गाेवामा चिनियाँ मिडियाकर्मी र भारतीय सुरक्षाकर्मीबीच झडप

गोवा, ३० असोज ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच शनिबार छलफल भएको ताज एक्जोटिका होटलबाहिर चिनियाँ मिडियाकर्मी र भारतीय सुरक्षाकर्मीबीच झडप भएको छ ।

हिन्दुस्तान टाइम्सका अनुसार भारतीय सुरक्षाकर्मीले चिनियाँ मिडियाका प्रतिनिधिहरुलाई दुई नेता भेट हुने हलमा प्रवेश गर्न नदिएपछि झडप भएको थियो ।

यस विषयमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले भने ‘आफू ठोस विषयहरुमा मात्र प्रतिक्रिया दिने’ जवाफ दिएका थिए ।

यसैबीच शनिबार भारतीय प्रधानमन्त्री मोदी र चिनियाँ राष्ट्रपति सिबीच भएको छलफलमा आतंकवादको विषयले प्राथमिकता पाएको छ । भेटपछि मोदीले ट्वीट गर्दै ‘छलफल फलदायी भएको’ बताएका छन् ।

प्रवक्ता स्वरुपले छलफलबारे जानकारी दिँदै आतंकवादको विषयमा छलफल भएको र दुवै देश यसविरुद्ध लड्न सहकार्य गरेर अघि बढ्न सहमत भएको बताए ।

‘प्रधानमन्त्री मोदीले चिनियाँ राष्ट्रपतिलाई दुवै देश आतंकवादको शिकार बनेको र यसले पूरा क्षेत्रमा समस्या खडा गर्न सक्ने बताए,’ स्वरुपले भने । उनका अनुसार चिनियाँ राष्ट्रपतिले पनि दुवै देशले सुरक्षामा सहकार्यलाई सशक्त बनाउनु पर्नेमा जोड दिए ।

दुवै देशका नेताबीच न्युक्लियर सप्लायर्स ग्रुपमा भारतको सदस्यता र जैश ए मोहम्मदका मसुद अजहरमाथि संयुक्त राष्ट्रसंघमा प्रतिबन्ध लगाउने विषयमा पनि छलफल भएको थियो ।

भेटका बावजुद भारतलाई न्युक्लियर सप्लायर्स ग्रुपको सदस्यता दिने बारे चीनले आफ्नो पूरानो नीतिलाई परिवर्तन गरेको छैन । 

त्यस्तै जैश ए मोहम्मदका मसुद अजहरमाथि संयुक्त राष्ट्रसंघमा प्रतिबन्ध लगाउने विषयमा पनि चीनको पूरानै अडान कायम रहेको छ । चीनले यी दुवै मुद्दामा विरोध गर्दै आएको छ ।

चीनको विदेश विभागका प्रवक्ता गेंङ्ग शुआङले भने, ‘भारत र चीन साथ मिलेर काम गर्छ । तर, केही मतभेद पनि छन् । एनएसीमा सदस्यता र अजहर बारे बेइजिङको अडान यथावत छ ।’

, , , , ,

प्रतिकृया दिनुहोस्

Loading...