"मानव शरीरमा यस्ता ३ अंग छन्, जसले काम गर्न छोडे तुरुन्त मृत्यु हुन्छ"


डा. प्रवीण श्रेष्ठ

मस्तिष्कमरण अर्थात् 'ब्रेन डेथ'

'ब्रेन डेथ' हामीमध्ये धेरैजनाले सुनिरहेकै शब्द हो । जनमानसमा आजभोलि यो शब्द नौलो हुन छोडिसकेको छ । अस्पतालका डाक्टर, नर्स, मेडिकल साइन्सका विद्यार्थी या अन्य मेडिकल कर्मचारीले यो शब्दको उच्चारण गरेको सहजै सुन्न सकिन्छ । तर वास्तवमा यस शब्दको अर्थ के हो ? यस शब्दको व्यावहारिक महत्त्व छ कि छैन ?

विशेषगरी हाम्रोजस्तो जनचेतनाको विकास कम भएको समाजमा सर्वसाधारणले यस शब्दको अर्थ र महत्त्व बुझ्नु जरुरी छ कि छैन भन्ने चर्चा आजभोलि चल्न थालेको छ । यो शब्दको सही प्रयोग नहुँदा या गलत प्रयोग हुँदा बिरामी र स्वयं चिकित्सक पनि रनभुल्लमा परी आपसमा अविश्वासको वातावरण सिर्जना भई तनावपूर्ण स्थिति उत्पन्न भएको घटना सुन्नमा आएको छ ।

भर्खरै मात्र सरकारले ब्रेन डेथ भएका बिरामीका जीवित अंग झिकेर अन्य बिरामीमा प्रत्यारोपण गर्ने कानुन पनि बनाएकाले मस्तिष्कमरण के हो भन्नेबारे सर्वसाधारणको लागि पनि चासोको विषय भएको छ ।

ब्रेन डेथ के हो ? 

नेपाली भाषामा ब्रेन डेथलाई के भनिन्छ थाहा छैन । हालसम्म ब्रेन डेथको नेपालीकरण भएको पाइँदैन, न व्यावहारिक रूपमा न चिकित्सकीय कानुनी रूपमा । तसर्थ यस लेखका लेखक ब्रेन डेथलाई नेपालीमा 'मस्तिष्कमरण' भनी नामकरण गर्न सम्बन्धित सबैलाई प्रस्ताव गर्छ ।


मानव शरीर जिउँदो रहन शरीरका सम्पूर्ण अंगले सक्षम रूपमा कार्य गर्नु जरुरी हुन्छ । तर पनि केही अंग यस्ता हुन्छन्, जसको कार्यक्षमता कम या बन्द भएमा सम्पूर्ण शरीर केही क्षणमै मृत अवस्थामा पुग्छ । अर्थात् मानिसको मृत्यु हुन्छ । हाम्रो शरीरमा यस्ता तीन अंग छन्, जसले काम गर्न छोडेमा तुरुन्त मृत्यु हुन्छ । ती अंग हुन् फोक्सो अर्थात् श्वास–प्रश्वास क्रिया, मुटु अर्थात् रक्तसञ्चार र मस्तिष्क अर्थात् स्नायु प्रणाली ।

यी तीन अंगले सही कार्य गरिरहेसम्म मानव शरीर जीवित रहन्छ । जब यी तीन अंगमध्ये कुनै एकले काम गर्न नसक्ने अवस्थामा पुग्छ, तब मानव शरीर जीवित रहन सक्दैन । अन्त्यमा मानव शरीरलाई त्यतिबेला मृत घोषणा गरिन्छ, जब मुटु स्थायी रूपमा बन्द हुन्छ अर्थात् मुटुको धड्कनलाई कुनै अन्य तरिकाले पुनः सञ्चालन गराउन सकिँदैन । तर व्यावहारिक रूपमा कहिलेकाहीं यस्तो अवस्था पनि आउँछ कि मुटुको धड्कन रोकिनुभन्दा अगाडि नै शरीर मृत हुन्छ ।

यस्तो अवस्था 'मस्तिष्कमरण' को अवस्था हो । माथि उल्लेख भएका तीन अंगमध्ये जब मुटु र फोक्सोले काम गर्दागर्दै मस्तिष्कले काम गर्न छोड्छ, त्यस्तो अवस्थामा शरीर मृत अवस्थामा पुग्छ । त्यस्तो अवस्थाबाट मानव शरीरलाई फेरि जीवित पार्न असम्भव हुन्छ । यद्यपि त्यस्तो अवस्थामा मुटु धड्किरहेको र नाडी चलिरहेकै हुन्छ ।

मस्तिष्कमरण किन हुन्छ ?

