देशव्यापी आन्दोलन घोषणा गर्दै एमालेका विद्यार्थी र युवाले जलाए संशोधन बिधेयक

  • काठमाडौं, १६ मंसिर

एमालेका दुई प्रमुख भातृ संगठन युवा संघ र अनेरास्ववियुले देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । संविधान संसोधनका नाममा सरकारले राष्ट्रघात गर्न लागेको भन्दै बिधेयक फिर्ता नभएसम्म आन्दोलन नरोक्ने चेतावनी ती संगठनले दिएका छन् ।

युवा संघ अध्यक्ष राजिव पहारी र अखिल अध्यक्ष नविना लामाले आफ्ना कार्यकर्तालाई जनतासँगै सडक आन्दोलनमा उत्रिन आह्वान गरेका छन् । आन्दोलनका शुरुवात काठमाडौं र बुटवलबाट एकैपटक गरिएको पहारीले बताए ।

काठमाडौंको नयाँ बानेश्वरमा युवा विद्यार्थीले संयुक्त प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले नयाँ बानेश्वर चोकमा बा १ झ ८११३ नम्बरको एक सरकारी जीपमा तोडफोड समेत गरेका छन् । सो क्रममा अखिल र युवा संघले संविधान संशोधन बिधेयक जलाएका थिए ।

संविधान संशोधन मधेशी जनताको माग सम्बोधन गर्न नभई भारतीय शासकको निर्देशन पूरा गर्न ल्याइएको भन्दै अखिल अध्यक्ष लामाले अब सबै विद्यार्थी सडकमा उत्रिने बताइन् ।

त्यस्तै युवा संघ अध्यक्ष राजिव पहारीले राष्ट्रघातको नयाँ श्रृंखला शुरु भएको हुनाले अब राष्ट्रिय स्वाधीनताको आन्दोलन चर्काउने बताए ।

आन्दोलन मधेस र पहाड दुवैतिर हुने पहारीको दावी छ । नयाँ बानेश्वरको प्रदर्शनपछि युवा विद्यार्थीले टायर बालेर केहीबेर संसद भवन अगाडिको सडक अवरुद्ध पारेका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...