यो वेनामी पत्र जनसेनाका सबै योद्धाहरुसम्म पुगोस्



प्रिय राता मान्छेहरु

वालुवाटारमा छौ या वहादुर भवनमा ? व्यवस्थापिका संसदमा छौ या कार्यपालिकामा ? खाडी मुलुकमा दौडिरहेका छौ या घाइते शरीर बोकेर आफ्नै मृत्यु कुरिरहेका छौं ? प्रज्वलित छौ या उद्दिग्न ? तिमी जहाँ भएपनि आज जनमुक्ति सेना दिवसको अवसरमा रातो सलाम छ र छ न्यानो न्यानो अभिवादन !

यो पत्र संसदीय घुमघुमाउ बाटोबाट हिंड्दा बनेको अप्रिय क्षणमा लेखिरहेको छु । आजै नेपाली जनयुद्धको इतिहासमा जनमुक्ति सेना नेपालले घोराहीमा शाही सेनालाई परास्त गरेर गौरवपूर्ण इतिहास लेखेको थियो । 
स्वयमसेवक दल, छापामार दल हुँदै जनमुक्ति सेनाले आकार ग्रहण गरेको थियो । यो नेपाली सर्वहारावर्गका लागि सवैभन्दा गौरवको दिन थियो र थियो युद्धशास्त्री सुनत्जुले भनेझैं हजार लडाइँ जितेर हजार लडाइँ जित्नु युद्धकौशल होइन, एउटा लडाइँ लडेर सयौ मोर्चा जित्नु बास्तविक लडाइँ हो । 

सायद घोराही जितेर नेपाली सेनालाई पहिलो पटक जनमुक्ति सेनाले पराजयको स्वाद चखाएको थियो । सफलतम् घोराही कारवाहीको सम्झनामा युद्धकालीन माओवादीले जनमुक्ति सेना दिवस मंसिर ८ मनाउने गथ्र्यो । हामीले आज जनमुक्ति सेना दिवस भनेर सम्झिरहदा बालुवाटारमा कुनै खुशीयाली हुने छैन ।

जनमुक्ति सेना दिवस स्थापनाको आज १७ औं वर्षमा नेपाली धर्तीमा रगत, पसिनाको कर्णाली अनवरत वगिरहेको छ । 

यसबीच जनमुक्ति सेना क्यान्टोनमेन्ट, समायोजन, अयोग्यता, विघटनका घुम्तीहरुबाट गुज्रियो र नेपाली राजनीतिक इतिहासमा २००७ सालको जनमुक्ति सेना झैं यो नयाँ जनमुक्ति सेनाले पनि नयाँ मूल्य र मान्यतालाई स्थापित गर्न सकेन ।

गौरवपूर्ण इतिहास बोकेको जनमुक्ति सेनाको समायोजन र विघटनको प्रक्रियामा निकै लामो राजनीतिक खिचातानी भयो । जनमुक्ति सेना विघटन नगरी शान्ति प्रक्रिया पुरा नहुने यथास्थितिवादीहरुको सोंच र माओवादी आन्दोलनमा जन्मिदै गएको संसदीय धाराको सोंचमा एकमना एकतापश्चात जनमुक्ति सेनाको चावी रातारात बुझाइयो र जनमुक्ति सेनालाई कब्जा गर्न प्रतिक्रियावादी सेनाको प्रयोग भयो । 

सायद यो कुराको सम्झना कुनै दिन बाबुराममण्डलीहरुलाई विपी कोइरालालाई झैं नपरि चेत नआउला । आफूले बनाएको सेना विघटनको परिणाम विपीले त भोगे भोगे, विपीका नयाँ संस्करणहरु पनि दोहोरिने सम्भावना जीवितै छ ।

समय यति निर्मम छ कि सत्यको अनावरण हुन्छ, सत्यको प्रकटिकरण तीतो रुपमा हुन्छ र सत्य झनै निर्मम बन्दोरहेछ । नेपाली समाजको आमूल परिवर्तनका लागि गठित जनसेना संसदीय राजनीतिको मूलधारमा फर्किन विघटन गरियो । 

