लेस्टर सिटी छनोटबाट रोकियो, पोर्टोको सान्दार जीत



कोपेनहेगन, १८ कात्तिक ।

डिफेन्डिङ च्याम्पियन लेस्टर सिटी च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न एक अंकले रोकिएको छ। जब इङ्लिस क्लबलाई डेनिस क्लब एफसी कोपनहेगनले गोलरहित बराबरीमा रोक्यो। 

प्रिमियर लिगको डिफेन्डिङ च्याम्पियन क्लबलाई आफ्नो मैदानमा स्वागत गरेको कोपेनहेगनले इङ्लिस क्लबलाई अन्तिमसम्म बाँधेर राख्यो।

समूह ‘एच’ मा क्लाउडियो रेनारीको क्लबले अघिल्लो तीन वटै खेल जितेर सतप्रतिशत नतिजा निकालेको थियो। 

तर, बुधबार राती आफ्नो स्टार स्ट्राइकर जेमी भर्डीबाट नतिजा निकाल्न सकेन्। रेनारीले भर्डीलाई एक्लो स्ट्राइकरको रुपमा उतारेका थिए, ७१ मिनेटसम्म सिन्जी ओकाजाकीलाई बेन्चमा थन्काएर। तर, उनको प्रयास सफल हुन सकेन्।

भर्डीले गत सिजन लेस्टरले प्रिमियर लिगको उपाधि जित्दा २४ गोल गरेका थिए। तर, यसपालि १२ खेल खेलिसक्दा ३ गोल मात्र गर्न सफल भएका छन्। 

यद्यपी लेस्टर ४ खेलमा १० अंकसहित शीर्षस्थानमा छ। बुधबार यही समूहको अको खेलमा क्लब बुर्गेलाई १–० ले हराएको पोर्चुगिज क्लब पोर्टो दोस्रो स्थानमा उक्लिएको छ। पोर्टोको ४ खेलमा ७ अंक छ।

लेस्टरलाई बराबरीमा रोकेको डेनिस क्लब कोपनहेगनले पनि ४ खेलबाट ५ अंक बटुलेको छ। यो समूहबाट च्याम्पियन्स लिगको अन्तिम १६ मा स्थान बनाउन लेस्टरलाई एक खेल बराबरीमा रोके पुग्ने छ भने पोर्टो र कोपनहेगनलाई जित्नै पर्ने बाध्यता छ। (एजेन्सी)

, ,

प्रतिकृया दिनुहोस्

Loading...