तिवारीको हत्याबारे अनुसन्धान गर्न छानविन समिति गठन

काठमाडौं, ५ पुस ।

सरकारले एमालेको भातृ संगठन युवा संघका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्याबारे अनुसन्धान गर्न छानविन समिति गठन गरेको छ ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार नेपाल प्रहरीका एआइजी बिज्ञानराज शर्माको नेतृत्वमा चार सदस्यीय छानविन समिति गठन भएको छ ।

उनीहरुले घटनाको अनुसन्धान गरी १५ दिनभित्र प्रतिवेदन बुझाउनुपर्नेछ । गृहका प्रवक्ता बालकृष्ण पन्थीका अनुसार अपराधिलाई पक्राउ गर्ने उद्देश्यले सबै सुरक्षा निकायहरुलाई बिभिन्न नाका लगायत सीमावर्ती क्षेत्रमा परिचालन गरिएको छ र ‘कोर्डन एण्ड सर्च’ को काम भइरहेको छ ।

गृहले घटनामा ज्यान गुमाएका तिवारीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै परिवारजनमा समवेदना व्यक्त गरेको छ ।

रुपन्देहीमा हिजो अपरान्ह युवा संघ रुपन्देहीका अध्यक्ष तिवारीको गोली प्रहार गरी हत्या भएको थियो । मोटरसाइकलमा आएका दुई जनाले उनको हत्या गरी फरार भएका थिए ।

यसैबीच गृहमन्त्री विमलेन्द्र निधिले रुपन्देही युवा संघका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

मंगलबार युवा संघको ज्ञापनपत्र बुझ्दै मन्त्री निधिले घटनाको अनुसन्धान प्रक्रिया अघि बढिसकेको भन्दै छिट्टै पक्राउ पर्ने र कानुन बमोजिम कारबाही गर्ने बताएका हुन् ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...