जोगवनी नाकादेखि धरानसम्मको सडक चारलेनको हुने

- कात्तिक १९ मोरङ ।
विराटनगरको जोगवनी नाकादेखि धरानसम्मको कुल ५० किलोमिटर सडक चार लेनको निर्माण हुने भएको छ ।
दुहवी र इटहरीबजार क्षेत्रका धेरै घर संरचनाहरु सडक फराकिलो बनाउनेक्रममा भत्काउनु पर्ने देखिएपछि प्रस्तावित ६ लेन सडकलाई घटाएर चार लेनमा निर्माण गर्न लागिएको हो ।
सडक आयोजना प्रमुख दीपक भट्टराईले सरकारको निर्णय आउन अझै बाँकी रहेपनि स्थानीयवासीको असहयोगले ६ लेन सडक निर्माण हुने सम्भावना न्यून रहेको बताए । सो सडकलाई ६ लेनको बनाउने प्रस्ताव गरिए पनि विभिन्न कारणले चार लेन मात्रै बन्ने भएको हो ।
सडक विस्तार हुँदा दुहवीका पक्की र कच्ची गरी एक सय ७७ घर र इटहरीको मूलचोकबाट दक्षिणतर्फका केही घर भत्काउनुपर्छ । यी दुवै स्थानमा ठूलाठूला पक्की घर रहेका छन् ।
योजनाअनुसार ६ लेन सडक विस्तार गर्दा आयोजनाले सडकको केन्द्रबाट दायाँबायाँ २५/२५ मिटर विस्तार गर्ने योजना बनाएर काम अघि बढाए पनि जग्गा अपुग भएपछि डिजाइन परिवर्तन गरेर पछि केन्द्रबाट दायाँबायाँ १५/१५ मिटर मात्र विस्तार गर्ने कार्य गरिरहेकाले अब सडक ६ लेनको होइन चार लेनमा मात्र सीमित हुनेमा कुनै शङ्का छैन ।
मुुलुककै व्यापार विस्तार तथा भारत र तेस्रो मुलुकसँगको आयात निर्यातका लागि अहिले जोगवनीबाट विराटनगर हुँदै धरानसम्म ६ लेन सडक विस्तार गर्ने सरकारको योजना थियो । भारतसँग सीमा जोडिएका सबै नाकाका सडकलाई ६ लेनमा विस्तार गर्ने सरकारको लक्ष्य पनि रहेको छ ।
जोगवनीदेखि विराटनगरको पहडगछ लगायतका क्षेत्रमा ६ लेनको सडक हुने आयोजनाले भन्दै आएपनि सो मार्गमा पर्ने दुहवी र इटहरीको मुख्य बजार क्षेत्रको सडकको दायाँबायाँ रहेको भवन भत्काउने विवादका कारण सो सम्भावना न्यून हुँदै गएको हो ।
सडकमा दायाँबायाँ तीन÷तीन लेन हुने र मध्य भागमा दुईतिर सडक विभाजित गर्ने क्रङ्किटका डिभाइडरको संरचनासँगै सडकको दुवैतिर बिरुवा रोपेर हरियाली पारिने योजना रहेको छ ।
सडकसँगै पैदल यात्रीका लागि फुटपाथ र ढलसमेत रहने योजना छ । तर मुख्य बजार क्षेत्रमा भने जग्गा अभावले गर्दा हरियाली नहुने र फुटपाथ पनि साँघुरो हुने सम्भावना बढेको देखिन्छ ।
प्रतिकृया दिनुहोस्
Loading...