तिहारमा बैतडीमा प्याराग्लाइडिङ हुने
बैतडी, ७ कात्तिक ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सुदूरपश्चिमकै पहिलो प्याराग्लाइडिङ बैतडीको पाटनमा हुने भएको छ । प्याराग्लाइडिङका लागि प्राविधिक टोलीले उपयुक्त ठहर गरेपछि कात्तिकको तेस्रो सातामा मध्यपहाडी लोकमार्गको पश्चिमी सहर बैतडीको पाटनमा सुरु हुने भएको हो ।
यसअघि सुदूरपश्चिमेलीको मुख्य पर्व गौरालाई लक्षित गर्दै भदौ महिनाको पहिलो हप्तादेखि प्याराग्लाइडिङ सञ्चालनमा आउने भनिएको भए पनि प्राविधिक कारणले सञ्चालनमा आउन नसकेको बताइएको छ ।
भारतको हिमाञ्चलका धरम चन्दको नेतृत्वमा आएको एक प्राविधिक टोलीले सन् २०११ देखि सुदूरपश्चिमका विभिन्न स्थानमा प्याराग्लाइडिङ सम्भावनाबारे अध्ययन गरेको थियो । अध्ययनपश्चात् टोलीले बैतडीको पाटनमा उपयुक्त ठहर गरेको हो ।
प्राविधिक टोलीले पाटनको चार ठाउँबाट प्याराग्लाइडिङका लागि उपयुक्त भएको ठहर गरेको छ ।
पाटन नगरपालिका–१२ दहडाँडा, २ को जरौलीडाडा, १३ को अन्नाडीडाँडा र वडा नं ११ को हुरहुरे डाँडाबाट प्याराग्लाइडिङ गर्न सकिने देखिएको टोलीले ठहर गरेको हो ।
सुरुमा डडेल्धुराबाट प्याराग्लाइडिङका लागि परीक्षण गरिए पनि हावाको एकोहोरो बहावका कारण सम्भव नदेखिएको प्रविधिक टोलीका सदस्य श्यामराज भट्टले राससलाई जानकारी दिए।
त्यस्तै पाटन नगरपालिका–१३ को भिटास्थित पोखरी नजिकमा कटेज खोल्ने तयारी गरिएको छ । कटेज स्थापनापश्चात् स्थानीय परिकार राखिने बताइएको छ । सुदूरपश्चिमका स्थानीय परिकारमा खीर, माणा, फाणो, बटुको, डुपका, मकैको रोटीलगायत राखिने भएका छन् ।
पाटनभन्दा करिब आठ किलोमिटर पश्चिममा रहेको नेपालकै गहिरो गुफा पतालभुमेश्वर को प्रवद्र्धन र प्याराग्लाइडिङलाई व्यावसायिकीकरण गर्न संस्थागत रुपमै प्रयास गर्ने केन्द्रका अध्यक्ष तथा पाटनका स्थानीय युवा पुष्कर भण्डारीले बताए ।
भारतीय सहर दिल्ली, लखनऊ, नैनीताललगायत ठाउँमा घुम्न आउने पर्यटकलाई बैतडीमा भित्र्याउने लक्ष्य राखिएको छ ।
पर्यटक भित्र्याउन भारतका विभिन्न ठाउँमा रहेका प्याराग्लाइडिङ व्यवसायीसँग समन्वय गरिने बताइएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...