श्रमजीवी पत्रकार ऐन व्यवहारमा लागू गर्न चुनौतीपूर्ण : अध्यक्ष केसी
कञ्चनपुर, ७ कात्तिक ।
श्रमजीवी पत्रकारसम्बन्धी ऐन कार्यान्वयनको चरणमा पुगे पनि व्यवहारमा लागू गर्न चुनौतीपूर्ण रहेको न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष पोषण केसीले बताए ।
शनिबार कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा आयोजित श्रमजीवी पत्रकार ऐन कार्यान्वयनको अवस्थाबारे आयोजित अन्तरक्रिया कार्यक्रममा पत्रकारिता क्षेत्र चुनौतीपूर्ण रहेकाले पत्रकारले व्यावसायिक र दक्ष बन्नुपर्नेमा उनले जोड दिए ।
सामाजिक र राजनीतिक अधिकार स्थापित गर्न सञ्चारजगत्को ठूलो योगदान रहेको चर्चा गर्दै उनले पत्रकारको पेसागत मुद्दा अझैसम्म हल हुन नसकेको धारणा व्यक्त गरे ।
समानुपातिक विज्ञापन प्रणाली लागू गर्नमा जोड दिइएको बताउदै उनले मोफसलका सञ्चारमाध्यमले विज्ञापन पाउनुपर्ने उल्लेख गरे । कार्यक्रममा न्यूनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष खेम भण्डारीले श्रमजीवी पत्रकारको पारिश्रमिक निर्धारणको कार्य ऐनमा वैज्ञानिक तरिकाले गरिएको बताए ।
बजारमा दक्ष पत्रकारको ठूलो माग गरेको उल्लेख गर्दै उनले दक्ष पत्रकार भए मात्रै माग अनुसारको तलब पाइने धारणा राखे ।
नेपाल पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष तथा राष्ट्रिय समाचार समिति सञ्चालक समितिका सदस्य गङ्गाधर पराजुलीले श्रमजीवी पत्रकारका देशभर एउटै खाले समस्या रहेकाले पेसालाई मर्यादित र व्यावसायिक बनाउनका लागि दक्षता हासिल हुनुपर्ने बताए।
उनले बजारमा क्षमतावान् मात्रै बिक्न सक्ने भएकाले पत्रकारको सबै क्षेत्रमा दखल हुनुपर्ने विचार राखे । नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आर्चायले पत्रकारले न्यूनतम पारिश्रमिक पाउनुपर्नेमा जोड दिए ।
नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष कर्णदेव भट्टले स्थानीय र राष्ट्रिय मिडियालाई एउटै तराजुमा राखेर जोख्नु नहुने बताए । कार्यक्रममा सहभागी पत्रकारले न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष केसीसमक्ष आफ्ना गुनासो र समस्या राखेका थिए ।
प्रतिकृया दिनुहोस्
Loading...