भारतीय बालगृहमा छट्पटाउँदै ३२ नेपाली बालक

काठमाडौँ ६ कात्तिक ।

भारत बिहार राज्यस्थित मुजफ्फरपुरको एक बालगृहमा पुर्‍याइएका ३२ जना नेपाली बालकले आफूहरूलाई घर फिर्ता गरिदिन आग्रह गरेका छन् । घरबाट भागेर र आफन्तको प्रलोभनमा भारत पुगेका पाँचदेखि १५ वर्षका बालकलाई त्यहाँको बालगृहमा राखिएको छ ।

आफन्तले मजदुरीका लागि लगेका नेपाली बालकलाई भारतको मुजफ्फरपुर जिल्लाको सिकन्दरपुरस्थित निर्देश नामको बालगृहमा राखिएको छ । विभिन्न होटेल र कारखानामा मजदुरी गर्दै आएका ती बाल श्रमिकलाई प्रहरीले संरक्षणका लागि बालगृहमा बुझाएको थियो ।

घरको ठेगाना बताउन नसक्ने उनीहरू अभिभावक पनि सम्पर्कमा नआएपछि बालगृहमै बस्न बाध्य छन् । तीन महिनासम्म उक्त बालगृहमा रहेका दैलेखका तीनजना बालकको भने उनीहरूका आफन्तद्वारा उद्धार गरिएपछि ३२ जनाको अवस्था सार्वजनिक भएको हो ।

आफन्तबाट ललाइफकाई भारत पुर्‍याइएका दैलेख दुल्लुका १४ वर्षीय सुन्दर वन, १५ वर्षीय सुरत गिरी र १५ वर्षीय टीकाराम पुरीलाई एक गैरसरकारी संस्थाको सहयोगमा उद्धार गरिएको हो । उनीहरूलाई शुक्रबार घर ल्याइएको छ । उनीहरूसँगै थुनिएका ३२ नेपाली बालक भने अहिले पनि बालगृहमै छन् ।

दैलेख, बाँके, पर्सासहित देशका विभिन्न जिल्लाका बालक बालगृहमा छट्पटाइरहेको र उनीहरूको उद्धारका लागि आवश्यक कागजात नहुँदा समस्या भएको छ ।

दैलेखका बालकको भारतबाट उद्धार गरी फर्किएका सामाजिक सेवा केन्द्र ९सोसेक० का संस्थापक अध्यक्ष हीरासिंह थापाले भने, ‘अहिले पनि त्यो बालगृहमा ३२ नेपाली बालक बन्धक छन् । उनीहरू घर फिर्तीका लागि हारगुहार गरिरहेका थिए । आवश्यक कागजात नहुँदा हामीले उद्धार गर्न सकेनौं ।

वीरगन्ज घर बताउने पाँच वर्षका एक बालकले आफूलाई हास्यकलाकार दीपकराज गिरीको भतिजका रूपमा चिनाउँदै घर फिर्तीका लागि हारगुहार गरेको थापाले बताए ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...