प्रेमप्रस्ताव राखेको, मिसले जस्तो क्लास दिइन् कुञ्जनाले : सीताराम

काठमाडौं,  १४ मंसिर ।

सीताराम कट्टेल धुर्मुस र कुञ्जना घिमिरे आज मंगलबार आठौँ वैवाहिक वर्षगाँठ बनाउँदैछन् । उनीहरुको जोडी अहिले नेता, राजनेताको जोडी भन्दा पनि बढी चर्चामा छ ।

  कुनै नेता र नेतृले गर्न नसकेको काम उनीहरुले गरेर देखाएका छन् । दुखेका मनहरुलाई खुसी दिएर उनीहरुले आर्शिवाद र माया बटुलेका छन् । हरेक काममा एक अर्काको साथ र सहयोग दिने र लिने यो जोडी कसरी बन्यो होला ? कतिको लागि कौतुहलताको विषय हुन सक्छ ।

टेलिफिल्ममा अभिनय गर्दागर्दै उनीहरुको प्रेम जीवन सुरु भई झाङ्गीएको हो । र प्रेममा बिताएको केही वर्षपछि विवाह बन्धनमा बाँधिएका हुन् । अभिनयका क्रममा भेट भएका यी कलाकारले सुरुमा एकअर्काका आनीबानी मन पराएका थिए । बानी मन परिसकेकपछि मान्छे पनि मन पर्न थाल्यो प्रेममा परे र विवाह गरे ।
कुञ्जना र सीतारामको पहिले भेट

सीतारामले सुरुमा दमन रुपाखेतीको हाँस्य टेलिश्रृङखलामा व्यवस्थापक भएर काम गर्ने मौका पाएका थिए । यहि टेलिश्रृंखलाले नै उनको भेट कुञ्जनासँग गराइदियो । कुञ्जना र उनको पहिलो भेट सुटिङकै क्रममा मैतिदेवीमा भएको थियो । युवा भइसक्दा पनि केटीहरुसँग खुलेर बोल्ने आँट सीताराममा थिएन । खासमा सीताराम केटीको मामलामा एकदमै टाढा रहने र लजालु स्वभावका थिए । त्यस कारण पहिलो पटक कुञ्जना नै बोलेकी थिइन् । पहिलो पटक सीतारामले कुञ्जनालाई सुन्तली मेकअप गर्दै गर्दा देखेका थिए । त्यसपछि उनीहरुको भेट रेडियो नेपालको कार्यक्रम दिनप्रतिदिनका क्रममा पनि हुन थाल्यो ।

पछि टेलिफिल्म मेरी बास्सै गर्ने निधो भएसंगै उनीहरुको भेट पनि बाक्लिँदै गयो । सुटिङको सुरुवाती दिनमा उनीहरुको सेटमा अलीअली बोलचाल हुन्थ्यो ।
भेट बाक्लिँदै गएपछि

सिरियलमा काम गर्दागर्दै उनीहरु स्टेज कार्यक्रमहरुमा पनि हिँड्न थाले । यहि क्रममा उनीहरु एकपटक धुर्मुसको जन्मथलो झापा पुगेका थिए । झापा पुगेर धुर्मुसको परिवारलाई नजिकबाट चिनेकी कुञ्जना सीतारामसँग पनि झनै नजिक हुन थालिन् ।

सीतारामको घरको आर्थिक अवस्था कमजोर भएको थाहा पाएकी कुञ्जनाले सीतारामको परिवारलाई लागेको ऋण तिर्न त्यस बखतनै सघाएकी थिइन् । कुञ्जनाले आफ्नो परिवारको लागि गरेको सहयोग देखेर सीताराम कुञ्जनातिर आकर्षित भएका थिए । कुञ्जनाको सहयोगी बानी र सफा मनमा सीताराम बास बस्न खोजेका थिए ।

एकसाथ सिरियल र स्टेजमा काम गर्ने उनीहरुलार्इ धेरैले वास्तविक जीवनकै साथी बन्न सुझाव दिन्थे । उनीहरु त्यस बखत ती कुराहरुलार्इ सामान्य रुपमा लिन्थे । कार्यक्रममा हिँड्दा उनीहरुलाई धेरै ठाउँमा आयोजकहरुले एउटै कोठा बुक गरेपनि हुन्छ होला नी ? भन्दै जिस्क्याउथे ।

सामाजिक मर्यादाका कारण धुर्मुसको लागि यस्तो कुरा सामान्य भए पनि सुन्तलीको लागि असहज नै थियो । तर पनि कुञ्जना यस्ता कुराहरुलाई सजिलै लिन्थीन् र अघि बढ्थिन् । कुञ्जनाको यहि सहनशीलता देखेर केटीसँग लजाउने धुर्मुसले कुञ्जनालाई माया गर्ने हिम्मत बटुलेका हुन् । 

लजालु सीतारामको प्रपोज प्रसंग

कुञ्जनालाई मन पाएपनि सीतारामले केही समयसम्म प्रपोज गर्न सकेनन् । तर पछि एकदिन आँट गरे र उनले कुञ्जनालाई आफ्नो मनको कुरा भनिछाडे । तर कुञ्जनाले भने उनको कुरा सुनीसकेपछि खासै नौलो कुनै प्रतिक्रिया भने दिइनन् । बरु सुन्तलीले धुर्मुसलाई भविष्य प्रति केन्द्रीत हुन सुझाव दिइन् जसबाट धुर्मुस अझ भुतुक्कै भएका थिए । पछि पछि फोनमार्फत मनका कुरा खोल्दै गए पछि मात्रै कुञ्जनाले सीतारामको प्रेमप्रस्ताव स्वीकार गरेकी हुन् । उनीहरु एक वर्ष प्रेमसम्बन्धमा रहेका थिए । सीताराम भन्छन् : हामी बिना डेटिङ एक वर्ष लव गरेर बस्यौँ । 

