“पौष्टिक आहार पाउन थालेपछि बिद्यार्थीको सङ्ख्यामा बृद्धि”

जाजरकोट, १५ असोज ।

यहाँका अधिकांश सामुदायिक विद्यालयमा पौष्टिक आहार पाउन थालेपछि विद्यार्थीको सङ्ख्यामा उल्लेखनीय बृद्धि भएको छ । 

पौष्टिक आहारकै कारण निजी विद्यालय छाडेर सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढेको हो । 

‘शिक्षाका लागि खाद्य कार्यक्रम’बाट जिल्लाका ३४ हजार बालबालिका लाभान्वित भएका छन् । 

शिक्षाका लागि खाद्य कार्यक्रम इकाइ जाजरकोटका अनुसार, यो कार्यक्रम अन्तर्गत जिल्लाका विभिन्न १८ गाविसका बाल विकास, प्रावि र निमाविमा पौष्टिक आहार उपलब्ध गराउँदै आएको छ । 

विद्यालयमा विद्यार्थीलाई नियमित उपस्थित गराउन ग्रामीण भेगका विद्यार्थीको खाजास्वरुप नेपाल सरकार र विश्व खाद्य कार्यक्रमको साझेदारीमा पौष्टिक आहार कार्यक्रम सञ्चालन भइरहेको छ । 

जाजरकोटका १८ गाविसमा आठ वटा वितरण केन्द्रमार्फत २३१ विद्यालयमा पौष्टिक आहार वितरण भइरहेको शिक्षाका लागि खाद्य इकाइ प्रमुख रविन्द्रमानसिहं भण्डारीले बताए । 

शिक्षाका लागि खाद्य कार्यक्रम लागू भएका विद्यालयमा विद्यार्थीको उपस्थिति अन्य विद्यालयभन्दा दोब्बर हुने गरेको छ । गत वर्षसम्म बाल विकास र प्राविमा मात्र दिइने पौष्टिक आहार गत जेठ महिनाबाट निमाविमा पनि सो कार्यक्रम लागू गरिएको छ । 

वालविकासतर्फ पाँच हजार ४४ विद्यार्थी, प्रावितर्फ १९ हजार २९६ र निमावितर्फ नौ हजार ६६० विधार्थी गरी कुल ३४ हजार बालबालिकाले शिक्षाका लागि पौष्टिक आहारबाट लाभान्वित भएको खाद्य इकाइ प्रमुख भण्डारीले जानकारी दिए । 

जिल्लाका १९ बालविकास, १६६ प्रावि र ४६ निमावि गरी २३१ विद्यालयमा शिक्षाका लागि खाद्य कार्यक्रम लागू भएको छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...