सांसद ओलीको विकास कार्यक्रम सार्वजनिक

- पोखरा, ७ पुस ।
नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा कास्की जिल्ला क्षेत्र नं ४ का सांसद सीता गिरी ओलीले आव २०७३÷७४ मा सो क्षेत्रको निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि रु तीन करोड ५० लाखका पूर्वाधार विकास कार्यक्रम सार्वजनिक गरेका छन् ।
नेकपा (एमाले) क्षेत्र नं ४ क्षेत्रीय कमिटीद्वारा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा सांसद ओलीले निर्वाचन क्षेत्र विशेष कार्यक्रमका २५ योजनामा रु तीन करोड र निर्वाचन क्षेत्र विकास कार्यक्रमका २२ योजनामा रु ५० लाख विनियोजन गरेको जानकारी गराए ।
निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा सबैभन्दा बढी रु ४० लाख र सबैभन्दा कम रु १० लाख तथा निर्वाचन क्षेत्र विकास कार्यक्रममा सबैभन्दा बढी रु १० लाख र सबैभन्दा कम एक लाखसम्मका योजना रहेको बताइएको छ ।
जसअन्तर्गत वीरेठाँटी दाङसिङ मोहोरिया सिउइ हुँदै घान्दु्रक गाविस कार्यालय जोड्ने ग्रामीण सडकका लागि रु ४० लाख, गौरीशङ्कर क्याम्पस भवन निर्माण र फर्निचर खरिद गर्न रु २५ लाख, जरेवर हुँदै भदौरे पञ्चासे पर्यटकीय मार्गका लागि रु ११ लाख र बाँकी सबै योजनाका लागि रु १० लाख छुट्टाइएको छ ।
त्यस्तै निर्वाचन क्षेत्र विकास कार्यक्रममा दिगो महिला विकास बचत तथा ऋण सहकारी ढिकुरपोखरीको भवन बनाउन रु १० लाख, पोखरा–२ को अनन्त सामुदायिक भवन निर्माणमा रु पाँच लाख, फेदी हेम्जाकोट धिताल गौरीगाउँ ग्रामीण सडकका लागि रु तीन लाखलगायतका योजना छन् ।
पत्रकार भेटघाट कार्यक्रममा सांसद ओलीले अघिल्लो वर्षमा सञ्चालन भएका विकास योजनामा ९७ प्रतिशत बजेट खर्च भएको बताउँदै यस वर्ष प्रस्तुत गरिएका कार्यक्रम चैत मसान्तसम्म सम्पन्न गर्न सबै उपभोक्ता समितिसँग आग्रह गरे ।
प्रतिकृया दिनुहोस्
Loading...