त्यो बलिदान, त्यो त्याग र त्यो तपस्या के संसदीय राजनीतिको पेरिफेरिमा रुमल्लिनका लागि थियो ? के त्यत्रो बलिदान निरंकुशताको अन्त्यका लागि मात्र थियो ? के त्यो रणनीतिक प्रत्याक्रमण लोकतान्त्रिक गणतन्त्रका लागि मात्र थियो ? हज्जारौं यक्षप्रश्नहरु छन्, जसको उत्तरको खोजी र माओवादीहरुमा विभाजन भइरहेको छ ।

जव शान्ति प्रक्रियाको सन्दर्भमा माओवादीहरु बहसमा हुन्छन्, तव माओवादी नेताहरुमा एकरुपता देखिदैन । सुधारवादका लागि, नांगो सुधारवादका लागि उत्कृष्ट प्रतिष्पर्धा गरिरहेका छन् कमाण्डरहरु । 

काठमाडौंमा लोडसेडिङ कसले घटायो ? जस्ता प्रश्नमा अल्झिरहेका छन् । आमूल परिवर्तनको रेलबाट ओर्लिए पछि त्याग र तपस्याका लागि साधनारत योद्धाहरु एकाएक नातावाद, फरियावाद र लम्पसारवादमा कसरी उत्रिदा रहेछन् ? त्यो छर्लंगै देखिरहेको छ । 

विडम्वना के छ भने यो शान्ति प्रक्रियाले युद्धको अग्रमोर्चामा लडेका कमरेडहरु विभिन्न लाभका पदमा छन् । जनमुक्ति सेना नेपालका सर्वोच्च कमाण्डर कमरेड प्रचण्ड प्रधानमन्त्रीमा आसिन छन् । जनसेनाकै कमाण्डर पासाङ उपराष्ट्रपति छन्, जनसेनाकै कमाण्डर सभामुख छन् र छन् डिपुटी कमाण्डरहरु मन्त्री । यो एउटा सत्य हो भने अर्कोतिर छन् जनसेनाका योद्धाहरु खाडी मुलुकमा ड्यिुटी गरिरहेका । कति शरीरभरि छर्रा बोकेर बाँचिरहेका । कति अयोग्यको त्रिशुलले डामिएका । 

कति पाँच लाख पैसामा साटिएका । कति पुरानो सेनामा छाति नापेर भर्ति भै उद्दिग्न जिन्दगी गुजारिरहेका । कति नयाँ जनवादी क्रान्ति र कति एकीकृत जनक्रान्तिको विगुल फूकिरहेका । यी सवै परिदृश्यमा जनमुक्ति सेनाका योद्धा, कमाण्डर र कमिसारहरु तितरवितर छन् ।

जनमुक्ति सेनाको गौरवपूर्ण इतिहास यति चाँडो धुमिल र विस्मृत हुन्छ भन्ने कसैले ठानेको थिएन । आफ्नो गौरवपूर्ण इतिहास र सभ्यता विर्सिएको समाज भनेको धागो चुँडिएको चंगा जस्तै हो । त्यो कहाँ उड्छ र कसको आँगनमा खस्छ कुनै ठेगान हुँदैन ।

प्रिय प्रिय छापामारहरु

यो जनमुक्ति सेना स्थापनाको ऐतिहासिक दिनमा मेरो के कामना छ भने आफ्नो मूलबाटो विर्सिएर हिंडेकाहरुमा बलिदानको इतिहासले सद्धवुद्धि देओस्, घाइतेहरुको सुस्वास्थ्यको कामना गर्दछु र साँच्चिकै लडाइँलाई निर्णायक विजयसम्म पुर्याउन अहोरात्र खटिरहेकाहरुलाई सफलता मिलोस् । 

राणा शासनको अन्त्यका लागि २००७ सालको क्रान्तिमा जनमुक्ति सेनाको डिजाइन गर्ने बाबुकृष्ण शर्माहरु जसरी गुमनाम भए, नेपालको राजतन्त्र अन्त्यका लागि मात्र होइन नयाँ जनगणतन्त्रका लागि लडेका योद्धाहरुको बलिदान, त्याग, तपस्या र इतिहास गुमनाम नहोस् । जनमुक्ति सेना दिवसको अवसरमा यही हार्दिक मंगलमय शुभकामना छ ।

उही बालछापामार आदर्श नेपाली

,

प्रतिकृया दिनुहोस्

Loading...