दुर्गम पाउद्वार सडक सञ्जालमा जाेडिएपछि स्थानिय मख्ख

- म्याग्दी, ७ पुस ।
म्याग्दीको शिख गाविसको पाउद्वार गाउँ सडक सञ्जालसँग जोडिएको छ । घारखोलादेखि सात किलोमिटर सडकको ट्र्याक निर्माण गरेर शिखको ६, ७, ८ र ९ नम्बर वडामा पर्ने पाउद्वार गाउँलाई सडक सञ्जालसँग जोडिएको हो ।
जिविस, गाविस र स्थानीयवासीको रु ८० लाखको लागतमा सडक निर्माण भएको घारखोला–पाउद्वार–किन्दु सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्ण तिलिजाले जानकारी दिए ।
विसं २०६८ देखि निर्माण सुरु भएको उक्त सडकमा यसै हप्तादेखि ट्र्याक्टर र जिप सञ्चालन हुन थालेको छ । स्थानीयवासीलाई आवतजावत, कृषि उपज निकासी, निर्माण र खाद्यान्न ढुवानी गर्न सहज भएको छ । खच्चर र भरियामार्फत घारखोलाबाट पाउद्वारसम्म सामान ढुवानी गर्दा प्रतिकेजी रु सात तिर्नुपर्दथ्यो ।
सडक सुविधा भएपछि रु तीनमा ढुवानी हुन थालेको र दुई घन्टाको उकालो बाटोको यात्रा ३० मिनेटमा छोटिएको पाउद्वार माविका शिक्षक गम पुन रोकाले बताए ।
सडक निर्माणका लागि पाउद्वारका दुईसय ५० घरधुरीले रु आठलाख चन्दा सङ्कलन गरेका थिए । बेलायत र हङकङमा रहेका पाउद्वारवासीले रु २४ लाख सहयोग गरेका थिए भने पोखरा पाउद्वार समाजले पनि सहयोग गरेको अध्यक्ष तिलिजाले बताए ।
यस वर्ष जिविसले निर्वाचन क्षेत्र विकास पूर्वाधार शीर्षकको १५ लाख र शिख गाविसले पाँच लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको सो सडकलाई विस्तार गरेर किन्दु जोड्ने लक्ष्य राखिएको छ ।
प्रतिकृया दिनुहोस्
Loading...