डोनाल्ड ट्रम्प विजयी भएलगत्तै विरोध प्रदर्शन सुरु



  • काठमाडौं, २५ कात्तिक ।
विश्वकै सर्वशक्तिमान राष्ट्रपतिमा निर्वाचित भएको केही घण्टा नपुग्दै नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको विरोध सुरु भएको छ ।

अमेरिकी निर्वाचनको परम्परालाई तोड्दै विरोधीहरुले नवनिर्वाचित राष्ट्रपति ट्रम्पमाथि विभिन्न आक्षेप लगाउँदै प्रदर्शन गरिरहेका छन् ।

ट्रम्प नश्लवादी भएको आरोप लगाउँदै प्रदर्शनकारीहरुले अमेरिकाका मूख्य शहरहरुमा प्रदर्शन केन्द्रित गरेका छन् ।

मनभरी विजयको खुशियाली मनाउन नपाउँदै ट्रम्पले विरोधको सामना गर्नुपरेको हो । ट्रम्पको जीतको विरोधमा न्यूयोर्क, शिकागो, फिलाडेल्फिया, शियाटल, टेक्सस, आयोवा, क्यालिफोर्निया, बोस्टनलगायतका मूख्य शहरमा विरोध प्रदर्शन गरिएको हो ।

यसअघि बुधबार सम्पन्न मतगणनामा आफ्ना प्रतिष्पर्धी हिलारी क्लिन्टनलाई पछी पार्दै रिपब्लिकन उम्मेद्वार ट्रम्प विश्व महाशक्ति राष्ट्र अमेरिकाको ४५ औं राष्ट्रपतिमा निर्वाचित भएका छन् ।

निकै प्रतिष्पर्धात्मक हुने ठानिएको चुनावमा ट्रम्पले राष्ट्रपति निर्वाचित हुन आवश्यक २७० इलेक्टोरल मतमा २९० तथा क्लिन्टनले २३२ इलेक्टोरल मत प्राप्त गरेका छन् । पपुलर भोटमा भने तीब्र प्रतिष्पर्धा रह्यो ।

रिपब्लिकनले राष्ट्रपति मात्र नभई सिनेट र हाउस अफ रिप्रेन्जेटेटिभमा पनि स्पष्ट बहुमत पाएको छ ।

निर्वाचन अघिसम्म हिलारीले जित्ने आंकलन गर्दै मत सर्भेक्षण गर्ने अमेरिकी सञ्चारमाध्यमदेखि विश्व जगत नै ट्रम्पले जितेकामा आश्चर्यमा परेको छ ।

गैरराजनीतिक पृष्ठभूमिबाट आएका धनाढ्य ब्यापारी ट्रम्पले चार बर्षका लागि ह्वाइट हाउसको साँचो हात पारेलगत्तै अमेरिकालाई थप बलियो र एकजुट बनाउने प्रतिवद्धता जनाएपनि उनको विरोध थालिएको हो । (एजेन्सी)

, ,

प्रतिकृया दिनुहोस्

Loading...