दर्शकदीर्घामा पुगेका विद्यार्थीले भने सांसदहरुले आफूलाई हात्ति र अरुलाई कमिला ठान्दा रैछन्


  • काठमाडौँ ४ मंसिर ।
‘सांसदहरुले आफूलाई हात्ती र अरुलाई कमिला ठानेको जस्तो लाग्यो ।’ पहिलो पटक संसद्को दर्शकदीर्घामा पुगेका विद्यार्थी समित श्रेष्ठलाई शुक्रबार यस्तै अनुभूति भयो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्धको महाभियोग प्रस्तावको छलफल सुनेर निस्केका श्रेष्ठले भने, ‘राजनीतिक दलका नेता र सांसद आफ्ना कुरालाई प्रस्तुत गर्न सिपालु रहेछन् ।’ 

त्यसो त लोकतान्त्रिक व्यवस्थाका कारणले श्रेष्ठले जस्तै नेता र सांसदलाई सार्वजनिक आलोचना गर्न पाउने अवसर मिलेको पनि हो ।

भविष्यमा राजनीतिमा लाग्न चाहना राख्ने कपनस्थित जोसेफ स्कुल कक्षा १० का श्रेष्ठ सहित १ सय २० विद्यार्थी शुक्रबार संसद्को दर्शकदीर्घामा बैठक अवधिभर बसेका थिए ।

संसद् सचिवालयको अनुमतिमा विभिन्न विद्यार्थी र समूहको आग्रहमा पालैपालो दर्शकदीर्घामा बस्ने प्रबन्ध बमोजिम उनीहरु त्यहाँ पुगेका थिए ।

अर्का विद्यार्थी सविन लिम्बूले संसद्का गतिविधिको प्रत्यक्ष अवलोकन गर्दा राजनीतिबारे आफूले सुनेका र पहिला बुझेका सोचलाई परिमार्जन गर्न सहयोग पुगेको प्रतिक्रिया दिए ।

अवलोकनमा पुगेका कतिपय विद्यार्थी संसद् बैठकका झन्झटिला प्रक्रिया देखेर दिक्क मान्दै थिए । सुरक्षा जाँच र त्यहाँभित्रको औपचारिक वातावरणले उनीहरुलाई उकुसमुकुस पनि भएको अनुभूत भयो ।

सचिवालयले पानीको प्रबन्ध गरे पनि दिउँसो १ बजेको बैठकका लागि १ घन्टा अगाडि नयाँ बानेश्वर छिरेका विद्यार्थी साँझ ५ बज्दा भोकाइसकेका थिए तर पनि संसदीय गतिविधिबारेको उनीहरुको चासोको तिर्खा भने मेटिएको थिएन । बैठकमा महाभियोग प्रस्तावका साथै शून्य र विशेष समय अनि विभिन्न विधेयक प्रस्तुतिका कार्यसूचीमा छलफल भएको थियो ।

सो स्कुलका प्रिन्सिपल सूर्यबहादुर अधिकारीले संसदीय प्रणालीबारे विद्यार्थीलाई विद्यालय तहदेखि नै प्रत्यक्ष ज्ञान दिलाउन यस्ता भ्रमण फलदायी हुने बताए ।

‘सांसदले कसरी विषयवस्तुलाई राख्छन्, सभामुखले कसरी बैठक सञ्चालन गर्छिनु , छलफल प्रक्रिया कसरी अगाडि बढ्छ भन्नेबारेमा विद्यार्थीले राम्ररी सिकेका छन् । यसको प्रभाव कस्तो पर्छ हामी मूल्यांकन र अभिलेखन गर्छौँ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...