पूर्व अभ्यास : यसरी ल्याइने छ मुखर्जीको सवारीमा गाडीको हुल यस्तो हुने



काठमाडौँ १६ कात्तिक। 

भारतीय राष्ट्रपति प्रणव मुखर्जीको यही कात्तिक १७ देखि १९ गतेसम्म हुने नेपाल भ्रमणका लागि सवारी आवागमनको पूर्व अभ्यास गरिएको छ । 

म‌ंगलबार सवारी पूर्व अभ्यासको क्रममा २८ वटा चारपाङ्ग्रे सवारी साधन र १४ वटा मोटरसाइकलको प्रयोग गरिएको थियो ।

नेपाली सेनाको मुख्यालय भद्रकालीबाट सुरु भएको सवारी पुर्वअभ्यास सोल्टी होटल पुगी पुनः प्रदर्शनीमार्गस्थित राष्ट्रियसभागृहमा आएको थियो । 

राष्ट्रिय सभागृहबाट लैनचौरस्थित भारतीय दुतावास तथा लैनचौरमै रहेको रेडिसन होटल पुगी राष्ट्रपति कार्यालय, शितलनिवासमा पूर्व अभ्यास सवारी चलाइएको थियो ।

पुर्व अभ्यास सवारी शितलनिवासबाट बत्तिसपुतलीस्थित होटल द्वारीकाज पुगी पशुपति मन्दिरसम्म गएको थियो । 

पशुपति मन्दिरबाट राष्ट्रपति मुखर्जी बस्ने भनिएको बौद्धस्थित होटल हायात पुगी आजको सवारी पुर्व अभ्यास समापन भएको थियो ।

सवारीको क्रममा राष्ट्रपति मुखर्जीको अघिपछि सुरक्षा निकायको सवारी साधनको स्कर्टिङ, सञ्चार सम्बन्ध बिच्छेद गरिदिने जामर सहितको गाडी तथा एम्बुलेन्स लगायतको व्यवस्था गरिनेछ । 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र पाख्रिनले राष्ट्रपति मुखर्जी पुग्ने स्थानहरुमा आज सवारी आवागमनको पुर्व अभ्यास गरिएको जानकारी दिए ।

सवारी पूर्व अभ्यासका कारण केही समय सवारी अवरोध हुँदा तिहारमा टिका लगाउन हिँडेका सर्वसाधारणले कठिनाई भोग्नु परेको थियो । 

तिहारका कारण सडकमा कम सवारी गुडेकाले अन्य समयजस्तो लामो जाम भने सर्वसाधारणले भोग्नु परेन ।

भ्रमणको क्रममा सवारी आवागमनमा केही असहजता आउने भएकाले ती दिनका विभिन्न समयमा वैकल्पिक सडक मार्गको प्रयोग गर्न ट्राफिक प्रहरीले सर्वसाधारणलाई अनुरोध गरेको छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...