नेपाल भर्सेस जापान आज - प्रशिक्षक भन्छन् जित दोहोरिन्छ !

काठमाडौं,४ मंसिर ।

नेपाली राष्ट्रिय फुटबल टिमले (आज) शनिबार जापानको फ्रेण्डस् अफ जापान टिमसँग च्यारिटी खेल खेल्दैछ । नेपाल र जापानबिच कुटनीतिक सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा खेल हुन लागेको हो। अखिल नेपाल फुटबल संघ एन्फा र जापानको गैरसरकारी संस्था कलरबाथको संयुक्त आयोजनामा हुने खेल दिउँसो दुई बजे एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ । केही दिनअघि मलेसियामा एएफसी सोलिडारिटी कपको उपाधि जितेर आएको नेपाली टिमले जे लिग तथा विश्वभर व्यावसायिक फुटबल खेल्ने जापानी खेलाडीको सामना गर्नेछ ।
जापानी टिममा रहेका टोडा काजुयुकी सन् २००२ को विश्वकपमा जापानका तर्फबाट तथा इंग्लिस क्लब टोटेनह्यामबाट व्यावसायिक फुटबल खेलेका हुन् । 
यसैबीच नेपाली टिमका कप्तान अनिल गुरुङले फ्रेण्ड अफ जापानसँगको खेल च्यारिटी खेल नै भएपनि यसलाई हल्का रुपमा नलिने बताएका छन् । एन्फा कम्प्लेक्समा शुक्रबार भएको पत्रकार सम्मेलनमा कप्तान गुरुङले यो खेलबाट जापानका खेलाडीसँग राम्रो सम्बन्ध स्थापित हुने विश्वास रहेको बताए । उनले भने ‘यो खेल नेपाल र जापानका खेलाडीबिचको सम्बन्ध स्थापित गर्न महत्वपूर्ण हुने विश्वास छ ।
प्रशिक्षक भन्छन् - जित दोहोरिन्छ
नेपाली टिमका प्रशिक्षक ग्योतोकु कोजीले आफ्नो टिम दबाबका बिच मैदानमा उत्रिए पनि जितकै लागि खेल्ने बताए । प्रशिक्षक कोजीले भने, ‘टिमका केही खेलाडी घाइते भएपनि हामी जित्ने लक्ष्यका साथ मैदानमा उत्रने छौंं । हामीले विदेशमा भर्खरै उपाधि जितेका छौं, देशमा खेल्दा पनि त्यही दोहोर्‍याउने छौं ।’ जापानी टिममा टोडा र गोलरक्षक नोजावा योसुकी राम्रा खेलाडी रहेको प्रशिक्षक कोजीले बताए ।
टोलीको प्रशिक्षकको जिम्मेवारी समेत लिएका जापानी टिमका खेलाडी काजुयुकीले आफूहरू जित्नका लागि नेपाल आएको बताए । उनले भने ‘ मैले सोलिडारिटी कप अन्तर्गत नेपालले ब्रुनाई र लाओससँग खेलेको खेल हेरेंँ । त्यसैले हामीले राम्रो तयारी गरेका छौं ।’ उनले वर्तमान नेपाली प्रशिक्षक रहेका जापानी कोजी आफ्नो युवाकालको प्रशिक्षक रहेकाले उनको टोलीसँग खेल्न उत्साहित रहेको बताए ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...