बैतडीको पाटनमा रहेको विमानस्थल पुनः सञ्चालनको तयारी !

बैतडी, ९ मङ्सिर ।

 सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल पुनः सञ्चालनको तयारी भएको छ । पाटन विमानस्थल बन्द भएको दुई दशकपछि सञ्चालन गर्नका लागि तयारी भएको हो । 

सरकारले यो वर्ष विमानस्थल सञ्चालन गर्ने भनेर रु १० करोड बजेट विनियोजन गरेपछि विमानस्थललाई कालोपत्र गर्नका लागि विस्तृत सर्वेक्षण प्रतिवेदन (डिपिआर) तयार गर्ने काम सुरु भएको छ । विमानस्थलको माटो परीक्षण लगायतका काम गरेर कालोपत्रका लागि विस्तृत सर्वेक्षण प्रतिवेदन तयार पारिने रियलपाथ इन्जिनियरिङ कन्सलटेन्सीका एयरपोर्ट इन्जिनियर गुरुदत्त घिमिरेले बताए। 

उनले भने “एक हप्तासम्म पाटनमै बसेर प्राविधिक टोलीले डिपिआर, माटो परीक्षण लगायतका कार्य गर्छ र त्यसको आधारमा नागरिक उडड्यन प्राधिकरणलाई प्रतिवेदन बुझाउँछ ।” विमानस्थलको क्षेत्रफल र वरिपरिको पर्यावरणका हिसाबले पाटन विमानस्थल उत्कृष्ट रहेको इन्जिनियर घिमिरेको भनाइ रहेको छ । “बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्यभागमा पर्ने पाटन विमानस्थल क्षेत्रीय विमानस्थलका रुपमा विकसित हुने देखिएको छ, वातावरण पनि राम्रो छ ।” 

अहिले प्राविधिकको टोलीले डिपिआर निर्माणका लागि अध्ययन गरिरहेको र डिपिआर निर्माण गरिसकेपछि विमानस्थल पुनः सञ्चालन गर्नका लागि कति लागत लाग्छ भन्ने कुरा थाहा हुने बताइएको छ । विमानस्थल सञ्चालन गर्नका लागि विमानस्थल आसपासमा ठूला संरचना बन्न नहुने र त्यसको समेत प्राविधिक टोलीले अध्ययन गर्ने इन्जिनियर घिमिरेले बताए । प्राविधिक टोलीको प्रतिवेदनका आधारमा टेन्डर आह्वान गरेर यो आर्थिक वर्षभित्र काम सुरु गरिने नागरिक उड्डयन प्राधिकरणका वरिष्ठ अधिकृत विष्णुप्रसाद पौडेलले बताए । 

उनले भने, “विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन पाँच वर्षभन्दा बढी समय लाग्न सक्छ ।” पाटन विमानस्थल सञ्चालन भएमा सुदूरपश्चिमका डडेल्धुरा, बैतडी, बझाङ र दार्चुलाको मध्यविन्दुका रुपमा यो क्षेत्रलाई विकास गर्न सकिने स्थानीयवासीको भनाइ छ । सुदूरपश्चिमकै दोस्रो ठूलो बैतडीको पाटनमा रहेको विमानस्थल पुनः सञ्चालन हुन नसक्दा गौचरन तथा खेलमैदानमा परिणत भएको थियो । 

विगत दुई दशकदेखि विमानस्थल सञ्चालन नहँुदा गौचरनमा परिणत भएको छ । विसं २०३४ मा सञ्चालनमा आएको विमानस्थल २०५२ सालदेखि पूर्णरुपमा वन्द अवस्थामा रहेको छ । सुदूरपश्चिममा कैलालीको गेटा विमानस्थल पछिको सबैभन्दा ठूलो पाटन विमानस्थल हो । नौसय ५० मिटर धावनमार्गको लम्बाइ रहेको यो विमानस्थल सुदूरपश्चिमको दोस्रो ठूलो विमानस्थल हो । 

बैतडी, दार्चुला, डडेल्धुरा र बझाङ जिल्लाको मध्य भागमा पर्ने पाटन बैतडीको मिनी सदरमुकाम भनेर परिचित रहेको र पाटन विमानस्थल सञ्चालनमा आउन सके यस क्षेत्रको विकास हुने स्थानीय वसन्त विष्टको भनाइ रहेको छ । यस विमानस्थलका कार्यालयका भवन तत्कालीन १२ बर्षे द्वन्द्वकालमा क्षतविक्षत भएका थिए ।

प्रतिकृया दिनुहोस्

Loading...