मस्तिष्कमरण विभिन्न कारणले शारीरिक समस्या भएको अवस्थामा हुन सक्छ । सामान्यतया प्रत्येक व्यक्तिको मृत्यु हुनुअघि मस्तिष्कमरण हुँदैन । मस्तिष्कमरण नभई मुटुको धड्कन चल्न छोडेर अर्थात् बन्द भएर मानव शरीरको मृत्यु प्रायः भइराखेको हुन्छ । तर जुन अवस्थामा मस्तिष्कमै प्रत्यक्ष समस्या भएको हुन्छ, त्यस्तो अवस्थामा मस्तिष्कमरण पहिला भएर त्यसपछि मुटुको धड्कन बन्द हुने अर्थात् शारीरिक मृत्यु हुने गर्छ ।

उदाहरणको लागि मस्तिष्कको समस्या जस्तै टाउकोको गहिरो चोट, मस्तिष्कघात (स्ट्रोक), मस्तिष्क रक्तस्राब (बे्रन हेमोरेज), ब्रेन ट्युमर आदि । तर त्यसको अर्थ मस्तिष्कमा कुनै समस्या भयो भन्दैमा त्यो बिरामीको मृत्यु मस्तिष्कमरण भएरै हुन्छ भन्ने होइन । त्यस्ता रोग भएका बिरामी पनि अन्य बिरामीजस्तै प्राकृतिक रूपमै श्वासप्रश्वासको कमजोरीले र अन्त्यमा मुटुको चाल बन्द भई मस्तिष्क मृत्यु नभई उनीहरूको मृत्यु हुन सक्छ ।

यसबाहेक कहिलेकाहीं मस्तिष्कको प्रत्यक्ष समस्या नभए पनि शरीरका अन्य अंगको कारणले मस्तिष्कमा असर पर्न गई मस्तिष्कमरण हुने सम्भावना पनि हुन्छ । जस्तै फोक्सोको समस्याले मस्तिष्कमा आवश्यक मात्रामा अक्सिजन नपुग्नु, मुटुको खराबीले मस्तिष्कमा रक्तसञ्चार नपुग्नु, मिर्गौलाको खराबीले मस्तिष्क सुनिनु आदि । यीबाहेकका अन्य कारणले सामान्यतया मस्तिष्कमरण हुँदैन ।

मस्तिष्कमरणका लक्षण

मानव मस्तिष्कलाई गाडीको इन्जिनसँग तुलना गर्न सकिन्छ । गाडीको इन्जिनले काम गर्न छोडेमा गाडी चल्दैन । त्यस्तै मानव मस्तिष्कले शरीरका सम्पूर्ण अंगको नियन्त्रण गर्ने गर्छ । मस्तिष्कले काम गर्न छोडेपछि अरू अंगले पनि क्रमशः काम गर्न छोड्छ । मस्तिष्कमरणको प्रमुख लक्षण निम्न प्रकारका छन्-

बिरामी भेन्टिलेटरमा हुनु अर्थात् स्वस्फूर्त श्वास नहुनु

मस्तिष्कमरण घोषणा गर्नको लागि बिरामी भेन्टिलेटरमा हुनु जरुरी हुन्छ अर्थात् भेन्टिलेटरमा नभएका बिरामीलाई मस्तिष्कमरण घोषित गर्न सकिँदैन । भेन्टिलेटरलाई कृत्रिम फोक्सो अर्थात् श्वासप्रश्वास यन्त्र भनिन्छ । मस्तिष्कमरणको अवस्थामा पुगेको बिरामीको स्वस्फूर्त हुँदैन । त्यसो भएकाले त्यस्ता बिरामीलाई भेन्टिलेटरमा राख्नु जरुरी हुन्छ ।

तर जो बिरामीलाई समयमा नै भेन्टिलेटरमा राख्न सकिन्न, त्यस्ता बिरामीको मस्तिष्कमरण हुनेबित्तिकै मुटुको धड्कन पनि बन्द भई तुरुन्तै मृत्यु हुन्छ । मस्तिष्कमरण घोषणा गर्न बिरामीलाई भेन्टिलेटरमा राख्ने होइन कि मस्तिष्कको खराबी भएको बिरामीलाई श्वासप्रश्वास प्रक्रियामा गाह्रो भई भेन्टिलेटरमा राख्नुपर्ने आवश्यकता हुन्छ । अवस्था झन् नाजुक हुँदै गएको अवस्थामा आफैं सास बन्द भई बिरामी मस्तिष्कमरणको अवस्थासम्म पुग्न सक्छ ।
आँखाको नानी

