तीन दल मिल्नुको विकल्प छैनः मन्त्री भण्डारी

भक्तपुर, २९ असोज ।

वन तथा भू–संरक्षण मन्त्री शङ्कर भण्डारीले ठूला तीन दल मिलेर सहमति र सहकार्यका साथ अगाडि नबढे देश गम्भीर सङ्कटमा पर्ने बताए । 

शुभकामना बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारण सभा एवम् संयुक्त क्षेत्रीय भेलामा उहाँले संविधान कार्यान्वयनमा तीन दल मिलेर अगाडि बढ्नुको विकल्प नरहेको बताए। 

“संविधान जारी गर्ने मुख्य ठूला तीन दलबीच सहमति र सहकार्य गर्दै अगाडि नबढे संविधान कार्यान्वयन हुनसक्दैन”–उनले भने–“राजनीतिक दलका नेताले आफ्नो स्वार्थ त्यागेर मुख्य तीन दल मिलेर सहकार्य र सहमतिका साथ अगाडि बढ्नुपर्छ, अन्यथा जनआन्दोलनबाट पाएको सबै उपलब्धि गुमेर देशको दुर्गति हुन्छ ।” 

मन्त्री भण्डारीले विदेशी षड्यन्त्र र दलका नेताको कमी कमजोरीका कारण देश सङ्कटमा परेको बताउँदै मधेसवादी दललाई सहमतिमा ल्याउन सरकारले गरेको प्रयास सफल पार्न एमालेको सहयोग आवश्यक रहेको छ भने । 

मधेसवादी दलको मागलाई सम्बोधन गर्न काँग्रेस, एमाले र (माओवादी केन्द्र) तीनै दल मिलेर संविधान संशोधन गर्नुपर्ने बताउँदै उनले भने–“यो संविधान संशोधनको दस्तावेज हो, यसलाई संशोधन गर्दै लैजानुपर्छ, राष्ट्रियता र देशको अखण्डतालाई आँच नआउने गरी संविधान संशोधन गर्नुपर्छ, यसमा एमालेको सहयोग चाहिन्छ ।” 

मन्त्री भण्डारीले २०७४ माघ ७ गतेसम्म मात्र वर्तमान सरकारको वैधानिकता रहेको चर्चा गर्दै त्यो मितिसम्म तीनवटै निर्वाचन गर्ने जिम्मेवारी सरकारले पूरा गर्न नसके देश सङ्कटमा पर्ने धारणा राखे । 

कार्यक्रममा संस्थामा आवद्ध ज्येष्ठ नागरिक, एसएलसी र ‘प्लस टु’ उतीर्ण विद्यार्थीलाई सम्मान गरिएको थियो ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...