अरुण आयोजनाबाट प्रभावितले पाए मुआब्जा, एक अर्ब बढी वितरण


  • सङ्खुवासभा, ५ पुस ।

भारतीय लगानीकर्ता सतजल  निगमले अरुण तेस्रो जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका जनतालाई अहिलेसम्म रु एक अर्ब १० करोड ८८ लाख मुआब्जा वितरण गरेको छ ।

जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका अनुसार हालसम्म करिब ९४ प्रतिशत निजी जग्गाधनीलाई मुआब्जा रकम वितरण गरिसकिएको छ ।

यसै महिनाभित्र बाँकी रहेका सबै जग्गाधनीलाई मुआब्जा रकम वितरण गरिनेछ । कुल नौ सय मेगावाट क्षमताको सो आयोजनामा निजी, सरकारी जग्गा उपलब्ध गराउनुपर्नेमा निजी जग्गा प्राप्तिको विषय भने सहज रुपमा अगाडि बढेको हो ।

आयोजनाबाट नुम, पाथीभरा, दिदिङ, याफु गाविस प्रमुख रुपमा प्रभावित हुनेछ । आयोजनाका लागि निजी ४९ हेक्टर र सरकारी १२४ हेक्टर जग्गा आवश्यक पर्दछ । आयोजनाको प्रवद्र्धक सतलज विद्युत् निगमले स्थानीय प्रशासन र स्थानीयवासीको सहभागितामा मुआब्जा वितरणको काम अन्तिम चरणमा पु¥याएको हो ।

प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यका अनुसार अन्य आयोजनामा सरकार र प्रवद्र्धकले एकलौटी रुपमा निर्णय गर्ने गरेका कारण जग्गा प्राप्तिको विषय समस्या बनेको भएपनि अरुण तेस्रोमा भने सहज रुपमा नै प्रक्रिया अगाडि बढेको छ । प्रभावित स्थानीय बासिन्दाले रु २७ हजारदेखि रु तीन करोड ७१ लाखसम्म मुआब्जा बुझेका छन् । आयोजनाले छ वर्गमिटरदेखि २० रोपनीसम्मका निजी जग्गा अधिग्रहण गरेको छ ।

प्रमुख जिल्ला अधिकारी आचार्यले जग्गा प्राप्ति ऐन, २०३४ का आधारमा पछिल्लो समयमा कारोबार भएको मूल्यलाई नै आधार मानेर जग्गाको वर्गीकरण गरिएको र त्यसमा प्रवद्र्धक कम्पनीले थप ६५ प्रतिशतसम्म उपलब्ध गराएका कारण जग्गा प्राप्तिको विषय सहज भएको बताए ।

आयोजनाले खेत, बारी, पाखोबारी, अलैँची खेती भएको जग्गा छुट्याएर मुआब्जा वितरण गर्दा न्यूनतम प्रतिरोपनी रु आठ लाख २५ हजारसम्म परेको थियो । त्यसमा तीन वर्षसम्मको बालीबाट प्राप्त हुने आम्दानीबापतको रकमसमेत उपलब्ध गराइएको हो ।

आयोजनाबाट कुल २६९ घरधुरी विशेष रुपमा प्रभावित हुनेछन् । त्यसमा भौतिक रुपमा नै विस्थापनमा पर्ने घरधुरीको सङ्ख्या २३ रहेको छ । आर्थिक विस्थापनमा १८० घरपरिवार पर्नेछन् भने १६ वटा व्यावसायिक संरचना र चार सामुदायिक संरचना प्रभावित हुने भएका छन् ।

सतलज विद्युत् निगमका स्थानीय परामर्शदाता मधुकर खड्काले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहने मुआब्जा निर्धारण समितिले सहज रुपमै आयोजनालाई जग्गा उपलब्ध गराइएको बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...