किशोरीलाई पटक–पटक बलात्कार गर्ने किशोरीको बुबा, मामा र गाउँले दाजुलाई जेल सजाय


  • उदयपुर, ११ कात्तिक । 
बेल्टार बसाहा नगरपालिका बसाहाकी एक १३ वर्षीया किशोरीलाई पटक–पटक बलात्कार गर्ने किशोरीको बुबा, मामा र गाउँले दाजुलाई जिल्ला अदालत उदयपुरले जेल सजायको फैसला गरेको छ । 

जिल्ला अदालत उदयपुरका न्यायाधीश राजकुमार कोइरालाको एकल इजालासले किशोरी बलात्कार गर्नेहरुविरुद्ध हालै जेलसजाय र आर्थिक जरिवानाको फैसला गरेको अदालतका स्रेस्तेदार रितबहादुर मगरले बताए । अदालतको फैसलाअनुसार किशोरी बलात्कार गर्ने बुबालाई २२ वर्ष जेल सजाय र रु ५० हजार आर्थिक जरिवाना तोकिएको अदालतले जनाएको छ । 

यस्तै किशोरीको मामालाई ११ वर्ष जेल सजाय र रु १० हजार जरिवाना तथा दाजुलाई आठ वर्ष कैद र रु १० हजार जरिबानासहितको फैसला भएको छ । 

किशोरीको आमा डेढ वर्षअघि वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएपछि बुबाले उनलाई छ महिनादेखि करणी गर्दै आएका थिए । आफ्नो बुबाले करणी गरेपछि किशोरी भागेर मावली गएकामा त्यहाँ पनि मामाले पटक–पटक बलात्कार गरेका थिए । 

मामाबाट बच्न भागेर फेरि गाउँमा आएर आफन्त दाजुको शरण लिएकी उनलाई दाजुले पनि पटक–पटक बलात्कार गरेका थिए । पीडित किशोरीले यसबारेमा साथीहरुलाई भनेपछि साथीका अभिभावकको निवेदनमा प्रहरीले बलात्कारीलाई गत वैशाख १७ गते पक्राउ गरेर मुद्दा चलाएको थियो । जिल्ला अदालत उदयपुरमा उक्त घटनासम्बन्धी मुद्दा चलेको सात महिनापछि अदालतले यस्तो फैसला गरेको हो |

,

प्रतिकृया दिनुहोस्

Loading...