फरार अपराधी नौ वर्षपछि पक्राउ
म्याग्दी, ५ कात्तिक ।
चोरी मुद्दामा अदालतवाट दोषि ठहर भई फरार रहेका एक जनालाई प्रहरीले नौ बर्षपछि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शिख– ८ का ४२ वर्षीय कमलबहादुर खड्का रहेको छ । खड्कालाई बिहीबार म्याग्दी जिल्ला अदालतमा बुझाएको प्रहरी नायब उपरीक्षक विश्वराज खड्काले बताएका छन् ।
पुनरावेदन अदालत बागलुङले २०६४ साउन २९ गते खड्कालाई पाँचवर्ष ९ महिना २८ दिन कैद सजाय र रु ३९ हजार नगद जरिवाना तिराउने फैसला गरेको थियो । अदालतबाट दोषी ठहर भएका खड्का प्रहरीको फरार सूचीमा थिए ।
यसैगरी सार्वजनिक अपराध मुद्दामा फरार रहेका कुइनेमङ्गले– ४ का २३ वर्षीय यामबहादुर गर्बुजालाई पनि प्रहरीले बिहीबार पक्राउ गरी अदालत बुझाएको प्रनाउ खड्काले जानकारी दिए ।
अदालतले गरेको फैसलाअनुसार गर्बुजाबाट रु पाँच हजार जरिवाना असुल उपर गर्न बाँकी थियो ।
अदालतले गरेका फैसला कार्यान्वयनका लागि प्रहरीले फरार रहेकाहरुको खोजी कार्यलाई तीव्रता दिएको छ । गत साउनयता अदालतवाट दोषी ठहर भएका दशजनालाई पक्राउ गरी अदालतमा बुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
म्याग्दी जिल्ला अदालतबाट विभिन्न समयमा भएको फैसला अनुसार गत आर्थिक वर्षसम्ममा आठ सय पाँच वर्ष १० महिना २० दिन कैद र रु ६७ लाख ६५ हजार २७५ जरिवाना असुल उपर गर्न बाँकी रहेको थियो ।
गत आर्थिक वर्षमा १५ वर्ष छ महिना २२ दिन कैद र रु चार लाख ४१ हजार ४६७ जरिवाना असुल भएकोे म्याग्दी जिल्ला अदालतले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...