मस्तिष्कमरणको अवस्थामा पुगेको बिरामीको दुवै आँखाका नानी (आँखाको कालो भागको बीचमा भएको अर्को कालो भाग) ठूलो भएर आउँछ र बत्ती देखाउँदा पनि यसको आकार सानो-ठूलो हुँदैन । यसलाई मेडिकल भाषामा ब्रेन स्टेम रिफ्लेक्स नभएको भनिन्छ ।

मुटुको अवस्था

मस्तिष्कमरणको अवस्थामा पुगेका बिरामीको मुटुको अवस्था सामान्य हुन्छ, जसले गर्दा रक्तचाप, नाडीको धड्कन (पल्स), शरीरमा अक्सिजनको मात्रा सामान्य हुन्छ ।

बेहोसी र प्यारालाइसिस

मस्तिष्क मरणको अवस्थामा पुगेका बिरामी पूर्ण बेहोसी अवस्थामा हुन्छ र उसको कुनै पनि अंग नचल्ने अर्थात् प्यारालाइसिसको अवस्थामा पुग्छ । तर कहिलेकाहीं हातखुट्टाका औंला च्यापेर पीडा दिने हो भने सामान्य रूपमा औंला चल्न सक्छन् । तर त्यसको मतलब मस्तिष्कमरण भएको छैन भन्ने होइन । त्यस्तो सामान्य चाल स्पाइनल रेफ्लेक्स गर्दा आउँछ, जुन मस्तिष्कको नियन्त्रणभन्दा बाहिर हुन्छ ।

मस्तिष्कका अन्य लक्षण नहुनु जुन एक योग्य चिकित्सकले परीक्षण गरेर पत्ता लगाउन सक्छ । छोटकरीमा भन्ने हो भने जुन बिरामीको आफ्नो स्वस्फूर्त श्वासप्रश्वास छैन, माथि उल्लेख गरिएका मस्तिष्कले काम गरेको लक्षण छैन, तर पनि मुटु चलिराखेको छ भने त्यस्ता बिरामीलाई मस्तिष्कमरण भइसक्यो भनी घोषणा गर्न सकिन्छ ।

मस्तिष्कमरणको व्यवहारिक महत्त्व

मस्तिष्कमरणको अवस्थामा पुगेको बिरामीको शरीर मरिसकेको हुन्छ, जुन फेरि जीवित भएर आउँदैन । तर त्यस शरीरका अंग भने जीवितै हुन्छन् । त्यसैले त्यस्तो अवस्थामा शरीरका विभिन्न अंगहरू झिकेर सुरक्षित राख्ने हो भने ती अंग अन्य व्यक्तिको शरीरमा प्रत्यारोपण गरी त्यस व्यक्ति (प्रत्यारोपण गरिएको व्यक्ति) लाई बचाउन सकिन्छ । तसर्थ अंग प्रत्यारोपणको कानुनी प्रावधान भएको मुलुकमा मस्तिष्कमरणको ठूलो महत्त्व हुन्छ ।

नेपालको परिप्रेक्ष्यमा अंग प्रत्यारोपणको कानुनी प्रावधान भर्खरै सुरु भए पनि अंगदानको कानुन अझै स्पष्ट छैन । नेपालमा मस्तिष्कमरण भएको व्यक्तिबाट आँखाको नानी झिकेर अन्य व्यक्तिलाई अंग दान गर्ने प्रक्रिया धेरै अगाडि सुरु भए पनि अन्य अंगको अंगदान गर्ने चलन त्यति भएको पाइएको छैन नेपालमा । तर सरकारले मस्तिष्कमरण र अंग प्रत्यारोपण कानुन भर्खर ल्याएकाले पनि यसको उपयोगिता बढ्दै जानेछ ।

मस्तिष्कमरण भएका बिरामीको सम्बन्धमा नेपाली समाजमा भ्रम भएको पाइएको छ । कतिपय बिरामीका आफन्त मस्तिष्कमरणको कुरा बुझेपछि थप उपचारको महत्त्व छैन भन्ने सहजै बुझ्छन् भने कतिपय बिरामीका परिवार मस्तिष्कमरणको कुरा नबुझी थप उपचार गर्न चिकित्सकलाई दबाब दिने मात्रै नभई चिकित्सकलाई गलत आरोप लगाई अनावश्यक रूपमा कठिन अवस्था सिर्जना गराई मुठभेडको अवस्थामा पुर्‌याउँछन् ।