कुञ्जनाले सीतारामको प्रस्ताव स्वीकार्नुको कारण
करियर अघि बढाउने समयमा दुबैजनालाई प्रेममा परेको स्पष्ट भइसकेको थियो । मायाप्रेममा लाग्दा परिवारलाई घात पो हुने हो की ? करिअरमा ब्रेक लाग्ने होकी भन्ने चिन्ता कुञ्जनामा थियो । तर माया भने बढ्दै थियो । उनी ती दिन यसरी सम्झिन्छिन्, दिर्घकालीन रुपमा सम्बन्ध अघि बढाउने हिसाबले सोचेँ । 


धुर्मुसले गर्ने सम्मान र बानी व्यवहारले नै मलाई खासमा आकर्षित गरेको हो । एउटै क्षेत्रको मान्छेले समस्याहरु पनि बुझ्छन् भन्ने लाग्यो । एकअर्काबारे राम्रोसँग बुझेपछि अन्ततः उहाँको प्रस्ताव स्वीकारेँ । 
भाग्यले जुराएको जोडी

विवाह अघि फोनमा धुर्मुस सुन्तलीबीच बारम्बार कुरा भइरहन्थ्यो । तर, लामो कुराकानी भने हुँदैनथ्यो । किनकी दोहोरो कुरा गर्दा धुर्मुस नर्भस भइहाल्थे । भाग्यले जुराएको जोडीजस्तो अनुभुति गर्छन्, दुबैजना । सिधै प्रेम प्रस्ताव राख्न नसकेको देख्दा सुन्तली नी छक्क पर्थिन् । मन पराउँछ भन्ने उनलाई थाहा थियो । विवाह पछि बरु धुर्मुस जिस्केर थुप्रै कुराहरु भन्छन् । 

तर, विवाह अघि त्यस्तो केही कुरा नभएको सुन्तली बताउँछिन् । कामको सिलसिलामा सुटिङमा गएको बेला पनि त्यति बोलीँदैनथ्यो । त्यहि पनि कसरी कसरी माया बसी हाल्ने रहेछ । सायद आँखा र मनले धेरै बोल्यो कि ? सिधै भेटेर कुराकानी पनि हुँदैनथ्यो, सुन्तलीले भनिन् ।

मोबाइल हराएपछि झनै गाढा भयो माया

उनीहरु प्रेममा हुँदा धेरै रमाइला घटनाहरु पनि भएका रहेछन् । त्यसमध्येकै हो सुन्तलीको मोबाइल । धुर्मुस सुन्तलीको निकटता बढाउने मोबाइल सुन्तलीले हराइन् । मोबाइल हराएपछि, दुबैलाई तनाव भयो । सुटिङको लागि बाहिर निस्केका बेला अचानक मोबाइल हराएकी थिइन सुन्तलीले । त्यो बेलाको क्षण सम्झँदै सुन्तली भन्छिन् म विरामी थिएँ । मैले ज्याकेट लगाएको थिएँ । हतार हतारमा मोबाइल ट्याक्सीमै खसेछ । म आत्तिएँ तर धुर्मुसले नआत्तिनु भनेर सम्झाउनु भयो ।

अभिनय क्षेत्रमा संघर्ष गरिरहेको थिए । सबैको कन्ट्याक नम्बर त्यसमै थियो । साह्रै चिन्तामा थिएँ । यसमा धुर्मुस भन्छन्, त्यस लगत्तै म कतार गएको थिएँ । त्यहाँबाट फर्कंदा ५ हजारको मोबाइल ल्याइदिएँ । कतारबाट १३ हजार जति हात परेको थियो । 

त्यही मध्येबाट ५ हजार रुपैयाँको मोबाइल सुन्तलीको लागि किनी दिएको थिएँ । उनको मोबाइल हराउँदा उनलाई जस्तै मलाई पनि चिन्ता लागेको थियो । मोबाइल लिन सुन्तलीले मानेकी थिइनन् । तर, पछि स्वीकार गरिन् । यसले प्रेमलाई अझै बलीयो बनाउन मद्धत गर्यो ।

यसरी भएको थियो सुन्तली धुर्मुसको विवाह

सिताराम, ज्योतिष विज्ञानमा विश्वास गर्छन् । आठ वर्षअघि ज्योतिषले भने यसपाली बिहे गरेनौ भने अब सात, आठ वर्ष विवाह हुन्न । उमेर पुगिसकेको मान्छे, साथमा माया गर्ने साथी पनि छ । सात, आठ वर्ष कुर्ने हो भने जे पनि हुन सक्छ । अनि धुर्मुसले सुन्तलीलाई विवाहको प्रस्ताव राखे । तर, सुन्तलीले त्यो प्रस्तावलाई सजिलै स्वीर्कान भने सकिनन् । माया भने अति नै गर्थिन् । मायाको अघि सुन्तलीको जोर चलेन र दसैँताका विवाह बन्धनमा बाँधिए ।

विवाहमा खासै तामझाम नगरेका यी दुईको विवाहलाई कतिले त रिलको विवाह नै पनि भन्ठाने रे । तर, सुन्तली र धुर्मुसले जिन्दगीभर सँगै बाँच्ने, सँगै मर्ने बाचा कसम खाई साच्चैको विवाह गरेका थिए । हाल सीताराम र कुञ्जना एक छोरीका माता पिता बनिसकेका छन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...