हुलाकी राजमार्ग निर्माणको कार्य अघि बढाइने


 

  • कञ्चनपुर, १० मङ्सिर । 
बहुप्रतिक्षित कञ्चनपुरको बाइसेविचवा गाविसको डोकेबजारदेखि दैजीसम्मको ६२ किलोमिटर हुलाकी राजमार्ग कालोपत्र गर्नका लागि कार्य अगाडि बढाइएको छ । 

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गतको हुलाकी राजमार्ग परियोजनाले सडक कालोपत्रका लागि कार्य अगाडि बढाइएको हो । 

राजमार्ग कालोपत्र गर्नका लागि रु एक अर्ब ६० करोडको टेन्डर आह्वान गरिएको हुलाकी राजमार्ग कार्यालय धनगढीका सब– इन्जिनियर वीरबहादुर ओलीले बताए ।

“राजमार्गलाई ० देखि २० किमी, २० देखि ४० किमी र ४० देखि ६२ किमीमा तीन खण्डमा विभाजन गरी कालोपत्रको कार्य हुनेछ”, उनले भने । परियोजनाअन्तर्गत सडकमा पर्ने कल्भर्ट मर्मतसम्भारको कार्यसमेत गरिनेछ ।

भारत सरकारले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म हुलाकी राजमार्ग बनाउने सम्झौताअनुरुप कैलालीसम्म हुलाकी राजमार्ग पाँच वर्षअघि देखि नै बनाउन सुरु गरेपनि राजमार्गको कञ्चनपुरको भागलाई छुन सकेको थिएन । 

भारत सरकारले डोकेबजारको मोहना नदीको पुलदेखि त्रिभुवनबस्ती, श्रीपुर, रामपुर, विलाशीपुर, बेलाडाँडी हुँदै दैजीसम्मको ६२ किलोमिटर हुलाकी सडक निर्माणसँगै कालोपत्र गर्ने सम्झौता गरेको थियो । 

सम्झौताअनुरुप कार्य अगाडि नबढेपछि हुलाकी राजमार्ग नेपाल सरकारले आफ्नै लगानीमा निर्माण गर्न लागेको हो । सहमतिअनुरुप नेपालतर्फबाट तीनवर्षअघि नै सर्भेको कार्य गरिएको थियो । 

वर्षौंदेखि सडकको अभाव खेप्दै आएका जिल्लाको दक्षिणी क्षेत्रका बासिन्दा सडक कालोपत्र हुने भएपछि खुसी भएका छन् ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...