मुक्तिनाथमा दैनिक चार हजार धार्मिक पर्यटक

मुस्ताङ, २९ असोज ।

मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा धार्मिक पर्यटकको भीड लागेको छ ।

मुक्तिनाथ मन्दिरको दर्शन र १०८ धारामा स्नान गर्न देशका विभिन्न भागबाट भक्तजन मुक्तिनाथ पुगेका हुन् । दसैँंको बिदा मनाउन मुस्ताङ घुम्न आउने अधिकांश आन्तरिक पर्यटक मुक्तिनाथ पुग्ने गरेका छन् । 

दशमीको भोलिपल्टबाट मुक्तिनाथमा दैनिक चार हजार भन्दा बढी धार्मिक पर्यटक आउने गरेको मन्दिरका मूख्य पुजारी कृष्णप्रसाद सुवेदीले जानकारी दिए। 

मुक्तिनाथमा हिन्दू र बौद्ध दुबै धर्मालम्बीका भक्तजन दर्शनका लागि आउने गरेको मुख्य पुजारी सुवेदीको भनाइ छ । 

“सोह्रश्राद्धको समय भन्दा अहिले भीड छ, बिहानैदेखि यहाँ पुजापाठ र स्नान गर्नेको भीड हुन्छ”, उनले भने, “बाटोकै कारण अझै मान्छेहरु आउनसकेका छैनन् ।” 

सरकारले कागबेनी– मुक्तिनाथको १२ किलोमिटर सडकलाई कालोपत्रे बनाउने काम सुरु गरेपनि त्यसले पूर्णता पाउन सकेको छैन । “यहाँसम्म सडकको सहज पहुँचभयो भने धार्मिक पर्यटकको सङ्ख्या बढ्नेमा कुनै शंङ्का छैन”, उनले भने ।

खासगरी दसैँदेखि तिहारसम्म मुक्तिनाथमा धार्मिक पर्यटक ओइरिन थालेको हो । मुक्तिनाथमा दर्शन, पूजापाठ र स्नान गरेमा भित्री मनोकांक्षा पूरा हुने जनविश्वास छ ।

मुक्तिनाथ आउने धार्मिक पर्यटकका कारण कागबेनी, मुक्तिनाथ र जोमसोमका होटल भरिभराउ भएको मुक्तिनाथका होटल व्यवसायी सुरज गुरुङले बताए । 

“हामीले सोचेको भन्दा बढी धार्मिक पर्यटक आएका छन्, होटलमा बास नपाएर मान्छे धर्मशालातिर बस्न बाध्य छन्”, उनले भने, “दैनिक चार हजार धार्मिक पर्यटक आउने गरेको अनुमान छ ।” अनुकूल मौसमका कारण पनि वातावरण पर्यटकका लागि सहज भएको उनको भनाइ छ ।

, , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...