महसुल नतिर्ने सरकारी कार्यालयको विद्युत काटियो

- चितवन, ६ पुस ।
नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रले समयमा विद्युत् महसुल नतिर्ने सरकारी र निजी क्षेत्रका विद्युत लाइन काट्ने अभियानलाई तीव्रता दिएको छ ।
दुई महिना भन्दा लामो समयदेखि विद्युत महसुल नतिर्ने जिल्ला अदालत, जिल्ला शिक्षा कार्यालय, नापी कार्यालय र जिल्ला जनस्वास्थ्य कार्यालयसहित निजी ग्राहकको विद्युत लाइन काटिएपछि रकम भुक्तान गरी ती कार्यालयले फेरि विद्युत लाइन जोडेको वितरण केन्द्रका इन्जिनियर राजेन्द्र पौडेलले बताए।
हप्ताको तीन दिन आइतबार, मङ्गलबार र बिहीबार केन्द्रका कर्मचारीले चुहावट नियन्त्रणका लागि ग्राहककहाँ पुग्ने गरेका छन् । मङ्गलबार दिउँसो लाइन काटिएपछि बक्यौता भुक्तान गरी मङ्गलबार दिउँसो र बुधबार ती कार्यालयको लाइन फेरि जोडिएको पौडेलले बताए । मङ्गलबार पाँच सरकारी कार्यालय र सातवटा होटलको लाइन काटिएको थियो । केन्द्रको निर्देशनअनुसार बक्यौता असुली गर्न लागिएको पौडेलले बताए ।
लाइन काटिएका ग्राहकले बक्यौताको २५ प्रतिशत जरिवाना तिर्नुपर्दछ । भरतपुर विद्युत वितरण केन्द्रबाट २५ करोड विद्युत महसुल उठ्न बाँकी छ । जसमा सडक विद्युतको १६ करोड र अन्य ग्राहकको रु नौ करोड उठ्न बाँकी छ । अहिलेसम्म नौ लाख २४ हजार रुपैयाँ चुहावट नियन्त्रणबाट राजस्व सङ्कलन गरेको केन्द्रले जनाएको छ ।
केन्द्रअन्तर्गत विद्युत चुहावट १४ प्रतिशतमा झरेको छ । २०६६ सालमा यहाँ ३९ प्रतिशत विद्युत चुहावट थियो । झण्डै ६७ हजार पाँच सय ग्राहकबाट वार्षिक एक अर्ब रुपैयाँ महसुल सङ्कलन हुने गरेको छ ।
प्रतिकृया दिनुहोस्
Loading...