यबहादुर थापाले सन्धिमा प्रारम्भिक हस्ताक्षर भएपछि माघ १७ गते त्यसलाई ‘ऐतिहासिक महत्व’ को विषय भन्दै भारतप्रति कृतज्ञता प्रकट गरेका थिए भने सन्धि अनुमोदनपछि ‘बहूत राम्रो’ भनेका थिए ।
तत्कालीन जलस्रोतमन्त्री एवं हाल राप्रपाका अध्यक्ष पशुपति शमशेर राणाले महाकाली सन्धि नभएको भए नेपालका सबै योजनाहरू धरासायी हुने बताउँदै सन्धि पारित हुनुलाई सन् १९५० यता आजसम्म भारतीय दृष्टिकोणमा आएको सबैभन्दा ठूलो परिवर्तन भनी भारतको चाकडी गर्दै भनेका थिए–‘भारतले आङ्खनो राष्ट्रिय स्वार्थलाई हेर्ने दृष्टिकोणमा समेत परिवर्तन ल्याएको छ ।’
तत्कालीन परराष्ट्रमन्त्री डा.प्रकाशचन्द्र लोहनीले माघ १७ गते परराष्ट्र मन्त्रालयमा अनौपचारिक पत्रकार सम्मेलन आयोजना गरी भनेका थिए–‘आपसी हित र समानताको सिद्धान्तलाई जलस्रोतको क्षेत्रमा पहिलोपटक मूर्तरूप दिइएको छ ।’
उक्त पत्रकार सम्मेलनमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री चिरञ्जीवी वाग्ले, जलस्रोतमन्त्री राणा, वाणिज्यमन्त्री फत्तेसिंह थारु पनि उपस्थित थिए ।
यसैगरी कांग्रेस, एमाले, राप्रपा, सद्भावना लगायतले सन्धिमा दुइ देशका परराष्ट्रमन्त्री वा प्रधानमन्त्री स्तरको हस्ताक्षर तथा सन्धि संसद्बाट अनुमोदन हुँदा बैठक नै बसी स्वागत गरेका थिए ।
(यो समाग्री विभिन्न लेख,पुस्तक र सीमाविद् ऋषिराज लुम्सालीद्वारा प्रकाशित पुस्तकको सहयोगमा तयार पारिएको हो ।)
प्रतिकृया दिनुहोस्
Loading...