कोजाग्रत पूर्णिमामा पनि बागमती सफाइ

काठमाडौँ, २९ असोज ।

दसैँको कोजाग्रत पूर्णिमाका दिन पनि बागमती सफाइलाई निरन्तरता दिइएको छ । बागमती सफाइको १७९ औँ हप्तामा आज पशुपति मन्दिर परिसरमा सफाइ गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

नेपाल प्रहरीको नेतृत्वमा पशुपति मन्दिरक्षेत्र र नेपाली सेना एवम् सशस्त्र प्रहरीको नेतृत्वमा आर्यघाटमुनिको बागमतीमा सफाइ गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति सञ्चालक समिति सदस्य नारायण श्रेष्ठले बताए । 

तरकारी बजार वरपर फोहर गर्नेलाई कारबाही गरिएकाले कुलेश्वर तरकारी बजार सफा बनेको छ । महाअभियानमा सहभागी भएको समूहले बजार अनुगमनबाट दसैँभर रु डेढ लाख कारबाही स्वरुप उठाएको उनले जानकारी दिए । 

सफाइमा पूर्व मुख्यसचिव लीलामणि पौडेल, चीनका लागि पूर्व नेपाली राजदूत महेश मास्के, नेपाल विज्ञापन सङ्घका अध्यक्ष सन्तोष श्रेष्ठ, पूर्व अध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजकुमार भट्टराई लगायतको सक्रियता थियो । 

सफाइमा तिलगङ्गा महिला समूह, उप्रेती समाजलगायतका सङ्घ संस्थाको सहभागिता थियो ।

“आर्यघाटमुनिको पशुपति क्षेत्र वरपर कम फोहर भएकाले पनि दुई मेट्रिक टनमात्र फोहर व्यवस्थापन गरियो”–सदस्य श्रेष्ठले भने । 

रुद्रमती सफाइको १३७ औँ हप्तामा आज सिफलदेखि भत्केको पुलसम्म सफाइ गरियो । नख्खुखोला सफाइ सरोकार समाजले ६३ औँ हप्तामा आज भैँसेपाटीमा सफाइ गरेको छ ।

गुह्येश्वरीमाथिको बागमतीमा राम्रो जोरपाटी, हाम्रो जोरपाटी, पुडासैनी मैत्री समाज र माकालबारी टोल सुधार समितिले सफाइ गरेका छन् ।








,

प्रतिकृया दिनुहोस्

Loading...