अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष र उपाध्यक्ष पदको निर्वाचन आज
- काठमाडौँ, ८ कात्तिक ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को अध्यक्ष र उपाध्यक्ष पदको निर्वाचन आज (सोमबार) हुँदैछ । निर्वाचन बबरमहलस्थित कार्की ब्यान्केटमा अहिले विहान सुरू हुँदैछ ।
आगामी एक वर्षे कार्यकालका लागि सोमबार हुने निर्वाचनमा अध्यक्ष पदका लागि वर्तमान कार्यवाहक अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र वर्तमान उपाध्यक्ष कर्मा्छिरिङ शेर्पा भिड्दैछन् । त्यस्तै उपाध्यक्षका लागि दीपक खाती, मणि कुँवर र उपेन्द्रमान सिंहको उमेदवारी परेको छ ।
निर्वाचनमा बहुमत मत ल्याउने उमेदवार निर्वाचित हुनेछन् । विजयी हुनेले ३४ मत प्राप्त गर्नुपर्नेछ । एन्फाको अध्यक्ष तथा उपाध्यक्ष पदको लागि ६७ प्रतिनिधिले मतदान गर्नेछन् । जसमा ४४ जिल्ला फुटबल संघ, १२ ए डिभिजन क्लब, ४ बी डिभिजन क्लब, ३ सी डिभिजन क्लब तथा खेलाडी, प्रशिक्षक, रेफ्री र महिला समितिबाट समान एक/एक प्रतिनिधिले मतदान गर्नेछन् ।
एन्फाको निर्वाचनका लागि ६९ प्रतिनिधिले मतदान गर्न पाउने भए पनि एक क्लब र एक जिल्ला संघले मत दिन पाउने छैनन् । झापा जिल्ला फुटबल संघले ढिला प्रतिनिधि पठाएको र बि डिभिजन क्लब श्री कुमारी प्रतिबन्धमा परेको कारण सोमबार हुने निर्वाचनमा उनीहरुका प्रतिनिधिले मतदान गर्न पाउने छैनन् ।
निर्वाचन पदाधिकारीको समयावधी एक वर्षका लागि हुनेछ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले तत्कालीन अध्यक्ष गणेश थापालाई भ्रष्टाचारको आरोपमा कारबाही गरेपछि एन्फाको अध्यक्ष पदका लागि नयाँ निर्वाचन हुन लागेको हो ।
फिफाको ‘इथिक्स कमिटी’ले भ्रष्टाचार अभियोगमा गतवर्षको कात्तिकमा अध्यक्ष थापालाई फुटबलका सबै गतिविधिबाट १० वर्षको प्रतिबन्ध र करिब २१ लाख रुपैयाँ जरिवाना तोकेको थियो । त्यस्तै एन्फाको वरिष्ठ उपाध्यक्ष ललितकृष्ण श्रेष्ठको निधन भएपछि यी दुई पद चयनका लागि निर्वाचन हुन लागेको हो ।
निर्वाचनका लागि विश्व फुटबल महासंघ (फिफा) र एसिया फुटबल महासंघ (एएफसी)का प्रतिनिधि पनि नेपाल आइपुगेका छन् । फिफाबाट प्रतिनिधि भएर लुका निकोला, एएफसीबाट एफसीका निर्देशक तथा अन्तर्राष्ट्रिय सदस्य राष्ट्र सम्बन्धका सदस्य रविकुमार र एएफसीकै पुरुषोत्तम कट्टेल नेपाल आएका हुन् ।
प्रतिकृया दिनुहोस्
Loading...