मानव अङ्ग प्रत्यारोपण केन्द्रमा मुटु रोग उपचार सेवा सुरु

भक्तपुर, २ कात्तिक ।

मिर्गौलाको उपचार एवम् प्रत्यारोपण गर्दै आएको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा आजदेखि मुटु रोग उपचार सेवा सुरु भएको छ । 

केन्द्रले पाँच वर्षभित्र मुटु प्रत्यारोपण गर्ने लक्ष्यका साथ मुटु उपचार सेवा सञ्चालनमा ल्याइएको आज पत्रकारलाई जानकारी दिएको छ ।

केन्द्रका प्रमुख डा पुकारचन्द्र श्रेष्ठले मुटुको कुनै पनि उपचारका लागि अब भक्तपुर र भक्तपुरपूर्वका जिल्लाका बिरामीले गङ्गालाल हृदयरोग केन्द्र, मनमोहन मेमोरियल अस्पताल वा शिक्षण अस्पताल जानुपर्ने अवस्थाको अन्त्य भएको जिकिर गरे । 

उनले भने– “यसले बढ्दो बिरामीको चापलाई केही हदसम्म कम गर्छ, मुटुको जाँचदेखि शल्यक्रियासम्मका लागि अब बिरामीले अन्यत्र भौँतारिनु पर्दैन ।” 

सो अवसरमा डा सुवर्ण तुलाधारले सरकारको रु सात करोडको अनुदानमा क्याथ ल्याब(मुटुसम्बन्धी एक प्रयोगशाला) एवम् करिब रु १२ करोडको लागतमा आवश्यक उपकरण ल्याएर सेवा सुरु गरिएको जानकारी दिए ।

उनले भने “सर्जरी, कार्डियोलोजी, एनेस्थेसिया लगायतका मुटुरोग विशेषज्ञ टोली आजदेखि खटिएको छ, आवश्यक जनशक्ति, प्रविधि सबै तयारी गरेरै सेवा सञ्चालन भएको हो ।” 

बेलायतमा मुटु र फोक्सो दुवै रोगमा एमडी गरेर उतैको अनुभव भएका चिकित्सक टोलीसहित डा तुलाधरसँगै डा कार्तिकेश ठाकुर, डा मोहनदेव भण्डारी, डा सन्दीप भण्डारी, डा प्रेमराज वैद्य लगायत छन् । 

डा ठाकुरले मुटु र कलेजोको प्रत्यारोपण गर्ने लक्ष्य रहेको प्रत्यारोपण केन्द्रमा मुटु रोगको जाँचका लागि आवश्यक पर्ने इको, इसिजी, टिएमटी, ल्याब सेवा सञ्चालनमा आएको र मुटुको शल्यक्रिया भने यसै महिनाको अन्तिम सातादेखि सुरु हुने जानकारी दिए । 

केन्द्रले मुटु रोग उपचार सुरु गरेका अवसरमा केन्द्रमा बुधबार निःशुल्क मुटुरोग परीक्षण शिविर गर्ने भएको छ । शिविरमा आउने बिरामीलाई इसिजी, इको, ल्याब लगायत सेवामा ५० प्रतिशत छुट दिइने बताइएको छ ।

, , , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...