मस्तिष्कमरण भइसकेपछि के गर्ने भन्नेबारेमा विभिन्न देशमा आआफ्नै कानुनी प्रावधान छन् । उदाहरणको लागि जापानमा मस्तिष्कमरण भएपछि पनि मुटुको धड्कन बन्द नभएसम्म बिरामीलाई भेन्टिलेटरमा राख्ने कानुनी प्रावधान छ भने अन्य देशमा केही दिनपछि मृत घोषणा गर्ने कानुन छ । नेपालमा मस्तिष्कमरणसम्बन्धी हालसम्म कुनै ठोस कानुन बनेको देखिँदैन, जसले गर्दा अस्पताल तथा चिकित्सकले आआफ्नै तरिकाले बिरामीको मृत घोषणा गर्ने चलन छ ।

सामान्यरूपमा मस्तिष्कमरण भइसकेपछि यदि बिरामीलाई भेन्टिलेटरमा राखिरहने हो भने केही घन्टादेखि केही दिनसम्म मुटुको धड्कन चलिरहन्छ र पछि मुटुको चाल क्रमशः कम हुँदै गई बन्द हुन्छ । तर मस्तिष्कमरण भइसकेपछि भेन्टिलेटर बन्द गर्ने हो भने तुरुन्तै मुटुको चाल पनि बन्द हुन्छ । तसर्थ मस्तिष्कमरण भएपछि अनावश्यक उपचार नलम्ब्याई भेन्टिलेटर बन्द गरेको राम्रो हुन्छ ।

नेपालको परिप्रेक्ष्यमा मस्तिष्कमरण भएको बिरामीको सम्बन्धमा कहिलेकाहीं व्यावहारिक समस्या आएको देखिन्छ । परिवारबाट मस्तिष्कमरण भएको अवस्थामा मरिसकेको बिरामीलाई पनि जबर्जस्ती भेन्टिलेटरमा राखियो भनी गलत आरोप लगाउने गरिन्छ, अर्कोतर्फ त्यसविपरीत मस्तिष्कमरण भएको अवस्थामा बिरामीको नाडी चल्दाचल्दै बिरामीलाई मृत घोषणा गरियो भनी चिकित्सक तथा अस्पताललाई आरोप लगाउने गरिन्छ । 

यस्तो अवस्थामा मस्तिष्कमरण घोषणा गर्ने चिकित्सक निपुण तथा अनुभवी हुनु जरुरी हुन्छ । मस्तिष्कमरण हुनुअघि नै मृत घोषणा गरियो भने 'घाट लगेपछि बिरामी जीवित भएर आयो' भन्ने जस्ता घट्ना हुन सक्छन् ।

नेपालमा सामान्य रूपमा मस्तिष्कमरणको लक्षण देखिएपछि पटकपटक पुनः परीक्षण गरी १२ देखि २४ घन्टापछि पूर्ण मृत घोषणा गरिन्छ । यस्तो अवस्थामा बिरामीका आफन्तले स्पष्ट रूपमा मस्तिष्कमरण भइसकेको छ कि छैन चिकित्सकसँग स्पष्ट सल्लाह गरी यदि मस्तिष्कमरण भइसकेको पक्का भएमा थप उपचार नगर्दा उत्तम हुन्छ ।

चिकित्सकले पनि मस्तिष्कमरण भएको आधार बिरामीका आफन्तलाई स्पष्ट बताएर परिवारको स्वीकृति लिएर भेन्टिलेटर बन्द गरेमा राम्रो हुन्छ । बिरामीका आफन्तले अनावश्यक उपचार लम्ब्याउने दबाब दिएमा अथवा चिकित्सकले बिरामीको आफन्तको स्वीकृतिविना उपचार बन्द गरेमा अनावश्यक मुठभेडको अवस्थाको सिर्जना हुनसक्छ । तसर्थ समझदारी तथा सहमतिको वातावरणको सिर्जना गर्नु दुवै पक्षको उत्तरदायित्व हुन आउँछ ।

-श्रेष्ठ बीएन्डबी अस्पतालका कन्सल्टेन्ट न्युरो सर्जन हुन् ।

अन्नपुर्ण पोस्टबाट

,

प्रतिकृया दिनुहोस्

Loading...