अज्ञात समूहद्धारा रुपन्देहीमा सुत्केरीको हत्या
- बुटवल, १३ कात्तिक ।
रुपन्देहीको ग्रामीण क्षेत्र देवदहमा अज्ञात समूहले एक सुत्केरीको हत्या गरेको छ । सुतेकी महिलाको हत्यामा लुटेरा समूह संलग्न रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको छ ।
सोही अनुसार अनुसन्धानकार्यलाई प्रहरीले अगाडि बढाएको छ । जिल्लाको देवदह नगरपालिका– २ ढेगार, हजरीटोलकी करिब २४ वर्षीया नमकला पाण्डेको गत बिहीबार राति घरमा सुतिरहेको अवस्थामा हत्या भएको थियो ।
दुई महिनाकी सुत्केरीसमेत रहेकी पाण्डेको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा शुक्रबार बिहान मृत्यु भएको हो ।
लुटपाटमा आएको समूहले उनको हत्या गरेको हुनसक्ने भन्दै प्रहरीले थप अनुसन्धानकार्यलाई अगाडि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मुकुन्द मरासिनीले जानकारी दिए ।
प्रहरीका अनुसार लुटेराको समूहले निज महिलाले शरीरमा लगाएका करिब पाँच तोला बराबरका विभिन्न गहनासमेत लुटेर लगेकाले सोही अनुसार अनुसन्धान भइरहेको डिएसपी मरासिनीले बताए ।
उनले घटनाको थप अनुसन्धानका लागि क्षेत्रीय प्रहरी कार्यालय पोखराबाट अनुसन्धानको प्राविधिक टोलीसमेत मगाइएको र छिट्टैनै अनुसन्धानमा सफलता मिल्ने दाबी गरे ।
मृतक पाण्डेका पति लामो समयदेखि वैदेशिक रोजगारीमा रहदै आएका छन् । राति कोठामा एक्लै सुतिरहेको अवस्थामा ढोका फोरेर हत्या गरी लुटपाट गरिएको थियो ।
घरमा अर्को कोठामा सुतिरहेका परिवारले बिहान करिब ३.३० बजे मात्र अत्याधिक रगत बगेको देखेर थाहा पाएका थिए । गम्भीर अवस्थामा रहेकी उनलाई उपचारार्थ अस्पताल पु¥याउँदा मृत्यु भएको बताइएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...