अदुवा बिक्री नहुँदा पाल्पाका किसान चिन्तित

पाल्पा, १५ असोज ।

भारतमा अदुवाको उत्पादन बढ्न थालेपछि पाल्पाका किसानको अदुवा बिक्री नहुँदा उनीहरु चिन्तामा परेका छन् । भारतीय बजारलाई लक्षित गरी अदुवा उत्पादन गर्दै आएका यहाँका किसान यसवर्ष अदुवा बिक्री गर्न नसकिएको बताउँछन् ।

गोठादीका किसान तेजबहादुर सारुले सात रोपनी क्षेत्रफलमा लगाएको अदुवा बिक्री गर्न नपाउँदा चिन्ता व्यक्त गर्नुहुन्छ । गतवर्ष भारतीय नाकाबन्दीले रु सात लाख भन्दा बढी नोक्सानी ब्यहोर्नु भएका सारुले यसवर्ष गाउँमा भारतीय व्यापारी अदुवा खरिद गर्न नआएको बताए। 

यहाँका किसानले दशैं पर्वलाई लक्षित गरेर अदुवा उत्पादन गर्दै आएकोमा यसवर्ष गाउँमा व्यापारी नआउँदा कसरी चाड मनाउने भन्ने चिन्ताले पिरोलेको किसान श्यामबहादुर दर्लामीले गुनासो गरे । 

जिल्लाको मुख्य नगदेबालीका रुपमा स्थापित अदुवा खेतीलाई विस्तारका क्रममा सरकारले एक गाउँ एक उत्पादन कार्यक्रम अन्तर्गत उद्योग वाणिज्य सङ्घ मार्फत अदुवाखेतीका लागि प्रवद्र्धन गरिएको छ ।

दुई नगरपालिकाबाहेक ६० गाविसका दश हजार भन्दा बढी घरपरिवार प्रत्यक्ष रुपमा अदुवाखेतीमा संलग्न भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । 

भैरवस्थान, पालुङ, मैनादी, फेक, ठिमुरे, खानीगाउँ, बराङ्दी गाविसलाई पकेटक्षेत्रको रुपमा विकास गरिएको छ । 

कोलडाँडा सत्यवतीका किसान देवबहादुर चिदीले पनि गतवर्ष ठूलो नोक्सान बेहोरे पनि यसवर्ष दश रोपनी क्षेत्रफलमा अदुवाको उत्पादन राम्रो भएको बताए। 

उत्पादित अदुवा बुटवल बजारमा ८० रुपैयाँदेखि १०० रुपैँया प्रतिकेजीका दरले बिक्री हुने गरेको छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...