आन्दोलन छाडेर चुनावको तयारीमा जुटे मधेसी नेता

काठमाडौं, ४ मंसिर ।
संविधान संशोधनको माग गर्दै आन्दोलनमा रहेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरू चुनावको तयारीमा जुटेका छन् ।
२०७४ माघसम्म तीनै (स्थानीय निकाय, प्रदेश तथा केन्द्र) तहको चुनाव गराउने संवैधानिक बाध्यात्मक व्यवस्थाबमोजिम निर्वाचन घोषणाको तयारीमा सरकार रहेकाले मधेसी मोर्चाका नेताहरू पनि आन्दोलन छाडेर चुनावको तयारीमा जुटेका छन् ।
महन्थ ठाकुर अध्यक्ष रहेको तराई मधेस लोकतान्त्रिक पार्टी, राजेन्द्र महतो अध्यक्ष रहेको सद्भावना पार्टी, महेन्द्र राय यादव अध्यक्ष रहेको तराई मधेस सद्भावना पार्टी, उपेन्द्र यादव अध्यक्ष रहेको सङ्घीय समाजवादी फोरम नेपाल, शरतसिंह भण्डारी अध्यक्ष रहेको राष्ट्रिय मधेस समाजवादी पार्टी लगायतले तराई मधेसमा विभिन्न अभियान सुरु गरिसकेका आजको गोरखापत्रमा समाचार छ ।
तमलोपा सदस्यता वितरण अभियान सुरु गर्दै तराई मधेसका गाउँगाउँ छिरेको छ भने सङ्घीय समाजवादी फोरम नेपालले पनि सदस्यता वितरणलगायत विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सद्भावना पार्टीले गाउँमा आफ्ना वर्गीय मञ्च गठन गर्ने अभियान नै सञ्चालन गरेको छ ।  पार्टीका विभिन्न केन्द्रीय, वर्गीय मञ्चहरूले गाउँगाउँमा गएर गाउँस्तरीय मञ्चहरू बनाउन थालेका छन् ।  तराई मधेस सद्भावना पार्टीले पनि गाउँगाउँ गएर सदस्य वितरण गर्ने, सङ्गठन बनाउने कामलाई तीव्रता दिएको छ ।  
सो पार्टीका अध्यक्ष महेन्द्र राय यादवले आफूहरूले उठाएको माग पूरा भयो भने चुनाव गराउनैपर्छ, त्यसैको तयारीमा लागेको बताए। उनले भने, ‘संविधान संशोधनका कुरा भइरहेको छ, हामीले भनेको जस्तो संशोधन भयो भने त्यसपछि चुनावमा जानुबाहेक अरू काम नै हुँदैन, त्यसैले सङ्गठन सदृढीकरण तथा सङ्गठन विस्तार आन्दोलन र चुनाव दुइटैमा काम लाग्छ ।’
सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण भन्छन्, “चुनावकै तयारी हो त नभनौँ, आन्दोलनको तयारी पनि हुनसक्छ तर माग पूरा भयो भने चुनावमा जानुपर्छ।’आफूहरू चुनावको विरोधी नभएको बताउँदै उनले स्थानीय निकायको चुनाव नभएको पनि धेरै भएको तथा संविधान कार्यान्वयनका लागि पनि चुनाव चाहिने भएकाले चुनावमा जानुको विकल्प नरहेको बताए।  उनले त्यसअघि मधेसको माग सम्बोधन हुनुपर्ने अडान भने दोहोर्‍याए।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...